गोरखा — आरुघाट गाउँपालिका–१ मान्वुमा नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट एमालेका दुई कार्यकर्ता घाइते भएका छन् । कुटपिटबाट मान्वु स्याम्चेतका विक्रम लामा र गोपाल लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । उनीहरुको आँखा र ढाडमा चोट लागेको छ ।
घाइतेहरुको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
नेकपा एमालेको सोमबार मान्वुमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जाने क्रममा दिउँसोदेखि नै सडकमा अवरोध गर्ने प्रयास भएको नेकपा एमालेका आरुघाट गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्ण नेपालीलले बताए । ‘हाम्रो धोरतमा कार्यक्रम थियो, दुम्चेत पुगेपछि बाटो अवरुद्ध गर्ने प्रयास गरे, भनाभन भयो, हामीले सभ्झाइबुझाइ गरेर अघि बढ्यौँ,’ उनले भने,‘साँझ पिछा गरेर बसिरहकेो अवस्थामा आठ दश जनाको टोलीले आक्रमण गरेछन् ।’ स्याम्चेतका कुमार लामाको नेतृत्वमा आएको टोलीले बसिरहेको अवस्थामा आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको नेपालीले बताए ।
कांग्रेसकातर्फबाट मान्वुको वडा अध्यक्षमा उम्मेदवारी दिएका गजे घलेको निर्देशनमा कुटपिट भएको एमालेको आरोप छ । कांग्रेसकातर्फबाट आरुघाट गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएका राजु गुरुङले घटनाबारे विस्तृत बुझ्दै गरेको बताए । ‘पसलमा बसिरहेको अवस्थामा साथीहरु भेट भएको र मुख छाडेपछि डिसकस भयो भन्ने बुझेको छु,’ उनले भने
