म्याग्दी — आसन्न स्थानीय तह निर्वाचन गराउन खटिएका कर्मचारी मतदानस्थलतर्फ जाने तर्खरमा छन् । सबैभन्दा दुर्गम धवलागिरि गाउँपालिका–१ गुर्जा र ४ खिवाङस्थित मतदान स्थलमा खटिएका कर्मचारी भने कार्यस्थलतर्फ हिँडेका छन् ।
मतदानस्थलमा खटिएका अधिकृत, सहायक अधिकृत, कर्मचारी, प्रहरीसमेत सुरक्षाकर्मीको टोलीले मुख्य निर्वाचन कार्यालयबाट आवश्यक निर्वाचन सामग्री बुझ्न थालेका छन् । अधिकांश मंगलबार हिँड्ने छन् । बेनी नगरपालिकाभित्रका मतदान अधिकृतसमेतका टोली भने बुधबार बिहानै हिँड्ने भएका छन् ।
मौसम तथा जलवायु विभागले वैशाख २९–३० सम्म वर्षाको जोखिम देखाएकोले यसपल्ट मतदान स्थलमा बुथ निर्माण, मतदाताको लाइन व्यवस्थापन र टाढाका मतदातालाई मतदान स्थलमा पुग्न समस्या हुने आकलन गरिएको छ । अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित ज्ञानप्रकाश माध्यमिक विद्यालय मतदान केन्द्रका अधिकृत दलबहादुर थापाले मतदान स्थलमा लैजाने सबै निर्वाचन सामग्री बुझेको बताए । ‘मतपत्र भने मंगलबार विहानै बुझेर कार्यस्थल हिँड्ने तयारीमा छौं,’ उनले भने, ‘योपल्ट मौसमका कारण मतदान स्थलको व्यवस्थापनमा चुनौती देखेका छौं । बाँकी शान्तिपूर्ण हुने विश्वास छ ।’
निश्चित दूरी र संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना तथा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेको सुरक्षा समितिले जनाएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले मौसम प्रतिकूलता हुने पूर्वानुमानले गर्दा सबै कर्मचारीलाई २७ गतेभित्र मतदान स्थल पुग्न भनिएको बताए । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक जना तेस्रोलिङ्गीसहित ८५ हजार ३ सय ७५ मतदाताले भोट हाल्दै छन् । निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा ७४ मतदान स्थलमा १ सय १४ मतदान केन्द्र तोकिएका छन् ।
मुस्ताङका मतदान अधिकृत हिँडे
मुस्ताङमा पनि निर्वाचन तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी निर्वाचन सामग्रीसहित कार्यक्षेत्र हिँडेका छन् । सम्जोङ, घिलिङ, यारा, साङ्तालगायत अति दुर्गम मतदान स्थलका कर्मचारी आइतबार नै हिँडेका हुन् । ‘मतदान अधिकृतसमेत कर्मचारी, सुरक्षाकर्मीको टोलीले आवश्यक मतपत्र, स्वस्तिक, बुथ बनाउने सामग्री र अनुसूचीसहित सामग्री बुझेर केही हिजो केही आज हिँडे,’ मुस्ताङका मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीले भने, ‘मुस्ताङका ४० प्रतिशत मतदाता सहरमा भएकोले ल्याउने चुनौती छ ।
दललाई २८ वैशाख भित्र ल्याउन भनेका छौं ।’ जिल्ला निर्वाचन कार्यालयका अनुसार मुस्ताङमा १४ सय ८५ जना मतदाताले ३८ वटा केन्द्रमा पुगेर मतदान गर्दैछन् । सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत समर आधारभूत विद्यालय केन्द्रमा ३४ जना छन् । बढी थासाङको जनआदर्श मावि कोवाङ केन्द्रमा ६ सय ३४ मतदाता रहेका छन् । मुस्ताङका सबैभन्दा दुर्गमका लोमान्थाङ गाउँपालिकाको सम्जोङ मतदान केन्द्रमा ६१ जना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ताको हिमाली आधारभूत मतदान केन्द्रमा ३५ जना मात्र मतदाता छन् ।
