गोरखा — पालिका भागबन्डामा कुरा नमिल्दा जिल्लामा सत्ता गठबन्धनको चुनावी तालमेल भाँडिएको थियो । तर दुई पालिका र केही वडामा भने आन्तरिक सहमति र तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । दुई पालिका र केही वडामा भने स्थानीयस्तरमै गठबन्धनको वातावरण बनेको हो ।
सत्तारूढ दलभित्रको माओवादी र जसपाबीच गोरखा नगरपालिका र गण्डकी गाउँपालिका प्रमुख/उपप्रमुखमा तालमेल भएको जसपाका अध्यक्ष यानप्रसाद भट्टले बताए । ‘गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा दुई दलबीच तालमेल गरी संयुक्त रूपमा प्रचार भइसकेको छ,’ उनले भने ।
दुवै पालिकामा स्थानीयस्तरमै आन्तरिक सहमति गरेर प्रमुखमा माओवादी र उपप्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार छन् । गोरखा नगरपालिकामा पनि माओवादी केन्द्रले प्रमुख र जसपाले उपप्रमुख लिने गरी चुनावी तालमेल भएको छ । दुई दलका उम्मेदवारले तालमेलका लागि हदैसम्मको प्रयास गर्ने नत्र मित्रवत् प्रतिस्पर्धा गर्ने बताएका छन् ।
गोरखा–३ मा भने कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ । यहाँ कांग्रेसका तर्फबाट वडाध्यक्ष उम्मेदवार केदार बस्नेतसहित एक सदस्यलाई माओवादी र नेकपा एकीकृत समाजवादीले सघाएका छन् । दलित महिला सदस्य र पुरुष खुला सदस्यका माओवादी उम्मेदवार छन् भने एक महिला खुला सदस्यमा नेकपा एकीकृत समाजवादीको उम्मेदवार रहने गरी तालमेल भएको कांग्रेस जिल्ला उपसभापति धीरन थापाले बताए । धार्चे–६ काशीगाउँमा पनि माआवादी–कांग्रेस तालमेल भएको छ । वडाध्यक्षमा माओवादीले कांग्रेसलाई सघाउने र सदस्यमा माओवादीलाई सघाउने गरी तालमेल भएको हो ।
तालमेलका लागि जसपाका संघीय परिषद् अध्यक्ष बावुराम भट्टराईले अन्तिम समयसम्म कांग्रेससँग तालमेलको प्रयास गरे । पालुङटारको प्रमुखमा जसपालाई कांग्रेसले सघाउने र गोरखाको प्रमुख, उपप्रमुखमा जसपाले कांग्रेसलाई सघाउने गरी भट्टराई र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आन्तरिक सहमति भए पनि वडा बाँडफाँड नमिलेपछि तालमेल भाँडिएको थियो ।
