कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘मास डिप्रेसन’ को डर

महामारी, प्राकृतिक प्रकोप बेलाबेला आउँछ, जान्छ । त्यसको असर मन, मस्तिस्क लामो समय रहिरहन्छ । यसमा बेलैमा ध्यान दिनुपर्छ । 
गोकर्ण गौतम

काठमाडौँ — विभिन्न अध्ययनको दाबी छ, ‘सन् २०३० पछि संसारका तीनमध्ये एक जना मनोपीडित हुन्छन् ।’ तर १० वर्षअगावै अर्थात् सन् २०२० मै संसारले यो नियति झेल्नुपर्ने देखिएको छ । कारण कोभिड–१९ को विश्वव्यापी आतंक । 

‘मास डिप्रेसन’ को डर

अमेरिकाको कोलम्बिया विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक युवल नेराई भन्छन्, ‘कोभिड–१९ महामारी मानसिक रूपमा कति दर्दनाक हुन्छ, यसै भन्न गाह्रो छ । तर यसअघिका कुनै पनि महामारीभन्दा यसले दीर्घकालसम्म आघात पार्नेछ ।’

महामारीले एक व्यक्ति वा परिवारलाई तनाव दिँदैन, समाज र राष्ट्रलाई नै चपेटामा पारेको छ । कोभिड–१९ ले पूरा विश्वमा हलचल मच्चाइदिएको छ । कोभिड–१९ को प्राविधिक नियन्त्रण वा समाप्तिपछि पनि त्यसले दिएका चोटहरूले मानव जातिलाई दीर्घकालसम्म संकटग्रस्त पारिदिने विज्ञहरूले चेतावनी दिएका छन् । र, त्यो आर्थिक र शारीरिकभन्दा मानसिक विचलन ज्यादा हुनेछ ।

डिसेम्बर अन्त्यतिर चीनको वुहानमा देखिएको यो भाइरस अहिले संसारभर फैलिएको छ। चीनपछि इटाली अनि अहिले अमेरिका चपेटाको केन्द्रमा छ।

शुक्रबारको तथ्यांकअनुसार यो भाइरसले ५३ हजार २ सयभन्दा धेरैको ज्यान लिइसकेको छ। १० लाख १५ हजार व्यक्ति संक्रमित छन्। सर्वशक्तिमान मानिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा मृत्यु हुनेको संख्या एक लाखमा रोक्न सकियो भने ‘उपलब्धि’ हुने बताइसकेका छन्।


बहुसंख्य मुलुक लकडाउन छन्। संसारको एकचौथाई जनसंख्या घरभित्रै थुनिएका छन्। होटल, विमानस्थल, कलेजदेखि हरेक प्रकारका कार्यस्थल बन्द छन्। संयुक्त राष्ट्रसंघले कोरोनालाई दोस्रो विश्वयुद्धयताकै सबैभन्दा खराब संकट भनेको छ। संसारले यसअघि सायदै यसरी सामूहिक आघातको सामना गरेको थियो।

चैत लागेपछि नेपालको जनजीवन पनि अस्तव्यस्त भयो । ११ गते सुरु भएको लकडाउन २५ गतेसम्म लम्बिएको छ । धन्न ! अहिलेसम्म हामीकहाँ संक्रमणले महामारीका रूप लिएको छैन ।

तैपनि अब के होला भन्ने बेचैनीबाट आम मानिस मुक्त हुन सकेका छैनन् । मनोविश्लेषक बासु आचार्य भन्छन्, ‘अहिले अन्य देशको तुलनामा भाइरसले निम्त्याउने मनोवैज्ञानिक तनाव हामीकहाँ कम हुन्छ । तर हामी बेलैमा सचेत भएनौं भने यसले लामो समयसम्म पिरोल्न सक्छ ।’

आचार्यका अनुसार कुनै महामारीपश्चात् आम मानिसमा देखा पर्ने मानसिक उल्झनलाई मनोविज्ञानको भाषामा अभिघातजन्य तनाव विकार भनिन्छ । कहिल्यै भोग्दै–नभोगेको, सोच्दै–नसोचेको विपत्ले मानिसलाई बेचैन बनाइदिन्छ । चिन्ता र घबराहट हुन्छ । दिक्क र नमज्जा लाग्छ । असहज र उकुसमुकुस हुन्छ । ‘भूकम्पपछि हामीकहाँ यस्तो विकार ह्वात्तै बढेको थियो,’ आचार्यले सुनाए, ‘मकहाँ परामर्श लिन आउनेमध्ये अधिकांशले भूकम्पपछि समस्या सुरु भएको भन्नुहुन्छ ।’

कोभिड–१९ महामारी मानसिक रूपमा कति दर्दनाक हुन्छ, यसै भन्न गाह्रो छ । तर यसअघिका कुनै पनि महामारीभन्दा यसले दीर्घकालसम्म आघात पार्नेछ ।– युवल नेराई, प्राध्यापक, कोलम्बिया विश्वविद्यालय

चीनमा सन् २००३ मा सार्सको आक्रमणपछि एकैपटक ठूलो समुदायमा डिप्रेसन देखिएको थियो । सेम्टेम्बर ११ को आतंककारी हमलाले अमेरिकामा त्यस्तै स्थिति पैदा भएको थियो । तर प्राध्यापक नेराई सेप्टेम्बर ११ को घटना र दोस्रो विश्वयुद्धपश्चात् छाएको नैराश्यसँग यसलाई तुलना गर्न चाहँदैनन् । उनी अहिलेको स्थितिलाई अझ भयावह देख्छन् । सीएनबीसीसँग नेराईले भनेका छन्, ‘त्यतिबेला निश्चित भूगोलभित्र मात्र त्रास थियो । अहिले सीमा नै छैन ।’

अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमितको संख्या न्यून छ । तर पनि मान्छे आत्तिइरहेका छन् । सामाजिक सञ्जालमा मनोवैज्ञानिक विचलन पोख्न थालेका छन् । भित्रै उकुसमुकुस हुने कति होलान् ! भाइरस निर्मूल हुने कुनै ठोस सकारात्मक संकेत देखिएको छैन । भोलि आइलाग्ने विषम परिस्थितिसँग सामना गर्ने आत्मबल पैदा हुनुको सट्टा हामी अहिल्यै आत्तिन थालेका छौं ।

कदाचित् कोभिड–१९ परास्त भएपछि मनोपीडाले छाडिहाल्दैन । योग तथा प्राकृतिक चिकित्साका विशेषज्ञ डा. हरिप्रसाद पोखरेल शरीरको समस्या मनतिर सर्दै जाने चिन्ता व्यक्त गर्छन् । ‘कोभिड–१९ ले अनेक प्रकारका मानसिक तनाव पैदा गर्न सक्छ । त्योसँग लड्न पनि हामी अहिल्यैबाट तयार हुनुपर्छ,’ उनले भने ।

भूकम्पले धनजनको क्षति गरे पनि बाहिरी मुलुकले हामीलाई सहयोग गरेका थिए र गर्छन् भन्ने विश्वास थियो । हामीकहाँ करिब घरैपिच्छे रेमिट्यान्स भित्रिन्छ, भूकम्पले त्यसलाई असर गरेको थिएन तर कोभिड–१९ ले त्यो बाटो पनि बन्द वा प्रभावित पारिदिन सक्छ । स्वदेशकै आर्थिक व्यवसाय तङ्ग्रिन केही समय लाग्छ । पर्यटन क्षेत्र ब्युँतिन समय लाग्छ । यिनै तनावले हाम्रो मनमा डेरा जमाउन थालेको छ ।

‘हामी यथार्थपरकभन्दा मनगढन्ते र नकारात्मक डरबाट प्रताडित भइरहेका छौं । त्यसको स्रोत सामाजिक सञ्जाल हो,’ मनोविश्लेषक आचार्यले भने, ‘कोभिड–१९ सम्बन्धी अनावश्यक र अतिरञ्जित सूचना हरपल पछ्याइरहँदा मान्छेमा त्रास जन्मिरहेको छ । त्यसको सन्तुलन आफैंले मिलाउनुपर्छ ।’

उनका अनुसार कोभिड–१९ को अन्त्यपछि पनि अधिकांशलाई ‘फेरि भाइरस फर्केर आउला, मलाई लाग्ला’ भन्ने भयले छाड्दैन । आफन्त टाढिएर आफू एक्लो भएको महसुस हुन सक्छ । संसारको सबैभन्दा दुःखी/पीडित मै हुँ भन्ने भाव जन्मन्छ । आफू बेकामे भएको, आशा र क्षमता नभएको भान हुन्छ । रुन मन लाग्छ । काम गर्ने जागर हराउँछ । आचार्य भन्छन्, ‘तर आफूमा समस्या भएको स्वयं व्यक्तिलाई थाहा नहुन सक्छ । भूकम्पपछि मैले यस्ता धेरै मान्छे भेटेको छु । जसलाई किन दुः खीभएँ भन्ने कारण नै थाहा हुन्न ।’

‘तनाव हटाउन सामाजिक सञ्‍जाल कम प्रयोग गर्नुस्’

मनोपरामर्श, पारिवारिक प्रेम, सामाजिक साथ र पीडितको बुद्धिमा निखारता आउन सक्यो भने डिप्रेसनबाट उम्किन सकिन्छ । यति गर्दा पनि भएन भने औषधि सेवन गर्नुपर्छ ।

यो उपचारको केन्द्रमा चाहिं पारिवारिक प्रेम हुने विज्ञहरू बताउँछन् । जस्तो– अहिले लकडाउनमा परिवार साथमा हुँदा आपसमा जतिसक्दो धेरै कुराकानी गर्नुपर्छ । आफ्नो र परिवारको सदस्यको व्यवहार नियाल्नुपर्छ । मनमा बह हुन सक्छ, त्यसलाई फुकाउने माहोल बनाइदिनुपर्छ । खुल्न नचाहनेलाई भावनात्मक तरिकाले सहज बनाइदिनुपर्छ । सिर्जनशील काममा तल्लीन हुनुपर्छ । सहन सक्ने क्षमता विकास गर्नुपर्छ । मनोविश्लेषक आचार्यका अनुसार परिवारको कुनै एक सदस्यले मात्र यति कुरा ख्याल गरिदिने र त्यहीअनुरूप अरूलाई साथ/परामर्श दिने गरे धेरै प्रभावकारी हुन्छ । पीडा घरमै मत्थर भइदिन्छ ।

‘अहिले हामी घरमै बसेर रमाऔं, पारिवारिक प्रेम बढाऔं । यो समयमा एकदम मज्जा लुटौं, ताकि भोलि जस्तोसुकै परिस्थिति आए पनि सामूहिक प्रतिरोध गर्ने आँट विकास होस् ।’

परिवारपछि सामाजिक आत्मीयताले व्यक्तिमा आत्मबल विकास हुन्छ तर हाम्रो सन्दर्भमा मनोपीडा बढाउन समाजकै हात हुने आचार्यको दाबी छ । भन्छन्, ‘व्यवहारमा हल्का परिवर्तन देखिनासाथ अरूले खुस्केको, पागल भनिदिन्छन् । हाँसोको पात्र बनाइदिन्छन् । यो प्रवृत्तिले पीडितलाई थप पीडाको भुंग्रोमा हालिदिन्छ ।’ कोभिड–१९ पछि मान्छेमा मानवीयता उकालो लाग्ने अनुमान गरिएकाले रुखो व्यवहारमा गिरावट आउने अपेक्षा भने गर्न सकिन्छ ।

अनि आउँछ, राज्यको अभिभावकत्व

मलाई संकट पर्दा राज्यले हेर्छ भन्ने विश्वास पैदा हुँदा मानसिक विचलनमा कमी आउने मनोविद्हरूको भनाइ छ । नेपालमा सरकारले दैनिक ज्यालादारी मजदुरका लागि राहत दिने, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गर्ने, औपचारिक क्षेत्रका श्रमिकका लागि रोजगारदाताले पारिश्रमिक उपलब्ध गराउने लगायतका घोषणा गरिसकेको छ ।

सरकारी राहत सकारात्मक तर अपर्याप्त भएको आवाज उठिरहेको छ । उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई खर्ब डलरको आपतकालीन आर्थिक प्याकेज घोषणा गरे । आर्थिक संकटबाट पिल्सिएका अमेरिकीलाई यो राहत कार्यक्रमले मनोवैज्ञानिक रूपमा सक्षम बनाउने अपेक्षा छ ।

न्युयोर्कमा कोभिड–१९ नियन्त्रण नहुँदै मानसिक परामर्श सुरु भएको छ । त्यहाँका गर्भनर एन्ड्री क्युमोले छ हजार कर्मचारी नियुक्ति गरेका छन् । उनीहरू मनोवैज्ञानिक उपचारका लागि चौबिसै घण्टा निःशुल्क खटिरहेका छन् ।

यो महामारीका कारण जसको रोजगारी खोसिनेछ, जसले आफन्त गुमाउनेछन्, जो संक्रमणपछि ‘रिकभर’ हुनेछन्, उनीहरू मानसिक रूपमा कमजोर हुन्छन् ।

अझ पहिल्यैबाट डिप्रेसन वा अन्य खालका समस्या हुने त झन् खतरामा पर्नेछन् । प्रकोपले निम्त्याउने मानसिक स्वास्थ्यसम्बन्धी अध्येता एलेना न्युम्यान भन्छिन्, ‘हामीले आम महामारीको अध्ययनपछि के अनुभव गरेका छौं भने जसले आफन्त गुमाएको हुन्छ वा आर्थिक कठिनाइ भोग्नुपर्छ, उनीहरू सामान्य दिनचर्यामा फर्कन निकै मुस्किल पर्छ ।’

अहिलेका लागि चाहिँ कोभिड–१९ बाट जोगिनु नै सबथोक हो । संकटलाई सामना गरेपछि बेग्लै ऊर्जा आउन सक्छ । पेसा/व्यवसायका नयाँ सम्भावना जन्मन सक्छन् । आचार्यको सुझाव छ, ‘अहिले हामी घरमै बसेर रमाऔं, पारिवारिक प्रेम बढाऔं । यो समयमा एकदम मज्जा लुटौं, ताकि भोलि जस्तोसुकै परिस्थिति आए पनि सामूहिक प्रतिरोध गर्ने आँट विकास होस् ।’

प्रकाशित : चैत्र २१, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?