विराटनगरमा शनिबार मध्यरातिदेखि निषेधाज्ञा

वैशाख १७, २०७८

देवनारायण साह

मोरङ — जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगर, जहदा, बुढीगंगा र कटहरीको वडा १ देखि ४ सम्ममा शनिबार मध्यरातिदेखि एक हप्तासम्म निषेधाज्ञा लगाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राति ८ बजेदेखि बिहान ५ बजेसम्म कोही पनि घर बाहिर निस्किन नपाउने बताए । ‘अत्यावश्यक सेवा बाहेकका सवारी साधन चलाउन पाइने छैन,’ उनले भने, ‘दैनिक उपभोग्य सामग्री र निर्माण सामग्रीको पसल बिहान ८ बजेदेखि १० बजेसम्म २ घण्टा खोल्न पाइने छ ।’ 

महानगरमा दैनिक संक्रमितको संख्या बढ्दै गएकोले जिल्ला संकट व्यवस्थापन समिति बैठकको निर्णयले निषेधाज्ञा लगाउन बाध्य भएको पोखरेलले बताए । 

महानगरमा दैनिक संक्रमित थपिँदै गए पनि सर्वसाधारणले बजारमा भीडभाड गर्न नरोकिएको, विवाह, ब्रतबन्ध जस्ता सार्वजनिक कार्यक्रम नरोकिएकाले समितिले निषेधाज्ञा लगाउने निर्णय गरेको हो । 

विराटनगरमा शुक्रबार १ सय २० संक्रमित थपिएसँगै सक्रीय संक्रमितको संख्या १ हजार ७६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरस

देवनारायण

Link copied successfully