संक्रमितको शव व्यवस्थापनमा समस्या

जेष्ठ १, २०७८

गणेश चौधरी

टीकापुर — कैलालीको भजनी नगरपालिका–१ की एक महिलाको भजनीस्थित कोरोना अस्थायी अस्पतालमा गत शनिबार मृत्यु भयो । नगरपालिकाको टिपरले उनको शव कान्द्रा नदी किनारको घाटमा छाडिदियो । त्यहाँ शव व्यवस्थापन गर्ने कोही भएन । शव व्यवस्थापनका लागि खाल्डो खन्न नगरपालिकाको जेसीबीको मागे । तर, जेसीबीको टायर पन्चर भएको भन्दै नगरले उपलब्ध गराएन । आफन्त र छिमेकी कोही पनि नआएपछि मृतकका श्रीमान् आफैले खाल्डो खनेर शव गाडे ।

स्थानीय गंगाराम चौधरीका अनुसार शव व्यवस्थापन गर्दा उनका श्रीमान्संँग कोरोना संक्रमणबाट जोगिन पीपीई पनि थिएन । मास्क र पञ्जाको भरमा उनले श्रीमतीको अन्तिम संस्कार गरे । तर, भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरी भने कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्दै आएको दाबी गर्छन् । उनले भने, ‘कोरोना संक्रमणले मृत्यु भएकी महिलाको शव व्यवस्थापनका लागि टिपरले शव लिएर गयो । जेसीबी जाँदा बाटोमा पन्चर भएपछि बनाएर गएको हो ।’

टीकापुरसँगै जोडिएको जानकी गाउँपालिकाकी एक संक्रमित महिलाको पनि शव बोक्न कोही तयार भएनन् । उनीहरूले गाउँपालिकामा गुहार मागे पनि कुनै वास्ता नगरेको परिवारको आरोप छ ।

टीकापुर अस्पतालमा शववाहन भए पनि कोरोना संक्रमितको शव बोक्न प्रयोग नगर्ने निर्णय भएको अस्पतालले दिन मानेन । मृतकका आफन्तले टीकापुर नगरपालिकालाई गुहारे । धेरै हारगुहार गरेपछि नगरपालिकाले बल्ल टिपर उपलब्ध गरायो । यति हारगुहार गर्दासम्म करिब १२ घण्टा बितिसकेको थियो । लम्कीचुहा नगरपालिकाका एक युवकको निधनपछि आफन्तले अन्तिम संस्कारका लागि शव लैजान कुनै साधन नपाएपछि गाउँबाटै ट्याक्टर मगाउनुपरेको थियो । 

कोरोना सक्रमणबाट ज्यान गुमाएपछि शव व्यवस्थापनमा मृतकका आफन्तले यस्तो समस्या भोग्दै आएका यी उदाहरण हुन् । अघिल्लो लहरमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले मात्रै गर्ने भनिए पनि कोरोनाको दोस्रो लहर सुरु भएयता अधिकांश शव व्यवस्थापन मृतकका आफन्त आफैंले गरिरहेका छन् । कोरोनाको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ को २१ (छ) अनुसार कोभिड १९ कारण मृत्यु भएका व्यक्तिको शवको व्यवस्थापन वा अन्त्येष्टि गर्दा आफ्नो परम्परा र संस्कृति अनुसार सम्बन्धित परिवार वा समुदायले २५ जनाभन्दा बढी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी व्यवस्था मिलाउने उल्लेख गरिएको छ । 

कोरोना भाइरस

गणेश

Link copied successfully