उपत्यकाबाहिरका जात्रा

बागलुङको हनुमान जात्रा, बझाङको विरीजात मेला, जुम्लास्थित चन्दननाथ मन्दिरको ५२ हाते लिंगो ठड्याउने जात्रा र पाल्पाको  भगवती जात्राका अनेक किंवदन्ती छन्, यी जात्रा–मेलाले समाज र संस्कृतिलाई जीवन्त राखेका छन् ।

श्रावण १७, २०८२

प्रकाश बराल, माधव अर्याल, वसन्तप्रताप सिंह, डीबी बुढा

Pilgrimage outside the valley

What you should know

बझाङ/बागलुङ/जुम्ला/पाल्पा — बझाङका १८ वर्षीय सविन बोहराले साउन ८ देखि एक छाक मात्रै खान थालेका छन् । औंसीको अघिल्लो दिन नै कपाल खौरिएका उनले त्यस यता माछामासु खानु त परै जाओस्, खुट्टामा जुत्ताचप्पल पनि लगाएका छैनन् । घर छोडेर गाउँमै रहेको देवघरमा सुत्दै आएका उनी दैनिक तीन/चार किलोमिटर खाली खुट्टा हिँडिरहेका छन् । उनले कुनै स्वास्थ्य समस्या भएर वा जुठो परेका कारण यो सबै कर्म गरेका भने हैनन् । उनी त जनैपूर्णिमाका दिन बझाङको सुर्मा सरोवरमा लाग्ने विरीजात मेलामा जानका लागि तयारी गरिरहेका हुन् । 

दार्चुलाको अपी हिमाल गाउँपालिका–४, चौबिसेन गाउँका अरू चार जना पनि यही नियम पालना गर्दै सविनसँगै बसेका छन् । गाउँमा उनीहरूले ‘बालावीरे’ को उपाधि पाएका छन् । पहिलो पटक सुर्मा मेलामा जानेहरूलाई बालावीरे भनिन्छ । उनीहरू गाउँबाट मेला भर्न जानेहरूको नेतृत्व गर्दै अघिअघि हिँड्नुपर्छ भने यस अघि पनि सुर्मा सरोवर पुगिसकेका ‘बुढावीरे’ को लस्कर बालावीरेको पछिपछि हिँड्छ । 

यता बझाङका घरघरमा पनि यस्तै तयारी हुँदै छ । विरीजात मेलामा जानेहरू औंसीको दिनदेखि नै चोखो बसेका छन् । उनीहरू खाली खुट्टा हिँडेर जनैपूर्णिमाका दिन दुस्कर हिमाली बाटो र सुन्दर पाटनहरू छिचोल्दै समुद्र सतहदेखि ४ हजार ३ सय ३३ मिटर उचाइको सुर्मा सरोवर पुग्नेछन् । बझाङ जिल्लामा लाग्ने सबैभन्दा ठूलो र कठोर नियम भएको यस मेलामा पहिलो पटक जान लागेकाहरूका मनमा भने डरभन्दा बढी उत्साह छ । सविन भन्छन्, ‘फोटो र भिडियोमा हेर्दै आएको हो, यस पटक आफैं जान पाउने भएपछि खुसी लागेको छ ।’ गाउँका सबैले गर्दै आएको यो यात्रा आफूले पनि सहजै गर्नेमा उनी ढुक्क देखिन्थे । 

‘सानैदेखि सुर्मा पुग्ने सपना थियो । यसपालि पूरा हुने भयो,’ बझाङको जयपृथ्वी नगरपालिका–७, की निर्मला शाही भन्छिन्, ‘अलिकति दुःख त होला तर त्यस्तो सुन्दरभूमि खाली खुट्टाले छुने सौभाग्य सबैले कहाँ पाउँछन् ?’ बझाङ जिल्लाकै मुख्य पर्यटकीयस्थलसमेत रहेको सुर्मा सरोवर क्षेत्रमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने यो मेलामा सुर्मा तालमा गएर स्नान गरेमा मनोवाञ्छित फल प्राप्त हुने र पाप नष्ट हुने अगाध जनविश्वास छ । सुर्मा सरोवर यात्रामा जाने व्यक्तिहरूले १५ दिन अघिदेखि नै चोखोनितो बस्नुपर्ने, दैनिक पूजाआजा गरेर एक छाक मात्र खाना खानुपर्ने हुन्छ । पहिलो पटक सुर्मा यात्रामा जानेलाई बालावीर भनिन्छ भने पहिले गइसकेका र फेरि जान लागेकालाई बुढावीर भन्ने गरिन्छ । खाली खुट्टा यात्रा गर्ने वीरहरूको समूह मेलामा जाने भएकाले यो मेलाको नाम नै विरीजात रहन गएको जानकारहरू बताउँछन् । 

दार्चुलाबाट मेला भर्न आउनेहरू एकादशीको दिन घाँजरमा जम्मा हुन्छन् । त्यहाँ सुर्मा देवीका विभिन्न फाग, माँगलहरू गाउँदै देउडा खेल्दै राम रमिता गरिन्छ । त्यसलाई रतेडी भनिन्छ । त्यहाँबाट हिँडेर सुर्मा गाउँपालिकामा रहेको वीरे ओडारमा एक रात बास बसेपछि भोलिपल्ट सुर्मा सरोवरमा पुग्ने गर्छन् । बझाङतर्फका स्थानीयहरू पनि जयपृथ्वी नगरपालिकाको सेलाखेत हुँदै एकादशीको दिन सुर्मा गाउँपालिकाको घोगाडामा रहेको देवस्थलीमा बास बस्छन् । भोलिपल्ट पैदल हिँडेर सुर्मा देवीको मुख्य मन्दिर रहेको थकुन्नाडा पुग्छन् । त्यहाँबाट वीरेको लर्को मध्यरातमा सुर्मा सरोवरतर्फ लाग्छ । श्रावण चतुर्दशीका दिन वीरेहरू सुर्मा सरोवरबाट फर्किएपछि स्वागत गर्न महिला श्रद्धालुहरू सुर्माकै लोटनी भन्ने ठाउँसम्म पुग्छन् । त्यहाँ पुगेका महिलाहरूले भुइँमा लडिबुडी खेल्ने अनौठो चलन छ । 

सुर्मा मेलामा बझाङको बाटो भएर र दार्चुलाको मार्मा भएर आउने श्रद्धालुहरूको भेट बिरु ओडारनजिक भएपछि दुवैतिरका मानिस मिलेर चाभाइ (सुर्मा देवीको स्तुति गान) खेल्ने गर्दछन् । चतुर्दशीका दिन बिहान सुर्मा सरोवरमा स्नान गरी पूजाआजा गर्ने र त्यसको भोलिपल्ट (जनैपूर्णिमाको दिन) त्यहाँबाट फर्केका बझाङका स्थानीय सुर्मा गाउँपालिकाको थकुन्डा गाउँमा रहेको सुर्मा देवीको मुख्य मन्दिर पाँगरजडीमा पुग्छन् भने दार्चुलाका स्थानीय क्षति र घाँजरमा रहेका मन्दिरमा पूजा गरेपछि मेला सकिन्छ । सरोवर जान नपाएका मानिसहरू ठूलो संख्यामा गाउँको मेलामा सहभागी हुने गरेका छन् । 

मष्टाकी १६ बहिनीहरूमध्ये सुर्मा र दुर्गाबीच मतभेद हुँदा बझाङको दुर्गाथलीबाट छुट्टिएर यही बाटो हुँदै थारलको रूपमा जाँदै गरेकी सुर्मालाई स्थानीयले देखेपछि सिकार गर्ने उद्देश्यले लखेट्दै जाँदा सुर्मा सरोवरमा पसेको किम्वदन्ती छ । देवीलाई लखेटेको प्रायश्चितस्वरूप प्रत्येक वर्ष यहाँ मेला लाग्ने गरेको बुढापाका बताउँछन् । थारलका रूपमा सुर्मा देवी भएको थाहा पाएपछि लखेट्नेहरूले पछुतो मान्दै च्वः च्वः (चाः चाः) भनेको र पछि यही शब्द अपभ्रंश भई चाभाइ (विरीजातमा गाइने गीत) भएको उनीहरूको भनाइ छ । 

यो मेला धार्मिक र पर्यटकीय मात्रै नभई सांस्कृतिक हिसाबले पनि जिल्लाकै महत्त्वपूर्ण मेला हो । जनावरको छालाबाट बनाएका परम्परागत ढाँका (एक प्रकारको बाजा) बजाउँदै गरिने दुर्लभ नृत्य, डाँफे नाच, महिलाहरूको समूहले खेल्ने चाभाइ खेललगायतका दुर्लभ दृश्यहरू पनि मेलाका क्रममा हेर्न पाइन्छ । सुर्मा क्षेत्रको सुन्दरता र धार्मिक सांस्कृतिक प्रस्तुति हेर्नका लागि अहिले बझाङ र दार्चुला मात्रै नभएर देशका विभिन्न ठाउँबाट ठूलो संख्यामा मानिसहरू विरीजातमा सहभागी हुने गरेका छन् । ‘यो मेला लामो समयसम्म मनाइने र ठूलो संख्या मानिसहरू सहभागी हुने कुराले मात्रै महत्त्वपूर्ण छैन,’ दार्चुला अपी हिमाल गाउँपालिका–४ का क्षेत्रसिंह ठेकरे भन्छन्, ‘खाली खुट्टा गरिने विकट हिमाली क्षेत्रको यात्रा, अन्त कतै नभएका सांस्कृतिक गतिविधि र परम्पराका कारणले पनि फरक छ,’ उनले पछिल्लो समय यो मेला हेर्नका लागि देशभित्र मात्रै नभएर विदेशबाट पनि मानिसहरू आउन थालेकाले यो पर्यटकको आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको बताए । 

परापूर्वकालदेखि चल्दै आएको यो परम्परा जोगाउन युवाहरू पनि लागिपरेका छन् । खास गरी बझाङको सुर्मा र छविसपाथीभेरा गाउँपालिका र दार्चुलाको अपी हिमाल गाउँपालिकाका प्रत्येक व्यक्तिले जीवनकालमा दुई पटक अनिर्वाय पुग्नुपर्ने मान्यता छ । यद्यपि युवा पुस्ता भने परम्परा जोगाउँदै पर्यटन प्रवर्द्धन गर्न आफूहरू विरीजातमा सहभागी हुने गरेको बताउँछन् । ‘यो धार्मिक कार्य त हुँदै हो । सुर्माजस्तो क्षेत्र संसारलाई चिनाउने अवसर पनि हो,’ दार्चुलाको अपी हिमाल गाउँपालिकाका खिमानन्द ठेकरेले भने, ‘यसमा युवा पुस्ताको पनि राम्रो चासो र सहभागिता छ ।’

मेलाको आकर्षण बढाउनका लागि स्थानीय क्लबले आकर्षक राशिको देउडा र विभिन्न खेलकुद प्रतियोगिताहरू पनि आयोजना गर्ने गरेका छन् । यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास, संस्कृति संरक्षण र यसको प्रचार प्रसार गर्नका लागि पनि भूमिका खेलिरहेको सुर्माका स्थानीयसमेत रहेका बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली बताउँछन् । 

यो क्षेत्रमा पछिल्लो समय धेरैजसो मानिसहरू धार्मिकभन्दा पनि भौगोलिक सुन्दरता अवलोकन गर्नका लागि वर्षभरि नै सुर्माको भ्रमणमा जाने गर्दछन् । तीन वर्षअघि एक जना अमेरीकी पत्रकारसहितको टोलीले सुर्मा सरोवरको पर्यटकीय सम्भाव्यताको समेत अध्ययन गरेको थियो । यस क्षेत्रमा रहेको सुर्मा सरोवर, तातोपानीको मुहान, बिरु ओडार, धानसेरी जिउलो आदि स्थानहरू आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख आकर्षणका रूपमा रहेका छन् । केही वर्षअगाडिसम्म सुर्माको घोगाडा, थकुन्ना क्षेत्रमा मेला अवधिभर (१५ दिन) दलितहरूलाई प्रवेश गर्न नदिने नियम भए पनि हाल त्यो चलन परिवर्तन भइसकेको छ । 

000

यो बागलुङको जात्रा–कथा हो । रातो कपडाको जाँघे र सर्ट, एक जनाकै लागि १२ मिटरसम्मको सेतो कपडाको कछाड लगाएर लामो पुच्छर बनाइन्छ । अनुहारमा अबिर दलेपछि दुरुस्त हनुमानझैं देखिन्छ । हातमा दुईवटा मोटो डन्डी बोकेर नाच्ने अनौठो जात्रा बागलुङमा संरक्षित छ । तीन सय वर्ष पुरानो भएको अनुमान गरिएको हनुमान जात्रा बागलुङका नेवारहरूले बचाएर राखेका छन् । भक्तपुरबाट बसाइँ सरेर बागलुङ आएका नेवारले यो जात्रा पनि सँगै ल्याएको किंवदन्ती छ । १७५० सालअघि नै नेवारहरू राजधानीबाट बागलुङ बसाइँ सरेर आएको यहाँका नेवारहरू बताउँछन् ।

Pilgrimage outside the valley

हनुमान नाच संरक्षण परिषद् र यसबारेको कृति प्रकाशन गरेका अन्वेषक प्रेम छोटाका अनुसार बसाइँ सरेर यहाँ आएका नेवारले धेरै संस्कृति पनि बोकेर ल्याएका थिए । तीमध्ये अनौठो र निकै खर्चिलो जात्रासमेत हो यो । हनुमान जात्रा सुरुवातमा त हरेक वर्ष देखाइन्थ्यो । कलाकार र खर्च अभावले बिजोर वर्षमा देखाइने गरियो । गत वर्ष बागलुङमा बिजोर वर्षको अवसर पारेर यो नाच झन्डै ९ वर्षपछि देखाइयो । तर समुदायको माग बढेपछि जोर वर्ष भए पनि २०८२ मा पनि देखाइएको छ । कम्तीमा १३ जोडी र बढीमा १५ जोडी हनुमान बनेर दर्जनबढी तालमा नृत्य गरिन्छ । हनुमान जात्रा निकाल्नुअघि यहाँको छहरा पँधेरामा विधिपूर्वक पूजा गरिन्छ । यहाँका बद्री श्रेष्ठ हनुमान स्थानका मूल पुजारी छन् । उनका छोराहरूले पनि यो जात्रा र हनुमान नाचको विधिलाई वर्षौंदेखि पालना गराइरहेका छन् ।

बागलुङ बजारनजिकैको पँधेराबाट थालनी गरिने यो नृत्यलाई बागलुङवासीले पहिचानका रूपमा चिन्न थालेका छन् । जात्रा निकाल्नेभन्दा एक महिना अघिदेखि नै युवाहरूलाई तालिम दिइन्छ । औपचारिक नृत्य सुरु गरेपछि विधिपूर्वक अन्त्य गर्नुपर्ने भएकाले तालिमको बेला पनि धेरै नियम सिकाइन्छ । ‘अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास छ,’ संस्कृतिविद् प्रेम छोटाले भने, ‘तीन सय वर्षअघि भक्तपुरमा मनाइने यो नाच अहिले उता लोप भयो, बागलुङमा संरक्षित छ ।’ रामका सेवक भएकाले हनुमान नाच देखाउँदा धर्म मिल्ने, हनुमानकोझैं शक्ति मिल्ने, समाजमा वीर व्यक्तिको संज्ञा पाउने र काम गर्ने जाँगर पलाउनेलगायतका विश्वास गरिन्छ । 

साथै हनुमान जात्रालाई ब्रम्हचर्यको नमुनाका रूपमा पनि चिनिन्छ । हनुमान जात्रामा सहभागीहरूले ब्रम्हचर्यमा बस्नुपर्ने प्रावधान छ । नबसेको खण्डमा अनिष्ठ हुने किम्वदन्ती छ । साथै, जात्रा अवधिभर हनुमान बन्ने युवाले पनि चोखी निष्ट भएर बस्नुपर्छ । अन्यथा नृत्यको बेला वीर आउने र कम्पन हुने गरेको छ । कम्पन भएमा पुजारी वा नृत्य गर्न बसेका अगुवा जोडीले धुप सुघाएर निको पार्छन् । 

यो जात्रा सुरु गर्नेभन्दा अघिल्लो दिनदेखि नै पुजारीहरूले चोखो बसेर नुहाइधुवाइ गरेपछि मंगलबारका दिन हनुमानस्थानमा पूजा गर्छन् । उक्त स्थानदेखि उपल्लाचौर भन्ने स्थानमा रहेको राम मन्दिरसम्म झन्डै ३ किमि बाटो हनुमानको मूर्ति बोकेर उल्टो हिँड्नुपर्छ, बोल्न पाइँदैन । भोकैसमेत बस्ने भएकाले निकै कष्टकर हुन्छ । हनुमान जात्राले सहकाल ल्याउने, आम नागरिकमा निष्ठा र सत्यवादी बन्ने प्रेरणा मिल्नेसमेत विश्वास छ । पोसाक, नृत्यका लागि बजाइने मृद्दंग, ढोकल, झ्याली र अन्य सामग्रीका लागि पनि धेरै खर्च हुने पुजारी श्रेष्ठले बताए ।

१६ वर्षदेखि ४० वर्षका युवालाई हनुमान बनाइने र बन्नुपूर्व साता दिनसम्म युवाहरूले ब्रम्हचर्यमा रहने भएकाले युवा पुस्तामा दुर्व्यसनीबाट बचाउन सकिनेसमेत विश्वास छ । रामायणको कथामा आधारित नाच भएकाले हिन्दुधर्म मान्ने सबैले यो संस्कृति संरक्षणमा भाग लिने गरेका छन् । आयोजना नेवारले गरे पनि ब्राह्मण, क्षेत्री, मगरलगायतका अन्य जातिले पनि नाचमा सहभागी बन्ने गरेका हुन् ।

लोपोन्मुख संस्कृति भएकाले संरक्षणका लागि २०४६ सालदेखि हनुमान नाच संरक्षण परिषद् गठन भएको छ । ‘निकै खर्चिलोसमेत हुने भएकाले नाचको संरक्षण गर्न एकल पहलले पुग्दैन,’ परिषद्का अध्यक्ष परशुराम श्रेष्ठले भने, ‘बजारभर दानदक्षिणासमेतको जोहो गरेर संस्कारको संरक्षण गरिरहेका छौं ।’ ध्योला तालमा नाच्नका लागि मृद्दंगा बाजा, धिमे र 

झ्याली बजाउनका लागि कलाकारहरू आवश्यक पर्छ । त्यस्ता कलाकारलाई अगुवाइ गर्ने प्रधान ‘कजी’ रहने व्यवस्था छ । मुख्य सञ्चालकका रूपमा चिनिने प्रधान कजीले नाचको संयोजन गर्छन् । नाचमा भजन मण्डलीको व्यवस्था गर्न अन्य सहायक कजीको पनि व्यवस्था गरिनुपर्छ । लोपोन्मुख संस्कृति भएकाले संरक्षण गर्ने र विश्व संस्कृतिमा सूचीकृत गर्ने कामका लागि यो समुदायले पहल गरेको छ ।

000

यो जुम्लाको जात्रा वर्णन हो । वरिपरि माटोका छाना भएका घरहरू छन् । चन्दननाथ भैरवनाथ गुठीको शेरा जिउलोमा झुलिरहेका धानका बाला छ । त्यहीमाथि चन्दननाथ भैरवनाथ मन्दिरमा हालिएका ५२ हाते लिंगाको सौन्दर्यताले सबैको ध्यान केन्द्रित गरिरहन्थ्यो । मन्दिरमा हालिने ५२ हाते लिंगो हेर्न पनि डाँडाकाँडा उक्लिनुपर्ने बाध्यता छ । कर्णालीको धार्मिक धरोहरका रूपमा रहेको चन्दननाथ भैरवनाथ मन्दिर संकटमा छ । दसैंको पहिलो दिन घटस्थापना । जुम्लामा चन्दननाथ भैरवनाथ मन्दिरको लिंगो फेरर मात्र घटस्थापना गर्ने चलन छ । यो दिन जिल्लाभरिका भक्तालुहरू सदरमुकाम खलंगा झर्छन् । वर्षको एक पटक हुने यो दिन विशेष रूपमा मनाउने चलन छ । एक वर्षमा ५२ हप्ता हुने भएकाले मन्दिरमा ५२ हातको लिंगो राख्ने चलन छ । सल्लाको हरियो रूख काटेर लिंगो बनाइन्छ । रातो, सेतो रंगीबिरंगी कपडाले लिंगो ढाकिन्छ । टुप्पोमा पतका लगाएर ठड्याइन्छ । यो दिनमा मन्दिरमा लिंगो खडा गरेर मात्र बिहानको खाना खाने गरिन्छ । 

Pilgrimage outside the valley

चन्दननाथ नगरपालिकाभित्र रहेको जंगलबाट लिंगो ल्याइन्छ । लिंगो तानेर ल्याउने वा ठड्याउने बेलामा भाँचियो भने देशमै अनिष्ट हुने विश्वास छ । देवताको जयघोष र पूजाआरती, भजनकिर्तनका साथ लिंगो फेर्ने चलन रहेको चन्दननाथ भैरवनाथ मन्दिरका गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले बताए । भैरवनाथ मन्दिरमा ४८ हातको लिंगो र ४८ हातकै ध्वजा र नेजा राखिन्छ । मन्दिरमा विजय स्तम्भसहित दुईवटा लिंगा ठड्याइने परम्परा छ । पल्टने लिंगा, (जो नेपाली सेना, नेपाल प्रहरी र निजामती कर्मचारीहरूले ल्याउने) एउटा थपाले लिंगा (जो गाउँलेहरूले मात्र ल्याउने) र अर्को कमसले लिंगा जो सबै दलितहरू मिलेर ल्याइने गरी तीनवटा लिंगो ल्याइन्छ । 

पहिले पहिले लिंगो खडा गर्ने दिनमा मन्दिरमा कालीकोटबाट ९६ धार्नी घ्यू ल्याउने चलन थियो । हुम्लाबाट २६ धार्नी मह, जुम्लाकै धानखेती हुने पानसय दराबाट अक्षेता, लेकाली बस्तीबाट मास, गहत र गुराँस संकलन हुन्थ्यो । जुम्लाको चौधबीस दराबाट गहुँ आइरहन्थ्यो । अहिले पनि चन्दननाथ मन्दिरमा भेटी, हर्जना तिर्नुपरेमा ५२ रुपैयाँ दिने चलन छ ।

चन्दननाथ, भैरवनाथ मन्दिरमा खडा गरिने लिंगोको टुप्पोमा राख्ने चौरी फुर्को मुगुका भोटेले दिने, टुप्पामा बेर्ने ठेटुवा मुगु खत्याड, सोरु र गल्भका क्षेत्रीले दिने, नेजा र ध्वाजा बाँध्ने उनको डोरी हुम्लाका भोटेले दिने, चन्दननाथ भैरवनाथको मन्दिरमा बलि दिने बोको चौधबीसको रिनी र कुडारी तथा छिनाबाट दिने चलन थियो । लिंगो गाड्ने खाल्डो खन्न रिनी र छिनाकै मान्छेको जिम्मेवारीभित्र पर्थ्यो । प्रसिद्ध मन्दिर चन्दननाथ, भैरवनाथमा चारवटा लिंगा फेरिएसँगै दसैंको औपचारिक सुरुवात हुन्छ । जिल्लाभरका सबैले आ–आफ्नो खेतमा पाक्नै आँटेको थोरै धान काटेर चिउरा कुट्ने गर्दछन् । त्यो चिउरालाई मह र दहीसँग मिसेर खाने चलन छ । तर अहिले पुरानो चलन हराइसकेको छ । 

जुम्लावासीले लिंगो खडा गर्ने दिनमा नयाँ अन्न अर्थात् नुवागी खाने गर्छन् भने धान पनि त्यो दिनदेखि काट्न सुरु गरिन्छ । मार्सी धान भित्र्याउने चन्दननाथ बाबालाई चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर नुवागी खाने प्रचलन रहेको स्थानीय चित्रलाल श्रेष्ठको भनाइ छ । ६ सय ७० सालमा चन्दननाथ बाबालाई मूर्ति चढाएको दिनलाई विशेष महत्त्वका साथ हेरिन्छ । 

 चन्दननाथ भैरवनाथ मन्दिरको पुरानो लिंगो ढाल्दा यहाँ आएका मानिसले लिंगोमा बाँधिएका ध्वजा र नेजा लिने गर्दछन् । पुराना ध्वजा र नेजा लिए शक्ति प्राप्त हुन्छ, अनिष्ट हुँदैन भन्ने जनविश्वास छ । लिंगो गाड्दा खनिएको माटोसमेत बोकेर घरमा लिने गर्छन्, जुम्लावासीले । ६७० सालमा चढाएको लक्ष्मी नारायणका मूर्तिमा लेखिएको मिति हेर्दा यो पटकको लिंगा फेर्ने कार्य २ हजार १२ पटक भएको देखिन्छ ।

000

पाल्पाको यो जात्रा २ सय ६ वर्षदेखि निरन्तर चलिरहेको छ । नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा सिन्दुरयात्रा सुरुवात भएको थियो । रूपन्देहीको बुटवल उपमहानगरपालिका जितगढीमा वैशाख ७ मा जितगढी उत्सव मनाइन्छ । पाल्पाको तानसेनमा नेपाल–अंग्रेज युद्धमा नेपालले विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष भाद्रकृष्ण नवमीमा खटयात्रा निकालिँदै आइएको छ । १८७२ वैशाख ७ मा जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले अंग्रेजमाथि जित हासिल गरेको हो ।

Pilgrimage outside the valley 

युद्धमा जानुअघि कर्णेल थापाले तानसेनस्थित रणउजीरेश्वरी भगवतीसँग भाकल गरेको मान्यता छ । यही आधारमा २ सय ६ वर्षदेखि तानसेन बजारमा खटयात्रा निकालिँदै आएको हो । नुवाकोट (पाल्पा)–जितगढी (रूपन्देही) युद्धमा नेपाली फौजले अंग्रेजलाई हराएका हुन् । यसैको सम्झनामा १८७७ भाद्र कृष्ण नवमीका दिनदेखि तानसेनमा निरन्तर विजयोत्सव खटयात्रा निकालिँदै आएको गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए । 

भगवती खटयात्राको सुरुवात १८७७ भाद्रदेखि सुरु गरिएको इतिहासविद् निर्मल श्रेष्ठ बताउँछन् । दुई पटकसम्म बुटवलको जितगढीमा अंग्रेजसंग युद्ध भएको थियो । युद्धमा फौजको नेतृत्व गरेका कर्णेल उजीरसिंह थापाले बुटवल (जितगढी) क्षेत्रलाई अंग्रेजबाट जोगाएको इतिहास छ । थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई खटयात्रा निकाल्ने भाकल गरेको जनविश्वास अहिले पनि छ । 

विजयी भएपछि थापाले तत्कालीन प्रशासनिक केन्द्र तानसेनमा १८७२ देखि १८७६ सम्म मन्दिर निर्माण गरेका हुन् । जितगढी क्षेत्रमा यसअघि १८७१ पुस १५ मा पहिलो पटक युद्ध भएको इतिहास छ । ‘युद्धमा जानुअघि उजिरसिंहले भाकल गरेको र युद्ध जितेको विश्वासमा तीनतले भव्य मन्दिर बनाएर १८७७ भाद्र कृष्ण नवमीका दिनदेखि भगवतीको खटयात्राले बजार परिक्रमा सुरु गरेका हुन्,’ अध्यक्ष महर्जनले भने । 

‘हामी रणभूमितर्फ प्रस्थान गर्दै छौं । रण—विजय हजुरको शक्ति र आशीर्वाद मिलोस् । रण–विजय भएमा दिव्य मूर्तिलाई एक सुन्दर मूर्तिभित्र प्रतिस्थापन गरी बर्सेनि खटयात्रा गराउनेछु’ भनी थापाले भाकल गरेर युद्धमा होमिएका हुन् । नेपाली फौजसँग पराजित भएर अंग्रेज फौज भारत गोरखपुरतर्फ फर्केपछि नेपाल स्वाधीन रहेको इतिहासविद् श्रेष्ठको भनाइ छ । देश स्वाधीन बनेको इतिहास विश्वभर फैलाउन हरेक वर्ष उत्सव मनाइन्छ । 

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले आना भतिजा कर्णेल उजिरसिंहलाई नुवाकोट गढीमा पठाएका हुन् । त्यसताका करिब ५ सय सैनिक शक्ति (नफ्री) भएको गुरु बक्स गुल्मको २ सय जवान र सवूज पल्टनको पाँच टुकडी लिई वीरभञ्जन पाण्डे नुवाकोट–जितगढी युद्धका लागि खटिएका थिए । वीरभद्र थापाका कान्छा छोरा सानाकाजी अमरसिंह थापा पाल्पाका प्रशासक थिए । जेठा छोरा भीमसेन थापा नेपालको मुख्तियार थिए । माहिला छोरा नयनसिंह थापा पश्चिम एकीकरण अभियानमा अमरसिंहसँग खटिएका थिए । उजिरसिंह नयनसिंहका छोरा हुन् । नेपालको एकीकरण अभियानले तीव्रता पाएपछि अंग्रेजहरू सशंकित थिए । त्यसमा पाल्पा राज्य नेपालमा गाभिएपछि उनीहरूले नेपालप्रति मित्रवत् दृष्टिले हेर्न छाडेर बुटवल र स्युराजको विषयमा विवाद उठाउन थालेका थिए । साथै युद्धको घोषणा नै नगरी वुटवलका कतिपय क्षेत्र कब्जा गरेको इतिहास छ ।

पाल्पाका तैनाथवाला अमरसिंहले कब्जा भएको क्षेत्र फिर्ता गर्न सैनिक पठाएछि अंग्रेजले युद्धको घोषणा गरे । नेपाल–अंग्रेज युद्धको नामले परिचित यस युद्धमा अंग्रेजहरूले पाल्पामा कब्जा जमाई नेपाललाई पश्चिमी सम्पर्कबाट विच्छेद गराउने उद्देश्य थियो । जुन कामका लागि अंग्रेज फौजले मेजर जनरल जोन सुलिभान उडलाई खटाएका थिए ।

१८७१ आश्विनमा अमरसिंहको निधनपछि उजिरसिंहलाई पाल्पाको प्रशासन चलाउने जिम्मेवारी थपियो । अंग्रेजले पहिलो पहाडैपहाड गएर नुवाकोट गढीलाई ध्वस्त पार्ने थियो । अर्को जितगढीलाई ध्वस्त गरी हालको राजमार्गको बाटो भई पाल्पा आक्रमण गर्ने योजना बनाएका थिए । नेपालको पश्चिमी क्षेत्रका नालापानी, जैथक, देउथलमा भएका युद्धमा अंग्रेजहरू विजयी भए पनि जितगढीको युद्धमा पराजित भए । 

२४ कम्पनी र २ सय घोडचढी सैनिकसहित आएका अंग्रेज फौजसँग नेपाली फौजले लड्ने साहसै नगरेको इतिहासमा उल्लेख छ । अंग्रेज फौजले खस्यौली (बुटवल) बाट गोला वर्षा गरी दरबार ध्वस्त पारुन्जेल नेपाली फौज चुप लागेर बस्यो । नेपाली फौज नभएको र पाल्पातिर लागेको अंग्रेजले अनुमान गरे । जितगढी किल्ला कब्जा गरी नुवाकोट गढी कब्जा गर्ने सुरले अंग्रेज फौज नदीमा पस्यो । छल र हान भन्ने उजिरसिंहको निर्देशनअनुसार नेपाली फौजले नदीमा हेलिएको मौका छोपी अचानक गोली बर्सायो । 

नेपाली फौजले निरन्तर गोली बर्साउँदा अंग्रेज फौजका केही सेना हताहत भए । अंग्रेज फौजको नेतृत्व गरेका जनरल उडले सानो क्षेत्रका लागि ठूलो जनशक्तिले ज्यान गुमाउनुपर्ने महसुस गरे । त्यसकारण उनले फौजलाई फिर्ता हुन आदेश दिए । विसं. १८७२ वैशाख १५ मा उजिरिसिंह थापा, प्रसादसिंह बस्न्यात र दलकेशर पांँडेले पाल्पा श्रीनगरबाट जनरल भीमसेन थापा र काजी रणध्वज थापालाई लेखेको पत्रबाट यो कुरा अवगत हुने इतिहासविद् कर्णबहादुर बानियाँको पुस्तकमा उल्लेख छ ।

युद्धमा जानुअघि तानसेनको भगवतीको मूर्तिसामु गरेको भाकल कर्णेल थापाले सम्झिए । भगवतीको शक्तिले बुटवल क्षेत्र नेपालले गुमाउन परेन भन्ने महसुस गरी थापाले भगवतीको तीनतले मन्दिर, कलात्मक धातुको मूर्ति निर्माण गराएर भगवतीको खटयात्रा चलाएका हुन् । 

उजिरसिंह थापाको बाल्यकाल काठमाडौंमा बितेको थियो । इन्द्रजात्रा र कुमारीजात्राबाट प्रभावित थापाले त्यस प्रकारको जात्रा पाल्पामा पनि चलाउने योजना बनाए । थापाले आफ्नो भाकल पूरा गर्ने उद्देश्यले भगवती जात्राको सुरुवात गराएका हुन् । यस जात्राले संस्कृति र परम्परालाई विकास गराउन सहयोग पुगेको इतिहासविद् राजेन्द्रगोपाल सिंहको भनाइ छ । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully