‘थर्ड ह्यान्ड स्मोकिङ’ को जोखिम
काठमाडौँ — धूमपानले प्रत्यक्ष सेवनकर्तालाई मात्रै असर गर्दैन, नजिकै बस्ने अन्य व्यक्तिलाई ‘निष्क्रिय धूमपान’ अर्थात् ‘सेकेन्ड ह्यान्ड स्मोक’ को माध्यमले हानि पुर्याइरहेको हुन्छ । हालैको एक अनुसन्धानले धूमपानले प्रत्यक्ष सेवनकर्ता र नजिकै बसेका व्यक्तिलाई मात्रै नभई अन्य व्यक्तिलाई समेत ‘थर्ड ह्यान्ड स्मोक’ का रूपमा जोखिम हुने देखाएको छ ।
सुर्तीजन्य पदार्थको धुवाँले फर्निचर, घर, कार्पेट, छत, पर्खाल, टायल, खेलौना, लुगाफाटोलगायत जुनसुकै सतहमा टाँस्सिने निकोटिनलगायत अन्य रसायन र विषाक्त पदार्थको सम्पर्कमा आउनुलाई थर्ड ह्यान्ड स्मोकिङ भनिन्छ । थर्ड ह्यान्ड स्मोक धूमपानको अवशेष हो । अझ यो प्रक्रियालाई राम्ररी केलाउने हो भने थर्ड ह्यान्ड स्मोकिङ ‘निकोटिन’ को त्यस्तो अवशेष हो जो विभिन्न सतहमा टाँस्सिएर रहन्छ । यो प्रदूषक धुलोको माध्यमले पुनः हावामा फैलिएपछि व्यक्तिले आफ्नो श्वासप्रश्वासको माध्यमबाट फोक्सोभित्र तान्छ र यसले मानिसलाई असर गर्छ ।
धूमपान गर्ने व्यक्तिको घरलाई सफा गर्दासमेत त्यहाँ भएको धेरैजसो थर्ड ह्यान्ड स्मोक बसिरहेको हुन्छ । यसको अवशेष वर्षौंसम्म रहन सक्छ । अमेरिकन लङ एसोसिएसनका अनुसार थर्ड ह्यान्ड स्मोकको माध्यमले विभिन्न सतह र धुलोमा टाँस्सिएका रसायन ग्यासको अवस्थामा पुनः निस्किन सक्छन् । पुनः निस्किएपछि यसले वातावरणमा भएको अन्य रसायनसँग प्रतिक्रिया गरेर नयाँ रसायन बनाउन सक्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार धूमपानको धुवाँमा करिब ७ हजारभन्दा बढी रसायन हुन्छन् । जसमध्ये न्यूनतम २ सय ५० हानिकारक छन् भने ६९ वटा क्यान्सर उत्पन्न गराउने खालका छन् ।
सुर्ती बल्दा यसबाट बाफको रूपमा निस्किने निकोटिनलगायतका अन्य रसायन, विषाक्त पदार्थ, घरको पर्खाल, कार्पेट, फर्निचर, लुगाफाटोलगायतका विभिन्न सतमा टाँसिन्छ । विभिन्न चिजमा टाँस्सिएको धूमपानको धुवाँ रसायनिक प्रतिक्रिया भई समयसँगै झन् बढी खतरनाक हुन्छ । यसले क्यान्सरलगायत विभिन्न रोग उत्पन्न गर्न सक्छ । कोठाको झ्याल, ढोका खोलेर, पंखा वा एयर कन्डिसनरलगायतका वस्तु चलाएर, घरको सीमित ठाउँमा मात्र चुरोट तानेर पनि ‘थर्ड ह्यान्ड स्मोक’ बाट मुक्ति पाइँदैन । खुला झ्याल अगाडि उभिएर धूमपान गर्नुले पनि यसको असरबाट बच्न सकिन्न ।
‘यो थर्ड ह्यान्ड स्मोकले विभिन्न जटिल स्वास्थ्य समस्यासँगै क्यान्सरसमेत उत्पन्न गर्न सक्छ’, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका सिनियर कन्सलटेन्ट चेस्ट फिजिसियन डा.नवीनप्रकाश शाह भन्छन्, ‘हाल सेकेन्ड ह्यान्ड स्मोकको दुष्प्रभावबारे मुलुकमा केही चेतना देखिए पनि सर्वसाधारणलाई थर्ड ह्यान्ड स्मोकको खतराबारे थाहा नै छैन भने पनि हुन्छ ।’ सेकेन्ड ह्यान्ड स्मोकिङ कुनै व्यक्तिले चुरोट खाइरहँदासम्म मात्र हुने भए पनि थर्ड ह्यान्ड स्मोकिङको प्रक्रिया भने महिनौं वा वर्षौंसम्म जारी रहन सक्ने डा.शाह औल्याउँछन् । आफूले धूमपान नगरे पनि सेकेन्ड ह्यान्ड स्मोक अर्थात् निष्क्रिय धूमपानले चुरोट खानु जतिकै असर पार्ने कुरा विस्तारै जनस्तरमा पुगेको छ । तर थर्ड ह्यान्ड स्मोकले समेत श्वासप्रश्वासलगायत समग्र स्वास्थ्यमा अत्यन्त नकारात्मक असर पार्नेबारे जनचेतनाको अभाव छ ।
‘सेकेन्ड ह्यान्ड र थर्ड ह्यान्ड स्मोकअन्तर्गत वातावरणमा आउने रसायनमध्ये करिब एक सय रसायन धेरै खतरनाक रहनुको साथै ७० भन्दा बढी रसायनले क्यान्सरसमेत गराउन सक्ने औंल्याउँदै डा.शाह भन्छन्, ‘धूमपानका अम्मलीहरूको कारण धेरै मानिसमा क्यान्सरलगायतका विभिन्न स्वास्थ्य जटिलताको रूपमा नखाएको विष लाग्दै छ ।’
यसैले धूमपान गर्दाताका सँगै बस्नु मात्रै खतरनाक नभई उनीहरूले चुरोट खाने स्थानमा रहँदासमेत जोखिम हुने कुरा बिर्सनुहुन्न । हालसम्म गरिएका विभिन्न अध्ययनका अनुसार, थर्ड ह्यान्ड स्मोकले फस्ट ह्यान्ड स्मोकजस्तै ज्यान लिन्छ ।
थर्ड ह्यान्ड स्मोकको नकारात्मक प्रभाव शरीरको विकास भइरहेका बालबालिका र युवामा बढी पर्ने गरेको छ । थर्ड ह्यान्ड स्मोकसँगको निरन्तर सम्पर्कले उमेर ढल्दै जादाँ क्यान्सर हुने उच्च जोखिम हुन्छ ।
यसले फोक्सोको क्यान्सर हुने, बढी जोखिम भए पनि यसले पिसाबको थैलो, पाठेघरको मुख, मृगौला, मुख, प्याक्रियाज (पचाउने थैली), घाँटीलगायतका अन्य अंगको क्यान्सरसमेत हुने जोखिम हुन्छ । थर्ड ह्यान्ड स्मोकले धेरै रोग एवं संक्रमण गराउन सक्छ । यसको धेरै असर फोक्सो र कलेजोमा पर्छ ।
प्रभाव
थर्ड ह्यान्ड स्मोकिङले ती व्यक्तिलाई बढी प्रभावित गर्छ जो होटल, कारलगायतका वाहन वा लामो समयसम्म धूमपान गर्नेबाट उपयोग गरिएका सामानसँग समय बिताउने गर्छन् ।
विशेषज्ञहरूका अनुसार, थर्ड ह्यान्ड स्मोकले बामे सर्ने बच्चा, शिशु र बालबालिकालाई अन्य व्यक्तिको दाँजोमा बढी प्रभावित पार्छ । सधैं हरेक चिज वस्तुलाई छोइराख्ने र मुखमा हालिराख्ने भएकाले उनीहरूले अन्य व्यक्तिको दाँजोमा यस्ता हानिकारक पदार्थ बढी मात्रामा निल्ने गर्छन् ।
यस्तै उनीहरूले श्वासप्रश्वासको माध्यमले यस्तो विषाक्त पदार्थ करिब ४० गुणा बढी फोक्सोभित्र तान्ने गरेको बताइन्छ । यति मात्रै नभई भुइँमा खेल्ने बालबालिकामा पनि छालाको माध्यमले विषाक्त पदार्थ बढी मात्रामा प्रवाह भइरहेको हुन्छ । विकसित हुने क्रममा रहेको प्रतिरक्षा प्रणालीले गर्दा पनि उनीहरू थर्ड ह्यान्ड स्मोकको दुष्प्रभाववाट बढी प्रभावित हुन्छन् ।
भ्रुणमा असर
थर्ड ह्यान्ड स्मोकद्वारा उत्सर्जित रसायनलगायतका विषाक्त पदार्थ गर्भवतीको सम्पर्कमा आउँदा रगत प्रवाहको माध्यमले भ्रुणमा समेत असर पुग्न सक्छ । प्रत्यक्ष धूमपान र सेकेन्ड ह्यान्ड मात्र नभइ थर्ड ह्यान्ड स्मोकसमेत पेटमा विकसित भइरहेको शिशुका लागि हानिकारक रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
थर्ड ह्यान्ड स्मोकले पेटमा रहेको शिशुको फोक्सो विकासमा नराम्रो प्रभाव पार्न सक्ने बताउँदै डा.शाह भन्छन्, ‘यसको परिणामस्वरूप शिशुको जन्मपछि श्वासप्रश्वाससम्बन्धी समस्या हुन सक्छ ।’
गर्भावस्थामा हुने थर्ड ह्यान्ड स्मोकले जन्मेको एक वर्षभित्र सुतिरहेकै अवस्थामा अचानक हुने मृत्युको जोखिमसमेत बढाउँछ ।
यति मात्र नभएर गर्भावस्थामा धूमपानसँगको अत्यधिक सम्पर्कले गर्दा शिशुमा जन्मजात विकार, बौद्घिक असामान्यता, व्यवहारसम्बन्धी समस्यासमेत देखिन सक्छ ।
अध्ययनहरूले गर्भावस्थामा धूमपानको सम्पर्कमा आउने आमाबाट जन्मेका सन्तानमा मस्तिष्कको कोषिका, स्नायु प्रणाली र शरीरको प्रतिरक्षा प्रणालीमा नकारात्मक असर पार्न सक्ने देखाएका छन् ।
विभिन्न अनुसन्धानमा यतिसम्म उल्लेख छ कि गर्भावस्थामा निष्क्रिय धूमपानको सम्पर्कमा आउने आमाका सन्तान भविष्यमा सुर्तीजन्य विभिन्न उत्पादन प्रयोगमा समेत संलग्न हुने सम्भावना बढी रहन्छ । स्वस्थ सन्तान जन्माउन गर्भावस्थामा सक्रिय मात्र नभई निष्क्रिय धूमपानको कुनै पनि जोखिमबाट बच्नुपर्छ ।
जिनमा परिवर्तन
एक अध्ययनको दाबीअनुसार थर्ड ह्यान्ड स्मोकले कुनै पनि व्यक्तिको श्वासप्रश्वाससम्बन्धी स्वास्थ्यलाई प्रभावित पार्न सक्छ । जिनको एक्सप्रेसनमा हुने परिवर्तन यसको कारण हुन सक्छ । यो अध्ययन ‘जामा’ मा प्रकाशित छ । अध्ययनअनुसार थर्ड ह्यान्ड स्मोकले श्वासप्रश्वास प्रणालीको इपिथेलियल कोषिकालाई हानि पुर्याउन सक्छ ।
अध्ययनमा २७ देखि ४९ वर्षका ४ जना धूमपान नगर्ने स्वस्थ महिलाको ‘नेजेल स्क्रेप्स’, लाई बिनाकुनै क्रमको स्वच्छ हावाको सम्पर्कमा राखेर त्यसपछि तीन घण्टा सेकेन्ड ह्यान्ड स्मोकको सम्पर्कमा राखियो । अनुसन्धानअन्तर्गत आरएनए (राइबो न्युक्लिक एसिड) को जिन एक्सप्रेसनमा परिवर्तनको जाँचअन्तर्गत त्यसको आरएनए लिइयो ।
अध्ययनअनुसार ‘डाटा सेट’ मा १० हजार जिनमध्ये जम्मा ३ सय ८२ जिनमा महत्त्वपूर्ण रूपले बढी परिवर्तन र ७ जिनमा कम परिवर्तन देखियो ।
बर्सेनि १२ लाखको मृत्यु
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार सुर्तीजन्य पदार्थ सेवनकर्तामध्ये आधाको मृत्युको कारक हो । बर्सेनि करिब ८० लाखभन्दा बढी व्यक्तिको मृत्यु धूमपानबाट हुने गरेको छ । जसमध्ये ७० लाखभन्दा बढी मृत्यु प्रत्यक्ष धूमपानले हुन्छ भने धूमपान नगर्ने करिब १२ लाख जति मृत्यु निष्क्रिय धूमपानको सर्म्कमा आएर हुन्छ ।
घरपालुवासमेत प्रभावित
अमेरिकास्थित फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनका अनुसार सेकेन्ड र थर्ड ह्यान्ड स्मोकले मानिस मात्र नभई कुकुर, बिरालोलगायत घरपालुवा जनावरसमेत बिरामी पर्न सक्छन् । कार्पेट, फर्स, सतह आदिमा टाँस्सिएर बसेको धूमपानको अवशेषमा घरपालुवा जनावरले बढी समय व्यतीत गर्ने, जीउ दल्ने, चाट्ने आदि गर्ने हुनाले बढी प्रभावित हुने गरेका हुन् ।
तमाखुको धुवाँले गर्दा केही कुकुरमा नाक वा फोक्सोको क्यान्सरको जोखिम देखिएको छ । एक प्याकेटभन्दा बढी चुरोट खानेले पालेको बिरालोमा ‘लिम्फोमा’ प्रतिरक्षा प्रणाली’ को क्यान्सर हुने सम्भावना तेब्बर हुन्छ ।
एफडीएको अनुसार सुर्तीजन्य पदार्थको धुवाँले घरपालुवा चराहरू, गिनी पिग (मुसा) मात्र नभई एक्बेरियममा पालिएका माछालाई समेत खतरामा पार्न सक्छ ।