रुकुम पश्चिम — अरु बेला सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेच्ने चामलामा कसैको ध्यान जाँदैन । त्यसैले बजार मूल्यभन्दा सस्तो भए पनि चामल गोदाममै थन्किने गर्थ्यो । लकडाउनले भने त्यो चामलको बिक्री उच्च भएको छ ।
सदरमुकाम खलंगाको सल्लेस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट सोमबारामात्र १ सय ७० क्विन्टल चामल बिक्री भयो । कार्यालयको रेकर्डअनुसार पछिल्लो १० वर्षमा एकै दिन यति धेरै चामल बिक्री भएको पहिलोपटक हो ।
जिल्लाका मुख्य बजार, स्थानीय तहका केन्द्र तथा स्थानीय तहका बजारहरु लकडाउनका कारण बन्द छन् । दाङबाट खाद्यान्न ढुवानी नभएको डेढ हप्ता भयो । अन्यत्र चामल नपाइने भएपछि कम्पनीको चामल बिक्री ह्वात्तै बढेको हो । बाँफिकोट र त्रिवेणी गाउँपालिका तथा मुसीकोट नगरपालिकाका तीन सहकारीले गाउँभर पुग्ने गरी उक्त चामल लिएका हुन् । बाँफिकोट गाउँपालिकाको झारमारे कृषि सहकारी, त्रिवेणी गाउँपालिकाको पेउघा साना किसान सहकारी तथा मुसीकोट नगरपालिकाको संरक्षण बहुद्देश्यीय सहकारी संस्थाले चामल लगेका छन् । त्यसैगरी व्यक्तिगत रुपमा आएका उपभोक्ताले पनि २० क्विन्टलसम्म चामल लगेका छन् ।
सरकारले लकडाउन लम्ब्याएपछि गाउँलेलाई वितरण गर्न सजिलो हुने भन्दै सहकारीहरुमार्फत एकमुष्ट चामल गाउँ लगिएको हो । यी तीनवटै सहकारीले यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चामल बिक्री वितरणको सम्झौता गरेका थिए । यो चामल गाउँमा पनि कम्पनीले तोकेकै मूल्यमा बिक्री हुन्छ । त्यसैले पनि सर्वसाधारणले एकमुष्ट चामल सहकारीलाई ल्याउन अनुरोध गरेर पठाएका बाँफीकोट गाउँपालिका उपाध्यक्ष मनकला पुनले बताइन् । ‘यसअघि पनि खाद्यको चामल सहकारीले सस्तो मूल्यमा सर्वसाधारणलाई बिक्री गर्ने गरेको थियो,’ उनले भनिन्, ‘लकडाउनका बेला अन्यत्र चामल नपाइने र सस्तो पनि हुने भएकाले सहकारीमार्फत चामल ल्याउन भनिएको हो ।’
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेच्ने चामलको मूल्य पनि घटेको छ । हरेक चामलमा प्रति क्विइन्टल १ सय देखि ३ सय रुपैयाँ घटेर चामल बिक्री भइरहेको कम्पनीको शाखा कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार यसअघि प्रतिक्विन्टल ४ हजार २ सयमा बिक्री हुने अरुवा मोटा चामल हाल ४ हजार, ४ हजार ६ सयमा बिक्री हुने अरुवा मन्सुली ४ हजार ४ सय र ५ हजार ७ सयमा प्रतिक्विन्टल बिक्री हुने जिरा मसिनो चामल हाल ५ हजार ६ सयमा बिक्री भइरहेको छ ।
चालु आर्थिक वर्षका लागि शाखा कार्यालयको कोटा एक हजार क्विन्टल हो । हालसम्म ७ सय १० क्विन्टल आएर पनि बिक्री भएको छ । चामलको कोटा सकिए पनि अरु थप्न सकिने निमित्त प्रमुख खड्काले बताए । सामान्य अवस्थामा समेत चामलको कोटा थपिने गरेकामा यस अवस्थामा चामलको अभाव हुन नदिने उनको भनाइ छ ।
कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउनुपर्ने भएकाले गोदाममा काम गर्नेलाई पनि व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको खड्काले बताए । विशेष गरी मास्क, ग्लोब्सको जरुरत भएको उनले बताए । मास्क र ग्लोब्स बजारमा सजिलै नपाएपछि समस्या भइरहेको उनले बताए । दैनिकजसो मान्छेको भीड हुने तथा नगद गणना गर्नुपर्ने भएकाले सुरक्षा सामग्रीको आवश्यक्ता देखिएको उनको भनाइ छ । सकेसम्म कम भीडभाड गराएर काम गरिरहेको खड्काले बताए ।
