दुर्गम बस्तीतिर मुगुका उम्मेदवार

कार्तिक ११, २०७९

राजबहादुर शाही

मुगु — मुगुका राजनीतिक दलका उम्मेदवारहरूलाई यतिबेला मतदातासँग भोट माग्न भ्याइनभ्याइ छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धन कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवाजदी र प्रतिपक्षी दल नेकपा एमालेका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरू चुनावी एजेण्डा लिएर दुर्गम बस्तीमा पुगेका छन् ।

सत्ता गठबन्धनतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेस सभापति ऐनबहादुर शाही, प्रदेशसभा–२ का नेकपा माओवादी केन्द्रका उम्मेदवार मंगलबहादुर शाही लगायत नेता तथा कार्यकर्ताहरू खत्याड गाउँपालिकाको वडा नं १ देखि ११ सम्मका गाउँ बस्तीमा पुगेर मतदातासँग भोट मागेका छन् ।

सत्ता गठबन्धनतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेस सभापति ऐनबहादुर शाहीले खत्याड गाउँपालिकाका गाउँघरमा घरदैलोमा पुगेर मतदातासँग भोट मागेर बिहीबार साँझ गमगढी फर्किएको बताए । खत्याड गाउँपालिकामा पहिलो चरणको घरदैलो अभियान सकेर कार्मारोङ गाउँपालिकातर्फ लाग्ने उनको भनाइ छ ।

सत्ता गठबन्धन दलहरूले मुगुमा साझा चुनावी एजेण्डाको रुपमा शिक्षा, स्वास्थ्य, पर्यटन जडिबुटी विद्युत, खानेपानी, उत्तरी नाका सडक निर्माण, डोल्फू तामा खानी उत्खनन्, बाढी पहिरो पीडितलाई राहत तथा पुर्नवासका विषय उठाएको शाहीको भनाइ छ ।

एकीकृत समाजवादीका संयुक्त वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार गोपालबहादुर बम र कांग्रेस वरिष्ठ नेता हस्तबहादुर मल्लसहित नेता तथा कार्यकर्ताहरू मतदाताहरूसँग भोट माग्न छायाँनाथ रारा नगरपालिकाको रुगा, बाम लुम, थार्प, तलितुम लगायत बस्तीमा पुगेका छन् ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधिसभामा विजयी भएका बम यसपटकको निर्वाचनमा संयुक्त वाम लोकतान्त्रिक गठबन्धनबाट एकीकृत समाजवादी पार्टीबाट प्रदेशसभा–१ बाट चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपा एमालेतर्फका प्रतिनिधिसभाका उम्मेदवार राजु कार्की, प्रदेशसभा–१ का उम्मेदवार जीतबहादुर मल्लसहित एमालेका नेता मोहन बानियाँ छायाँनाथ रारा नगरपालिकाको रोवा, सालिम, लुम्स लगायत गाउँमा घरदैलो कार्यक्रम सकेर खत्याड गाउँपालिका तर्फ लागेका छन् ।

कार्कीले पर्यटन विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, रारा विमानस्थल सुधार, गमगढी नाग्मा सडक स्तरोन्नती लगायत मुख्य चुनावी एजेण्डा आफूहरूले अगाडि सारेको बताए । मुगुबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट कांग्रेसका ऐनबहादुर शाही र एमालेबाट राजु कार्की चुनावी मैदानमा उत्रिएका छन् ।

आमनिर्वाचन २०७९

राजबहादुर

Link copied successfully