डुबानको जोखिममा रहेका १७ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

श्रावण २, २०७८

नारायण शर्मा

पूर्वी नवलपरासी — नदी कटान बढेसँगै हुप्सेकोट गाउँपालिकाले १७ घरपरिवारलाई सुरक्षित स्थानमा सारेको छ । गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेका अनुसार वडा नम्बर ५ बाघखोर गाउँका १७ घरपरिवारका १ सय २७ जनालाई उद्धार गरेर स्थानीय जनता माध्यमिक विद्यालयमा सारिएको हो ।

हुप्सेकोट स्थित धौवादी फलामखानी नजिक रहेको खानीखोलाको बाढीले बस्ती कटान गरेपछि उनीहरुलाई आपतकालीन उद्धार गरेर विद्यालयमा सारिएको हो । बाढीले किनारमा रहेका घर कटान गर्न सुरु गरेपछि स्थानीय र प्रहरीको सहयोगमा शुक्रबार र शनिबार स्थानान्तरण गरेर विद्यालयमा राखिएको हो । 

बिहीबार रातिदेखिको वर्षासँगै आएको पानीले खोलामा पानीको सतह बढेपछि खोला किनारको बस्ती जोखिममा परेको छ ।विद्यालयमा सारिएका ती परिवारलाई गाउँपालिका, रेडक्रस लगायतका संघसंस्थाले आपतकालीन सहयोग गरेका छन । 

अन्य ५५ घर पनि बाढी र कटानको जोखिममा परेको गाउँपालिकाकी अध्यक्ष पाण्डले टेलिफोनमा जानकारी दिइन । पानी नरोकिए सबै उनीहरुलाई पनि स्थान्तरण गर्नुपर्ने अवस्था रहेको बताइन् । 

अघिल्लो साताको बाढीले  गाउँपालिकाको गिरुवारी खोलाको कटानमा परेका एक सय ९ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो । 

बाढी-पहिरो

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully