जनशक्ति नहुँदा भेन्टिलेटर र आईसीयू प्रयोगविहीन

अस्पताल विशेषज्ञ चिकित्सकविहीन,अक्सिजन प्लान्ट बन्नै सकेन

जेष्ठ १, २०७८

डिल्लीराम खतिवडा

उदयपुर — तीव्र गतिमा फैलिइरहेको कोरोनाको दोस्रो लहरमा संक्रमितलाई भेन्टिलेटरसहित आईसीयू आवश्यक भइरहेको छ । कतिपय बिरामी भेन्टिलेटर नपाएरै छटपटाइरहेका छन् । भेन्टिलेटर नपाएरै मृत्युसमेत भएको छ ।

जिल्ला अस्पताल उदयपुरमा भने तयारी अवस्थामा रहेको दुईवटा भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा एक करोड रुपैयाँभन्दा बढी लागतमा झन्डै नौ महिनाअघि निर्माण भएको भेन्टिलेटरसहितको आईसीयू कक्ष दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको हो । श्वासप्रश्वासमा समस्या भएर जटिल अवस्थामा पुगेका बिरामीका लागि प्राविधिक जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ ।

२०७७ वैशाखमा कोरोना विशेष अस्पताल सञ्चालनका लागि आएको एक करोड रुपैयाँबाट अस्पतालले गत भदौमा दुईवटा भेन्टिलेटरसहित ५ बेडको आईसीयू कक्ष निर्माण गरेको थियो ।

अस्पतालमा भेन्टिलेटर तयारी अवस्थामा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट जीवनारायण मण्डलले बताए । ‘तर भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति छैन,’ मेसु मण्डलले भने, ‘भेन्टिलेटर सञ्चालन गर्न एमडी एनेस्थेसियोलोजिस्ट चाहिन्छ, अहिलेसम्म उपलब्ध हुन सकेको छैन ।’

सरकारले स्वीकृत दरबन्दीअनुसार चिकित्सकको पदपूर्ति गर्न नसक्दा अस्पतालमा भेन्टिलेटरसहितको उपचार सेवा प्रभावित भएको हो । दरबन्दीअनुसार चिकित्सकको व्यवस्था गर्न माथिल्लो निकायलाई पटक–पटक जानकारी गराउँदासमेत सुनुवाइ नभएको मेसु मण्डलले बताए । अहिले दैनिक दुई सयभन्दा बढीको संख्यामा बिरामी अस्पताल आउने गरेका छन् । अस्पतालमा कोरोना परीक्षण गर्ने एन्टिजेन किट र पीसीआर परीक्षण गर्ने ल्याबसमेत छैन ।

दैनिक रुघाखोकी र ज्वरोका बिरामी बढिरहँदा कोरोना भए, नभएको छुट्याउन पनि समस्या हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालले दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादनका लागि करिब ७६ लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्ट स्थापना गर्न टेन्डर आह्वान गरेको छ । असार मसान्तसम्म अक्सिजन उत्पादन सुरु गर्ने लक्ष्यसाथ टेन्डर आह्वान गरिए पनि अहिलेसम्म प्लान्टको कामै भएको छैन ।

करिब ५ बिघा क्षेत्रफलमा फैलिएको अस्पताल १५ शय्याबाट विस्तार गरी ५० शय्याको बनाइएको छ । तर दरबन्दीअनुसारका चिकित्सक नहुँदा अस्पताल नै नाजुक अवस्थामा छ । अस्पतालमा ११ औं तह (सहसचिब) प्रमुख कन्सल्टेन्ट, विशेषज्ञ ९, मेडिकल अधिकृत ४ र अन्य प्राविधिक र कर्मचारी गरी ५९ जनाको दरबन्दी रहेको सूचना अधिकारी बिर्खबहादुर खत्रीले बताए ।

अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक नहुँदा करार सेवाका चिकित्सकको भरमा चलिरहेको खत्रीले बताए । आईसीयू सञ्चालनका लागि एक एनेस्थेसियोलोजिस्ट डाक्टर, ४ मेडिकल अफिसर र ८ जना तालिम प्राप्त स्टाफ नर्स आवश्यक हुन्छन् । 

कोरोना भाइरस

डिल्लीराम

Link copied successfully