वीरेन्द्रनगर — ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा मारिएका युवालाई शहिद घोषणासहित ८ बुँदे माग राखेर आफन्तले आन्दोलन थालेका छन् । माग पूरा नभएसम्म शव नबुझ्ने र आन्दोलन गरिरहने उनीहरुको भनाइ छ । घटनाको विरोधमा उनीहरुले सुर्खेतको वीरेन्द्रनगर र दैलेखमा पनि प्रदर्शन थालेका छन् ।
शनिबार वीरेन्द्रनगरका एरीचोक , विरेन्द्रचोक र मंगलगढी चोकमा प्रदर्शन गरेका उनीहरुले आइतबार पनि विरोध प्रदर्शन गरेका छन् । दैलेखको महाबु गाउँपालिका- ६ का २१ वर्षीय सुजन रावतका आफन्तहरूले वीरेन्द्रनगरमा प्रदर्शन थालेका हुन् ।
मृतकलाई शहिद घोषणा गर्नुपर्ने उनीहरुको माग छ । मृतककी फूपु संगिता ढकालले शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीको धरपकडले दुई युवाको ज्यान गएको भन्दै उनीहरुलाई शहिद घोषणा गर्नुपर्ने माग गरिन् । शहिद घोषणासहित ८ बुँदे माग प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत बुझाइसकेका उनीहरुले ती माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
'परिवारलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्छ । सरकारले अहिले छानबिन समिति बनाएको छ । तर यसप्रति हामीलाई विश्वास छैन, अर्को छानविन समिति गठन गर्नुपर्छ,' मृतक सुजनका काका कृष्ण राउतले भने ।
मृतकका परिवारलाई क्षतिपुर्तिसँगै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने राउतले बताए ।
