समाजवादीका नेता भन्छन्- यहाँ कांग्रेस एक्लैले जित्न सक्दैन, हामीले जित्नेगरी तयारी गरेका छौं । मैले एमालेको भोट काट्न सक्छु ।
पोखरा — भूगोलको हिसाबले देशकै ठूलो महानगर पोखराको प्रमुखमा गठबन्धन दलहरूबीच नै तानातानको स्थिति पैदा भएको छ । पोखरा महानगरपालिकाको प्रमुख आफूले पाउनुपर्नेमा कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) तीनै दलको अडान छ ।
कांग्रेसले पोखराको प्रमुख नछाड्ने भन्दै पार्टी नेतृत्वलाई दबाब दिन मंगलबार जम्बो टोली काठमाडौं पुगेको छ । टोलीमा पूर्वमन्त्री, पार्टीका पूर्वसभापति, महानगर प्रमुखका आकांक्षी लगायत सहभागी छन् ।
टोलीमा रहेका कास्की कांग्रेस सभापति किशोरदत्त बरालले बुधबार बिहान ९ बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम रहेको बताए । पोखरा कांग्रेसको पक्षमा ल्याउनुपर्ने दबाब पार्टी नेतृत्वलाई दिन काठमाडौं हिँडेको उनको भनाइ छ ।
‘चुनाव लड्नका लागि मात्रै लड्ने कि जित्नलाई लड्ने ?,’ उनले भने, ‘पोखरामा कांग्रेसबाहेक गठबन्धनका अरु दलले जित्ने अवस्था छैन ।’ गठबन्धनका नाममा हार्नुको अर्थ नरहने उनको भनाइ छ । ‘उम्मेदवार हुन पाएँ भनेर दंग परेर बस्ने विषय मात्रै होइन, जितसँग सम्बन्धित विषय हो,’ उनले भने, ‘गठबन्धन बलियो बनाउने हो भने समग्रमा कति जित्यो भन्ने महत्त्वपूर्ण हुन्छ । यो कुनै मिसनको लागि बनेको गठबन्धन हो । अहिलेको मिसन भनेको एमालेलाई हराउने हो ।’
गठबन्धन सिटको बाँडफाँट मात्र नभइ जितको हिसाबकिताब पनि हो भन्ने नेतृत्वलाई बुझाउन काठमाडौं हिँडेको उनले सुनाए । कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर, माओवादीले भरतपुर र जनता समाजवादी पार्टी (जसपा) ले वीरगन्जमा मेयरको पद पाउँदा एकीकृत समाजवादीले पोखरा पाउनुपर्ने दाबी गरिरहेको छ ।
गठबन्धनबीच आधिकारिक निर्णय नभए पनि आन्तरिक रुपमा पोखरा समाजवादीलाई नै दिने सहमति भएको उक्त पार्टीको दाबी रहँदै आएको छ । समाजवादीका कास्की अध्यक्ष धनराज आचार्य गठबन्धनमा देशभरको हिसाबकिताबले पनि पोखरा आफ्नो पार्टीले पाउनुपर्ने बताउँछन् । ‘यहाँ कांग्रेस एक्लैले जित्न सक्दैन, हामीले जित्ने गरी तयारी गरेका छौं,’ उनले भने, ‘जित गठबन्धनकै पक्षमा ल्याउने हो भने समाजवादीले पाउनुपर्छ ।’
कांग्रेसले ३ महानगरपालिका पाउँदा माओवादी केन्द्रले २ वटामा दाबी गरिरहेको छ । भरतपुर महानगरपछि माओवादीको रोजाइमा पोखरा परेको हो । पोखरा माओवादीले पाउनुपर्ने माग गर्दै कास्कीका नेताहरू काठमाडौं पुगेका छन् । केन्द्रीय सदस्य राजकाजी गुरुङ, गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ सहितको टोली यतिबेला काठमाडौंमै छ । ०७४ को चुनावमा भरतपुर माओवादीले पाउँदा पोखरा कांग्रेसको भागमा परेको थियो । अहिले कांग्रेसले अरु ३ महानगर पाएको अवस्थामा पोखरा माओवादीले पाउनुपर्ने कास्कीका नेताहरूको तर्क छ ।
महानगर प्रमुखमा आकांक्षीको लर्को
०७४ को चुनावमा पोखरा महानगरपालिकामा कुल १ लाख ६८ हजार ६८ मतदाता रहेकोमा १ लाख २५ हजार ८५३ (७४.८३ प्रतिशत) मत खसेको थियो । त्यसमध्ये एमालेका मानबहादुर जीसी ६० हजार ११८ मतसहित पोखरा महानगरको प्रमुखमा निर्वाचित भएका थिए । कांग्रेसका रामजी कुंवर १३ हजार ७ सय २ मत कम अर्थात् ४६ हजार ४१६ मत ल्याएर पराजित बनेका थिए ।
उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५६ हजार ४ सय ४८ मत ल्याउँदै निर्वाचित भएकी थिइन् । उनका प्रतिस्पर्धी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ र माओवादी केन्द्रकी गोमा ढकालले ८ हजार ७ सय ९६ मत पाएका थिए । अहिले ३९ हजार ६ सय ४५ मतदाता थपिँदा कुल मतदाताको संख्या दुई लाख सात हजार ७ सय १२ पुगेको छ ।
चुनाव नजिकिँदै जाँदा महानगर प्रमुखमा राजनीतिक दलभित्र उम्मेदवारको आकांक्षीको लर्को देखिएको छ । एमालेमा मात्रै १२ जनाले महानगर प्रमुखमा आकांक्षा देखाएका छन् । एमाले पोखरा महानगर कमिटीको मंगलबारको बैठकमा १२ जनाले आकांक्षीमा नाम टिपाएका छन् ।
उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रदेश सांसद कृष्णबहादर थापा र राजीव पहारी, पोखरा–१३ का वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना र पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुलीले आन्तरिक बैठकमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
सर्वसम्मत टुंगो लाग्न नसके मतदानबाट महानगर प्रमुखको उम्मेदवार टुंगो लगाउने एमालेको तयारी छ । यीमध्ये उपप्रमुख मञ्जुदेवी गुरुङले उम्मेदवार बन्न नचाहेर दाबेदारी फिर्ता लिएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनीसमेत रहेकी गुरुङलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको पनि साथ थियो ।यद्यपि उनले उम्मेदवार बन्न चासो देखाएकी छैनन् ।
अर्का प्रवल दाबेदार प्रदेश सांसद कृष्णबहादुर थापालाई खगराज अधिकारीले सघाउँदा पृथ्वीसुब्बाले रुचाएका छैनन् । प्रदेश सांसद राजीव पहारीलाई पृथ्वीसुब्बाले समर्थन गर्दा खगराजले नगर्ने वातावरण बनेको एमालेका एक नेताले बताए ।
कांग्रेसबाट प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, कांग्रेसका पूर्वजिल्ला सभापति कृष्ण केसी, प्रजातन्त्र सेनानीको परिवारका विश्वशंकर पालिखे, सरस्वती गुरुङ, पूर्वमेयर गणेबहादुर भट्टराईले दाबी गरिरहेका छन् । माओवादी केन्द्रबाट विश्वप्रकाश लामिछानेको चर्चा छ ।
उनलाई यसअघिको निर्वाचनमा पनि माओवादीले प्रमुखको उम्मेदवारमा सिफारिस गरे पनि कांग्रेससँग तालमेलका क्रममा पछि हटाएको थियो । भरतपुर महानगरपालिकामा रेणु दाहाललाई कांग्रेसले समर्थन गर्दा पोखरामा माओवादीले कांग्रेसलाई सघाएको थियो । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्य नै महानगर प्रमुखको आकांक्षी हुन् । व्यवसायी आचार्यले आफू उम्मेदवार बन्दा एमालेको भोट काट्न सकिने तर्क गर्दै आएका छन् ।
