सरकार अन्योलमै, प्रतिष्ठानले किन्यो किट

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १/१ हजार थान भीटीएम, आरएनए एक्स्ट्रयाक्सन किट तथा रिएजेन्ट र २ हजार थान आरडीटी किट खरिद गरेको छ ।

वैशाख २४, २०७७

कलेन्द्र सेजुवाल

वीरेन्द्रनगर — कर्णाली प्रदेश र संघीय सरकारले समयमै प्रयोगशाला सामग्री खरिद गर्न नसकिरहेका बेला जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने टेन्डर प्रक्रियाबाट किट खरिद गरेको छ । प्रतिष्ठानमा अहिले पनि पीसीआर परीक्षण रोकिएको छैन ।

प्रतिष्ठानले टेन्डर प्रक्रियामार्फत पहिलो चरणमा एक–एक हजार थान भीटीएम (भाइरल ट्रान्सफर्म मिडियम), प्रोसेसिङको लागि चाहिने आरएनए एक्स्ट्रयाक्सन किट र रिएजेन्ट खरिद गरिसकेको छ । चिनियाँ कम्पनी डिल्याबले बिहीबारसम्म सामान काठमाडौं ल्याउने र दुई-तीन दिनमा जुम्ला ल्याइपुर्‍याइने प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनका अनुसार डिल्याब करिब एक महिनाअघि आरटी–पीसीआर मेसिन र प्रयोगशाला सामग्री खरिदको लागि टेन्डर प्रक्रियाबाट छनोट भएको थियो ।

प्रतिष्ठानले युरोपियन स्ट्यान्डर्ड (सीई सर्टिफाइड) का रिएजेन्ट र आरएनए एक्स्ट्रयाक्सन किट तथा अमेरिकन स्ट्यान्डर्ड (यूएसएफएडी) का भीटीएम ल्याउन लागेको हो । यी दुवै स्ट्न्यान्डर्ड आइएसओ सर्टिफाइड (इन्टरनेसनल अर्गनाइजेससन फर स्ट्यान्डरडाइजेसन) हुन् । सोही कम्पनीले २ हजार थान आरडीटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) किट पनि ल्याउन लागेको छ । यसको लागि खरिद प्रक्रिया सुरु भएको र शनिबारसम्म किट काठमाडौं आइपुग्ने रजिष्ट्रार काफ्लेले बताए ।

प्रतिष्ठानले जुम्ला, मुगु, कालीकोट र हुम्लामा पीसीआर तथा आरडीटी परीक्षणको जिम्मा लिएको छ । यी जिल्लामा ९/९ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली पनि पठाउन लागिएको रष्ट्रिार काफ्लेको भनाइ छ । ‘हामीले संघ र प्रदेश सरकारसँग पनि थप प्रयोगशाला सामग्री मागेका छौं,’ उनले भने, ‘ढिलो हुने भएकोले आफैले पनि खरिद सुरु गरेका हौं ।’ सोमबारदेखि पीसीआर परीक्षण सुरु भएको प्रतिष्ठानमा अहिले १ सय ७० वटा स्वाब परीक्षण गर्न सक्ने गरी किट स्टक रहेका उनले बताए ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षणको लागि स्वाब निकाल्दै स्वास्थ्यकर्मी । तस्बिर सौजन्य : विश्वराज काफ्ले

प्रयोगशाला सामग्रीको अभावमा सुर्खेतमा रहेका दुई वटा आरटी–पीसीआर मेसिन भने थन्किएका छन् । संघीय सरकारले पठाएको कम क्षमताको मेसिन वैशाख १२ गतेदेखि र प्रदेश सरकार आफैले ल्याएको ठूलो मेसिन मंगलबारदेखि थन्किएको हो । मंगलबारदेखि परीक्षणको लागि संकलित स्वाबको नमुना र प्रोसेसिङ किट सकिएपछि काम रोकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले बताए । उनका अनुसार प्रोसेसिङ किट नहुँदा बुधबार १८ वटा नमुना परीक्षणको लागि काठमाडौं पठाइएका छन् ।

प्रदेश सरकारले मेसिन खरिद गरेसँगै भीटीएम, प्रोसेसिङ किट र रि–एजेन्टजस्ता प्रयोगशाला सामग्री खरिद गर्न खोजेको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक विकास मन्त्रालयलाई प्रयोगशाला सामग्री खरिदको लागि निर्देशनसमेत दिइसकेका छन् । तर, सामान कसरी खरिद गर्ने भन्नेबारे अन्योलता देखिएको मन्त्रालयका निमित्त सचिव धर्मजीत शाहीले बताए । ‘केन्द्र सरकारसँग पनि सामान मागिरहेका छौं, कोरियामा रहेका केही सहयोगी दाताले पनि उपलव्ध गराउने बचन दिनुभएको छ,’ उनले भने, ‘हामीले खरिद गर्नुपरेको खण्डमा चाहिँ कसरी ल्याउने भन्ने अलमल भएको छ ।’

कोरोना भाइरस

कलेन्द्र

Link copied successfully