बीपी प्रतिष्ठानमा थप १० बेड आईसीयू भेन्टिलेटर विस्तार

कार्तिक १५, २०७७

सुनसरी — बिरामीहरुको चाप बढेपछि धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानले कोभिड अस्पतालमा थप मेडिकल उपकरण जडान गर्ने काम सुरु गरेको छ ।

संक्रमितको संख्या बढेसँगै अस्पतालमा अक्सिजन, आइसोलेसन बेड, आईसीयू र भेन्टिलेटर अभाव भएको थियो । स्वास्थ्य उपकरण र आईसीयूको अभावमा बाँच्‍न सक्ने अवस्थाका कोरोना संक्रमितहरुको मृत्यु हुन थालेपछि उपचार सेवा विस्तार गरिएको हो ।

प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र कार्कीका अनुसार विस्तार भइरहेको कोभिड अस्पतालमा थप १० वटा भेन्टिलेटर र १० वटा नन इन्भेसिभ भेन्टिलेटर (एनआईभ), ८ वटा हाइ फ्लो न्याजल क्यानुला (एचएफएनसी) जडान भइरहेको छ । उनले भने, 'कोभिड अस्पतालमा २५ वटा हाइ डिपेन्डेन्सि युनिट (एचडीयू) साथै अक्सिजन पोर्टसहित ४० बेडको क्षमता विस्तार भइरहेको छ । कोभिड अस्पतालको हरेक बेडमा अक्सिजन पोर्ट जडान कार्य भइरहेको र दुई दिनभित्र जडान कार्य सम्पन्न हुन्छ ।'

थपिएका आईसीयू भेन्टिलेटरसहित प्रतिष्ठानको कोभिड अस्पतालमा २० वटा हुने छन् भने आइसोलेसन बेड १ सय ४० वटा हुनेछ ।

प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा हालसम्म ६३ हजार ८ सय ६८ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको र कोभिड अस्पताल सञ्चालन आएपछि प्रदेश १ र अन्यत्रको गरि १ हजार भन्दा बढी कोरोना संक्रमितलाई भर्ना गरेर उपचार गरिसकेको पनि प्रतिष्ठानले जनाएको छ । 

कोभिड अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीलाई चाहिने अक्सिजनका लागि सानो अक्सिजन प्लान्ट पनि जडान गरिने उपकुलपति कार्कीले बताए । अक्सिजन प्लान्टका लागि सरकारले आर्थिक सहयोग गरेको हो ।

यसअघि कोभिड अस्पतालमा जडान गरिएका १० आईसीयू भेन्टिलेटरहरु पटक पटक बिग्रने, आइसोलेसन बेडमा अक्सिजन सप्लाइ नभएको भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, सुनसरीका प्रदेश र संघीय सांसदहरु र सरोकारवालाहरुले तत्काल सुधार गर्न दबाब दिएका थिए ।

कोरोना भाइरस

Link copied successfully