जितको प्रयासमा जितबहादुर

मंसिर १, २०७९

प्रकाश बराल

बागलुङ — पाँच वर्षमा उनले दुई वटा चुनाव लडिसके । वाम गठबन्धनका कारण दुवै चुनाव हारे । तर पनि हार मानेका छैनन् । बरु तेस्रो पटक पनि चुनावमा होमिएका छन् । यस पटक भने नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनको यो तेस्रो चुनावी लडाइँ हो । २०७४ को निर्वाचनमा बागलुङ क्षेत्र नं २ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार उनी एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको वाम गठबन्धनका टेकबहादुर घर्तीसँग हारेका थिए । 

घर्तीको निधनपछिको उपनिर्वाचनमा पुनः शेरचन वाम गठबन्धनकै उम्मेदवार राजमोका खिमविक्रम शाहीसँग झिनो मतान्तरमा हारे । त्यसपछि कांग्रेसको चौधौं महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर महाधिवेशन प्रतिनिधि बनेका शेरचनले पार्टी सभापतिसमेत हात पारे । यस पटक शेरचनले प्रदेश क्षेत्र फेरेका छन् । क्षेत्र नं २ (१) मा कांग्रेस प्रत्याशी हुँदा एमालेको उम्मेदवार छैनन् । माओवादीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश घर्ती शेरचनका प्रतिस्पर्धी हुन् । यो क्षेत्रमा घर्ती र शेरचनबाहेक अरू पार्टी र स्वतन्त्र उम्मेदवार नभएकाले दुई वटा चिह्नमा मात्रै मतदान हुँदै छ ।

गत स्थानीय निर्वाचनमा घर्तीले माओवादीकै धनबहादुर विकविरुद्ध बागी उमेदवारी दिएका थिए । निर्वाचन जित्न सकेनन्, तर राम्रो मत पाए । त्यसपछि हौसिएका घर्तीले प्रदेशसभाका लागि उम्मेदवारी दिएका हुन् । क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट माओवादीका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल उम्मेदवार छन् । 

प्रदेशसभा दुईवटै कांग्रेसले पाएको छ । शेरचनले दुई पटक हार व्यहोरेको क्षेत्र नं २ (२) मा कांग्रेसका द्रोण कुँवर उम्मेदवार छन् भने २ (१) मा शेरचन उठेका हुन् । यो क्षेत्रको ३ वटा पालिकामध्ये गलकोट नगरपालिका र बडिगाड गाउँपालिका कांग्रेसले जितेको छ । ताराखोला गाउँपालिका माओवादीले जितेको हो । ‘सबै पालिकामा गठबन्धनको बहुमत छ, त्यसैले मत ट्रान्सफरमा पनि समस्या छैन, अब निर्वाचन जित्न सजिलो छ,’ उक्त प्रदेशका कांग्रेस सभापति तिलक घर्ती मगरले भने, ‘अब गठबन्धन धेरै अगाडि पुगिसकेको छ ।’ एमालेको आफ्नै उममेदवार नभएको र स्वतन्त्रलाई साथ दिने भनेकाले सबै मत पर्ने सम्भावना पनि नरहेको उनले बताए । एमालेले भने माओवादी मत काट्न विद्रोहीलाई साथ दिएको देखिन्छ । 

‘एमालेको मत तुलनात्मक रूपमा कमजोर भएकाले माओवादीकै नेतालाई अगाडि सारिएको हो,’ एमालेका नेता डम्बर श्रीषले भने, ‘लोकप्रिय उम्मेदवारलाई साथ दिएकाले जित्ने सम्भावना बढी छ ।’ घर्तीका आलोचकले भने पटकपटक स्वतन्त्र उम्मेदवारी दिनेलाई अवसरवादीको संज्ञा दिएका छन् । घर्तीले भने काम गरेर देखाउन उम्मेदवारी दिएको बताए । 

शेरचनले यो पटक आफ्नो तेस्रो लडाइँ भएकाले सहानुभूति, संगठनात्मक मत र गठबन्धनको साथले जित्ने दाबी गरे । ‘मैले प्रमुख भएर काम गरेका संस्थाहरूको प्रगति, चुस्तता हेरेर जनताले मत दिन्छन्,’ उनले भने, ‘कतिपय योजनासमेत अगाडि सारेको सबैले देखेका छन्, त्यो पूरा गर्न पनि सबैले मत दिने आश्वासन दिएका छन् ।’

आमनिर्वाचन २०७९

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully