वर्खामा पहिरो नियन्त्रणकै चुनौती

असार २५, २०८०

प्रकाश बराल

बागलुङ — बागलुङको मालढुंगादेखि कुश्मीसेरा जाने सडकमा पर्ने दब्ल्याङको पहिरोमा नियमित सवारी चलाउन पायल्स फाउण्डेसनसहितका १० थरी संरचना बनाउनुपर्ने विज्ञ टोलीले निष्कर्ष निकालेको छ ।

गण्डकी प्रदेश सरकारले पहिरोको अध्ययनका लागि पठाएको ‘एक्सल्पोरर जियोलोजिकल कन्सल्टेन्सी’को ९ सदस्यीय टोलीले दुई साता लामो अध्ययनपछि पहिरो नियन्त्रणका लागि कम्तीमा साढे ५ करोड खर्चसमेत लाग्ने प्रारम्भिक प्रतिवेदन बनाएको हो ।

तीन वर्षअघि खसेको पहिरोले यो सडकको ७ सय ५० मिटर लामो, १ सय ५० मिटर चौडा पहिरो खसेको छ । यो पहिरोले मालढुंगा कुश्मीसेरा सडक र कालीगण्डकी करिडोरसमेत पटकपटक अवरुद्ध हुँदै आएको छ । मर्मतका लागि लाखौं खर्च गर्दा पनि सम्भव नभएपछि वैशाख अन्तिम साता र जेठ पहिलो साता गरिएको अध्ययनपछि २७ वटा पायल्स फाउन्डेसन बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

त्यसबाहेक पानीको श्रोत व्यस्थापनका लागि नजिकका दुईवटा खोल्लासम्म नाली निर्माण गर्ने, पक्की पर्खाल निर्माण, बायो इन्जिनियरिङ लगायतका संरचना बनाइने भएको हो । ‘पहिलो चरणमा पानीको नियन्त्रण गरेपछि मात्र अरु काम गर्न सकिन्छ’ अध्ययन टोलीका सदस्य उमेशचन्द्र भुषालले भने, ‘यो काम सजिलो छैन, तर स्थानीयको सहमति भयो भने यही वर्षातमा क्षति न्यूनिकरण गर्न सकिन्छ ।’ दक्षिण बागलुङ जाने मुख्य नाका, कालीगण्डकी करिडोरबाट गुल्मी र पाल्पासम्म पुग्ने सडकसमेत पटकपटक अवरुद्ध हुने अवस्था जोगाउन विज्ञ टोलीले अध्ययन गरेर निर्माणका काम थाल्न सुझाएको उनले बताए ।

सरकारी निकायबाट ठेक्कापट्टा लगाएर निर्माण गर्न ढीला हुने भएकोले पानीको श्रोत व्यवस्थापनमा बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले तत्काल नाली निर्माण गरेर पानी तर्काउने काम थाल्नेछन् । यो कामले वर्षातमा सडक अवरुद्ध हुने अवस्था रोकिने बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । तीन वर्षदेखि स्थानीयले सडकमा सास्ती खेपेका छन् । हिउँदमा पनि पहिरो खसेर सडक अवरुद्ध हुँदा बिरामी बोकेका एम्बुलेन्स समेत रोकिएका थिए । उपचारका लागि ल्याइएका बिरामी अलपत्र पर्दा रातारात डोजर लगाएर बाटो खुलाउनु परेको श्रेष्ठले बताए ।

‘बाटो खुलाए पनि जतिबेला पनि जोखिम भएको छ,’ उनले भने, ‘समयमै रोकथाम गर्न नसकेमा अर्बौं रकम खर्च हुनेछ ।’ सडकको ट्र्याक खोल्ने स्थानसमेत नरहने गरी पहिरो खस्ने खतरा भएपछि नगरपालिका र अन्य जनप्रतिनिधिले मुख्यमन्त्री सुरेन्द्र पाण्डेको समेत ध्यानाकर्षण गराएका थिए ।

पाण्डेले स्थलगत भ्रमण गरेपछि पहिरो खोल्न भौगार्भिक अध्ययनका लागि टोली पठाएका थिए । उक्त टोलीले उक्त पहिरोको भिडियो एक्सरे समेत गरेको थियो । पहिरोले यहाँको झण्डै २ सय रोपनी जमिन बगिसकेको छ भने अझै ५ सय रोपनी जमिन बग्नसक्ने खतरा छ । दर्जनभन्दा बढी घरमा जोखिम भएको छ भने आधा दर्जन घर विस्थापित भइसकेका छन् ।

पहिरो नियन्त्रणका लागि चाहिने बजेट व्यवस्थाका लागि दुवै नगरपालिका र सांसदले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् । ‘गुल्मी जोड्ने रणनीतिक सडक भएकोले अहिलेसम्म ८५ करोड खर्च भइसकेको छ, समयमै पहिरो नियन्त्रण नगरे सडकको औचित्य पनि सकिन्छ,’ गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले भने, ‘पहिरो नियन्त्रण गर्दा पर्यटकीय भकुण्डेको प्रवर्द्धनमा पनि सहयोग पुग्छ ।’ कालीगण्डकी करिडोर कालोपत्रे गर्ने तयारी भइरहेको छ । करिडोर कालोपत्रे भैसके पनि यो पहिरोले नियन्त्रण गर्न नसके जोखिम बढ्ने र निरन्तर सडक अवरुद्ध हुने अवस्था रहनेछ ।

बाढीपहिरो

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully