अक्सिजन आपूर्तिमा सुनसरीको भर

दुई दर्जन जिल्लामा अक्सिजन आपूर्ति गर्दै सुनसरी

जेष्ठ २, २०७८

सुनसरी — कोरोनाको दोस्रो लहरमा अक्सिजन अभाव भएपछि सुनसरीबाट मुलुकका दुई दर्जन जिल्लामा अक्सिजन गइरहेको छ । पूर्वको झापादेखि पश्चिम दाङसम्मका अस्पतालले सुनसरीका तीन अक्सिजन प्लान्टको भरोसा गरेका छन् ।

अस्पताल र उद्योगलाई आपूर्ति गर्ने उद्देश्यले सुनसरीको इटहरी १३ खनारमा पाथीभरा, दुहबीको सोनापुरमा विनायक, इटहरी १० खनारमा दुर्गा अक्सिजन प्लान्ट छन् ।

दुई साता अघिसम्म आवश्यक परेको बेलामात्र सञ्चालनमा आउने प्लान्टहरु पछिल्लो समय चौविसै घण्टा चलिरहेका छन् । विभिन्न जिल्लाबाट ट्रक र हेलिकोप्टरमार्फत ल्याइएका खाली सिलिण्डरमा अक्सिजन ‘रिफिल’गर्न भ्याइनभ्याइ भएको पाथिभरा अक्सिजन प्लान्टका प्रबन्धक दीपेश श्रेष्ठले बताए । उनले भने, ‘माग धान्न धौधौ परेको छ । शनिबार मात्रै सोलुखुम्बुमा ३०, हेटौडा एक सय र काठमाडौंमा डेढसय सिलिण्डर पठाएको छ ।’

जिल्लाको सबैभन्दा ठूलो विनायक अक्सिजन प्लान्टका प्रबन्धक आनन्द सिंहले आफ्ना दु्ई वटा प्लान्टबाट २४ सै घण्टा रिफिल गरे पनि माग बढेको बढ्यै भएको बताए । उनले भने, ‘दैनिक ९ सिलिण्डर रिफिल गर्ने गरी माग छ । तर एक सेकेण्ड पनि बन्द नगर्दा साढे सात सय सिलिण्डरमात्र दैनिक रिफिल भइरहेको छ ।’

सिलिण्डर र प्लान्टबीच व्यवस्थापन नगरिएका बेला एक साताअघिसम्म सुनसरीमै पनि अक्सिजनको अभाव भएको थियो । मुलुकका आधा क्षेत्रका अस्पताल र उद्योगमा सहज आपूर्ति गर्न सक्ने गरी उत्पादन क्षमता भएका जिल्लामा तीन प्लान्ट हुँदाहुँदै पनि मोरङ र सुनसरीमा अक्सिजन अभावले कतिपय कोरोना संक्रमितको ज्यान गएको थियो ।

जिल्लामा रहेका प्लान्ट र सिलिण्डर व्यवस्थित गरेपछि भने आवश्यकता अनुसार खाली सिलिण्डर ल्याउने र भरिएको सिलिण्डर लैजान सहज भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई काठमाडौ, हेटौंडा, बुटवललगायत विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखहरुबाट अक्सिजन रिफिल गरेर पठाइदिन फोनमार्फत अनुरोध गरेका गरेकै छन् । उनले भने, ‘अहिले आधा काम त मुलुकका विभिन्न जिल्लाबाट र सिसिएमसी, गृह मन्त्रालयबाट मागभएअनुसार अक्सिजन रिफिलको व्यवस्थापनमै बितिरहेको छ ।’

उनका अनुसार सुनसरीबाट हालसम्ममा सबैभन्दा बढी करिब आपूर्तिका ५० प्रतिशत झापामा खपत भइरहेको छ । बाँकी रुपन्देही, दाङ, भैरहवा, बुटवल, काठमाडाैं, सर्लाही, सप्तरी, सिरहा, हेटौंडा, महोत्तरी, धनुषा, जनकपुर, उदयपुर, संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, सोलुखुम्बुलगायत अन्य जिल्लामा पठाउने काम भइरहेको छ । काठमाडौंमा एयर लिफ्ट गरेर पठाउने काम भइरहेको छ उनले बताए । उनले भने, ‘पूर्ण क्षमतामा उत्पादनको ९० प्रतिशत अक्सिजन अहिले सुनसरी बाहिरका विभिन्न जिल्लाका अस्पतालमा आपूर्ति भइरहेको छ ।’ तीन वटै प्लान्टले दैनिक ६ हजार ७ सय वटा ठूला सिलिण्डर रिफिल गरिरहेका छन् ।

एक सातायता एक मिनेट पनि रिफिल रोकिएको छैन । विनायकले ३ हजार ५ सय, दुर्गाले २ हजार ५ सय र पाथिभराले ७ सय सिलिण्डर रिफिल गर्दै आएको छ । जिल्ला प्रशासनले तीन प्लान्टका करिब १०८० थान सिलिण्डर विभिन्न २० डिपो र व्यक्तिले जोहो गरेर राखेका थिए । ती सबै संकलन गरेर प्लान्टलाई दिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र जनपदको निगरानीमा खाली सिलिण्डर रिफिल गरेर मागभएका जिल्लामा पठाउने काम भइरहेको पोखरेलले बताए ।

कोरोना भाइरस

Link copied successfully