गोरखा — गोरखा नगरपालिकाको प्रमुखमा नेत्रविक्रम चन्द समूहका योगेन्द्र कुमालले मनोयन दर्ता गराएका छन् । गोरखास्थित चन्द समूहका पूर्वजिल्ला इन्चार्जसमेत रहेका कुमालले स्वतन्त्र उमेदवारी दिएका हुन् ।
गोरखा नगरपालिका–१२ कुमाललाई पार्टीले नै उम्मेदवार बनाएको चन्द नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी कपिल भट्टले बताए ।
गोरखा नगरपालिकाको उपप्रमुख तथा अन्य पालिका र वडाहरुमा पनि सोमबार मनोनयन दर्ता गराउन छलफल चलिरहेको उनले बताए । गोरखा नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका कुमाल हाल चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विशेष समिति सदस्य हुन् ।
कुमालले स्वतन्त्र उमेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताए । आइतबार गोरखा नगरपालिकाको प्रमुखमा कुमाल सहित मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट कृष्ण बहादुर तामाङले मनोनयन दर्ता गराएका छन् ।
उपप्रमुखमा मंगोल नेशनल अर्गनाइजेशनकै मन्सु गुरुङले मनोनयन गरेकी छन् । वडा अध्यक्ष र वडा सदस्यमा भने स्वतन्त्रसहित ६ जनाको उमेदवारी परेको केसीले बताए ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजावादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा लगायत दलका नेताहरू भने अझै उमेदवारी छनोटका लागि छलफलमा छन् ।
उनीहरु सोमबार मात्र उमेदवारी दर्ता गर्ने तयारीमा छन् । सोमबार उमेदवारी दर्ता गर्ने गरी उम्मेदवारी छनोटका लागि छलफल चलिरहेको नेपाली कांग्रेसका सभापति नन्द प्रसाद न्यौपानेले बताए । गोरखाका ११ वटा स्थानीय तहमा आइतबार दिउँसोसम्म प्रमुख दलहरु उम्मेदवारी दर्ताका लागि पुगेका छैनन् ।
