सुर्खेत — मुगुका एकजनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) पोजिटिभ देखिएको छ । लकडाउनअघि भारतबाट आएका खत्याड गाउँपालिकामा पर्ने खुमाले गाउँका ती व्यक्तिमा पोजिटिभ देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयकी निर्देशक रीता भण्डारीका अनुसार भारतबाट उनीसहित ५५ जनाको टोली गाउँमा पुगेको थियो । तिनीहरुको पनि आरडीटी परीक्षण गरिने उनले बताइन् । ‘सम्भव भएसम्म भोलि (शुक्रबार) नै सबैको आरडीटी गरेर पोजिटिभ देखिएका व्यक्तिको स्वाब संकलन गरि पीसीआर परीक्षण गरिनेछ,’ उनले भनिन्, ‘स्वाबको नमुना परीक्षणपछि मात्र कोरोना संक्रमण भए/नभएको थाहा हुनेछ ।’
मुगुका जिल्ला स्वास्थ्य प्रमुख डा. निर्मल नगरकोटीका अनुसार बिहीबारसम्म जिल्लाभर ९० जनाको आरडीटी परीक्षण गरिएको छ । आरडीटी पोजिटिभ भएका व्यक्तिमा कोरोना भाइरस रोग (कोभिड–१९)को लक्षण भने नदेखिएको उनले बताए ।
तैपनि ती व्यक्तिलाई खत्याडको प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसनमा राखिसकिएको उनले जानकारी दिए । परिवारका अन्य सदस्यको पनि आरटीडी गरेपछि शुक्रबार स्वाब संकलन गरिने डा. नगरकोटीले बताए ।
