कोभिड उपचार केन्द्र विराटनगरबाट थप एक जना डिस्चार्ज

जेष्ठ ६, २०७७

माधव घिमिरे

विराटनगर — कोभिड उपचार केन्द्र विराटनगरबाट झापाका कोरोना संक्रमित एक वृद्धलाई मंगलबार डिस्चार्ज गरिएको छ । झापाको दमक नगरपालिका-३ का ६२ वर्षीय वृद्ध डिस्चार्ज भएका हुन् ।

संक्रमण पुष्टि भएपछि उनी तीन साताअघि विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा ल्याइएका थिए ।

चिकित्सकको हेरचाह र उपचारपछि गरिएको पछिल्लो परीक्षणका क्रममा उनमा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको हो । गत वैशाख १२ गते केन्द्रमा ल्याएका उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले बताए ।

उक्त केन्द्रमा भर्ना गरिएकामध्ये उनीसहित डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ । केन्द्रमा अब २२ जनालाई आइसोलेसनमा राखेर हेरचाह भइरहेको छ ।

प्रदेश १ मा मंगलबारसम्म संक्रमित हुनेको संख्या ५४ पुगेको छ । प्रदेशका १४ मध्ये आधा जिल्लामा संक्रतित भेटिएका छन् ।

उदयपुरका ३३, झापाका १२, मोरङ ३, सुनसरीका ३, भोजपुर १, धनकुटा १, खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नेपालमा संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३७ जना निको भएका छन् । संक्रमण पुष्टि भएकामध्ये बाँके र सिन्धुपाल्चोकमा एक/एक जना गरी दुई जनाको मृत्यु भएको छ ।

माधव

Link copied successfully