मोरङ — प्रदेश १ प्रहरी कार्यालय विराटनगर प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका मोहम्मद हैदर अलीले प्रदेश प्रहरी कार्यालयका ५ जना प्रहरी अधिकारीको प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको स्वाब परीक्षणमा प्रहरी नायव महानिरीक्षक ५२ वर्षीय कार्कीको रिपोर्ट पोजिटिभ आएको बताए ।
अन्यको रिपोर्ट नेगेटिभ आएको उनले सुनाए । प्रदेश सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालयभित्र निर्माण गरिएको आइसोलेसन केन्द्रमा नै उनलाई राखिने स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।
प्रदेश १ मा हालसम्म ३ सय ५५ जना प्रहरीलाई कोरोना संक्रमण देखिएकोमा २ सय २० जना डिस्चार्ज भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा मंगलबार ८० जना संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश २ का १/१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ५७ पुगेको छ । जसमा १ हजार ९ सय १२ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ४३ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
