प्रदेश अस्पतालमा सेनाको मेडिकल क्याम्प खडा

कार्तिक १८, २०८०

ज्योति कटुवाल

वीरेन्द्रनगर — भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि कर्णाली प्रादेशिक अस्पतालमा सेनाले मेडिकल क्याम्प खडा गरेको छ । प्रदेश अस्पताल कालागाउँमा सहायता प्रदान गर्न नेपाली सेनाको सुर्खेतस्थित कालिबहादुर गणले मेडिकल क्याम्प खडा गरेको छ ।

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरूको चाप बढ्ने देखिएपछि मेडिकल क्याम्प खडा गरिएको कालिबहादुर गणका प्रमुख सेनानी  शैलेन्द्र सिलवालले बताए । उनका अनुसार अस्पतालमा आउने घाइतेहरूको चापलाई मध्यनजर गर्दै अस्पतालसँगको समन्वयमा मेडिकल क्याम्प खडा गरिएको  हो ।

घाइतेको चाप बढेको खण्डमा मेडिकल क्याम्पबाट सेवा दिइने प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बरबहादुर खड्काले बताए । उनका अनुसार प्रदेश अस्पताल हाल २९९ शय्याको छ। अस्पतालमा औषधि र चिकित्सकको अभाव नरहेको निर्देशक खड्काको भनाइ छ ।

जाजरकोट भुकम्प

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully