एमाले गण्डकी प्रदेश कमिटीको आइतबार सम्पन्न बैठकले लामाको सदस्यता निलम्बन गर्ने निर्णय गरेको हो । उनी प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य हुन् ।
कास्की — पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गासँग सम्बन्धित घुस लेनदेनमा संलग्न बिचौलिया सुजन लामासहित दुई जनालाई एमालेले निलम्बन गरेको छ ।
एमाले गण्डकी प्रदेश कमिटीको आइतबार सम्पन्न बैठकले लामाको सदस्यता निलम्बन गर्ने निर्णय गरेको हो । उनी प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य हुन् ।
पार्टी प्रदेश उद्योग विभाग सदस्य के. गिरी (कपिल) लाई पनि निलम्बन गरिएको छ । पोखरा महानगरपालिकामा कार्यरत गिरी गत वर्ष चैतमा घुससहित पक्राउ परेका थिए ।
दुवैको नाम विवादित विषयसँग जोडिएकाले सफाइ नपाउँदासम्म अनुशासनको कारबाही स्वरुप निलम्बन गरिएको एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले बताए । `हामीले निलम्बन यति समय भनेर तोकेका छैनौं । एक जनाको विषय न्यायिक निकायमा गइसकेको छ । दुवैले सफाइ नपाउँदासम्म निलम्बन गरिएको हो,´ उनले भने ।
एमालेकै प्रदेश कमिटी सदस्य खेम पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन बिचौलिया लामाले तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग आर्थिक लेनदेनको प्रस्ताव राखेका थिए ।
एमालेको विधानको धारा ८१ ले विधानको व्यवस्था उल्लंघन गर्ने पदाधिकारी र सदस्यलाई प्रकृति र परिणाम हेरी सम्बन्धित कमिटी/निकायले आत्मालोचना गराउने, चेतावनी दिने वा पदबाट निष्कासन गर्न सकिने व्यवस्था गरेको छ ।
एमाले प्रदेश कमिटी र सल्लाहकार परिषद्ले लामालाई स्पष्टीकरण सोधेको थियो । उनले उक्त अडियो एआईको प्रयोग गरेर बनाइएको दाबी गरेका छन् । गिरीविरुद्ध मुद्दा चलिसकेकाले पार्टीले स्पष्टीकरण नसोधी सिधै निलम्बन गरेको हो ।
