मकवानपुरमा गठबन्धनको भागबण्डा टुंगियो

वैशाख ११, २०७९

सुवास विडारी

मकवानपुर — सत्ता गठबन्धन दलहरूले मकवानपुर जिल्लाका स्थानीय तहको प्रमुख तथा उपप्रमुखको भागबण्डा टुंग्याएका छन् ।

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँका अनुसार काठमाडौंमा बसेको गठबन्धन बैठकले मकवानपुरमा ५ वटा स्थानीय तहको प्रमुखमा कांग्रेस, ३ वटामा माओवादी केन्द्र र २ वटा नेकपा (एकीकृत समावजादी)लाई दिइने निर्णय गरेको छ ।

कांग्रेसले वकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका प्रमुख प्राप्त गरेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस वकैया र राक्सिराङमा विजयी भएको थियो ।

यस्तै माओवादी केन्द्रले थाहा नगरपालिका, वाग्मती र भीमफेदी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीले थाहा र वाग्मतीमा जितेको थियो ।

गठबन्धनबीच भएको सहमति अनुसार नेकपा (एस)ले हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोबर गाउँपालिका प्रमुख प्राप्त गरेको छ । नेकपा (एस) ले हेटौंडाको मेयरमा मीना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेकपा एमाले विभाजनपपछि लामाले नेकपा (एस) रोजेकी थिइन् ।

स्थानीय तह निर्वाचन २०७९

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully