कर्णाली प्रदेश प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य
वीरेन्द्रनगर — कोरोनाको बढ्दो संक्रमण र तीज पर्वको माहोललाई मध्यनजर गर्दै कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबारदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबारसम्म निषेधाज्ञाको आदेश जारी गरेको हो ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा कार्यरत विभिन्न व्यक्तिहरुमा समेत कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । ‘संक्रमितहरुको संख्या पनि बढेको छ, तीजको माहोल पनि बढ्ने देखिएको छ,’ उनले भने, ‘यी दुई अवस्थालाई मध्यनजर गरेर निषेधाज्ञा जारी गरिएको हो ।’ निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै काम ठप्प हुने उनले बताए ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार अहिलेसम्म सुर्खेतमा ६ सय ३३ जनामा संक्रमण देखिएको छ । कार्यालय प्रमुख चेतननीधि वाग्लेले तीमध्ये ५ सय ७६ जना निको भएर घर फर्किएका बताए । ६३ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म जिल्लाभर ११ हजार ५ सय ८३ स्वाब संकलन गरिएकोमा ६ सय १३ स्वावको नतिजा आउन बाँकी रहेको उनको भनाइ छ । प्रमुख वाग्लेका अनुसार वीरेन्द्रनगरका मात्रै अहिलेसम्म सक्रिय बिरामी ३८ जना रहेका छन् ।
जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने हरेक नागरिकको पीसीआर रिपोर्ट हेरेर प्रवेश दिने निर्णय गरेको छ । शुक्रबारदेखि कर्णाली प्रवेश गर्न पीसीआर रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरेको हो । अब प्रदेशमा प्रवेशका लागि कम्तीमा तीन दिन अगाडि पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ । प्रदेश भित्रिने मुख्य नाका सल्यानको कालिमाटी, काल्चे, कपुरकोट, सुर्खेतको बबई र कुइनेमा पीसीआर रिपोर्ट हेरिनेछ ।
पास बनाएर आएका व्यक्तिहरूले पनि पछिल्लो तीन दिनयताको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छ । शुक्रबारदेखि मुख्य बजार क्षेत्रका होटल तथा रेष्टुरेन्ट पूर्णरुपमा बन्द गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ । प्रदेश सरकारले बढी जनसम्पर्क हुने कार्यालयमा भीड कम गर्नका लागि टोकन प्रणाली र अनलाइनमार्फत काम गर्ने व्यवस्था मिलाउनेसमेत निर्णय गरेको छ ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा पनि बुधबारदेखि निषेधाज्ञा जारी छ । पहिलो सूचनाअनुसार निषेधाज्ञा आगामी मंगलबारसम्म जारी हुनेछ । मुसीकोट नगरपालिका–१ स्थित स्वास्थ्य सेवा कार्यालयदेखि खलंगा, सेरीगाउँ हुँदै शितलपोखरी, ३ नम्बर वडाको पिपलनेटादेखि सेरीगाउँ हुँदै ६ नम्बर वडा कार्यालयसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।
त्यसैगरी मुगु सदरमुकाम गमगढीमा पनि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले भदौ १ गते सोमबारदेखि भदौ १५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए । उनका अनुसार अत्यावश्यक खाद्यवस्तुका पसल बिहान ६ देखि १० बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाउनेछन् ।
