रुकुम पश्चिम — कोरोना संक्रमण पुष्टि भएकाहरु ४ दिनदेखि घरमै बसिरहेका छन् । आइतबार संक्रमण पुष्टि भएकामध्ये ६ जना आफ्नै घरमा बसेपछि स्थानीयबासी त्रसित बनेका छन् ।
आइतबार मुसीकोट नगरपालिकामा रहेका केही कार्यालय र स्थानीय गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये एक कार्यालय प्रमुखसहित ५ जनालाई सरकारी निवासमा राखिएको छ ।
स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले आइसोलेसन व्यवस्थापनमा ढिलाइ भएपछि संक्रमितलाई घरमै बस्न भनिएको बताए । उनका अनुसार जिल्ला अस्पतालको आइसोलेसनमा अहिले १० जनालाई राखिएको छ ।
संक्रमितको संख्या बढ्दै गएपछि मुसीकोट नगरपालिकाले एक निजी अस्पताललाई आइसोलेसन बनाउने निर्णय गरेको छ । उक्त अस्पतालमा आइसोलेसन व्यवस्थापन भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए । उनका अनुसार ५० शय्याको आइसोलेसन बनाउने तयारी गरिएको हो ।
