प्रचारमा अन्तिम कसरत

मंसिर १, २०७९

कान्तिपुर संवाददाता

गोरखा — निर्वाचनको दिन नजिकिँदै जाँदा विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदवारहरू प्रचारको अन्तिम कसरतमा जुटेका छन् । प्रचारप्रसारको अवधि एक दिन मात्र बाँकी रहँदा मतदाता रिझाउने अन्तिम कसरतको दौडधुप बढेको हो । यहाँ दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा ४९ उम्मेदवार छन् । 

उम्मेदवारहरू बुधबार दिनभर घरदैलो र कोणसभामा व्यस्त देखिन्थे । मंसिर १ को मध्यरातबाट प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आयोगले मतदान हुनुभन्दा ४८ घण्टाअघिको अवधि स्थिर समय रहने निर्वाचन आयोगले जनाएको छ ।

गोरखा क्षेत्र नं. १ का सत्ता गठबन्धनका उम्मेदवार घरदैलोसँगै टोल केन्द्रित कोणसभामा व्यस्त छन् । प्रतिनिधिसभा गोरखा–१ मा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईं र माओवादी केन्द्रको १(१) का प्रदेशसभा उम्मेदवार कृष्ण धिताल बुधबार दिनभर गोरखा नगरपालिकाको बजार क्षेत्रमा व्यस्त बने । एमालेका उम्मेदवार रामशरण बस्नेत पनि दर्जन बढी चुनावी भेटघाट र घरदैलोमा व्यस्त छन् ।

मतदातालाई आफ्ना एजेन्डा सुनाउन र चुनावी रणनिति वनाउन उम्मदेवार लागिपरेका हुन् । सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा गोरखा क्षेत्र नं. २ का उम्मेदवार पुष्पकमल दाहालसहितको शीर्ष नेताको उपस्थितिमा सत्तारूढ गठबन्धनले कात्तिक २८ मा पालुङटारमा सभा गरिसकेको छ । अहिले गठबन्धन दलका नेता/कार्यकर्ता टोलस्तरीय भेटघाटमा व्यस्त छन् ।

गठबन्धनले घरदैलोलाई तीव्रता दिएको माओवादी केन्द्रका नेता तथा निर्वाचन क्षेत्र नं. २ का निर्वाचन संयोजक परशुराम रम्तेलले बताए । ‘प्रचारप्रसारको अवधि सकिँदै छ, चुनावी माहोल तातेको छ,’ उनले भने, ‘अहिले गठबन्धन दलका नेता/कार्यकर्ता घरदैलो, जनस्तरमा भेटघाट, मतदाता शिक्षा लगायतको प्रचारमा तीव्रता दिएका छौँ ।’ गठबन्धनका तर्फबाट क्षेत्र नं. २ का उम्मेदवार दाहाल देशका विभिन्न क्षेत्रका सभालाई सम्बोधनका लागि पुग्दा कार्यकर्ता भने उनलाई मत माग्न घरदैलोमा छन् । 

गोरखा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार अब्दुस मियाँ पनि दौडधुपमा छन् । बुधबार उनी दिनभर सिरानचोक क्षेत्रका मतदाता भेटघाटमा व्यस्त रहे । यसअघिको प्रचार अवधिमा नपुगेको टोलमा दुई दिनको अवधिमा पुग्ने एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य हरि भट्टले बताए । ‘बुधबार दिउँसोसम्म ८/१० वटा टोलमा पुग्यौं,’ उनले भने, ‘प्रचारको अवधि १ दिनमात्र बाँकी छ, दौडधुप बढेको छ, सबै वडामा पुग्ने हाम्रो योजनाअनुसार बाँकी वडामा केन्द्रित बनेका छौं ।’

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully