अक्सिजन खपत झन्डै दोब्बर बढ्यो
पोखरा — कोरोना संक्रमितको जाँचपछि बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरद बराल आइसोलेसन वार्डबाट असिनपसिन हुँदै निस्किए । केही दिनयता संक्रमितको चाप बढेपछि अस्पतालका स्वास्थ्यकर्मीलाई भ्याइनभ्याई छ ।
अस्पतालको २७ कोभिड आईसीयू बेड सबै भरिएका छन् । ३९ एचडीयू बेडमध्ये १० वटा मात्रै खाली छन् । २१ आइसोलेसन बेडमध्ये १५ वटा खाली छन् । ७ मध्ये २ भेन्टिलेटर प्रयोगमा छन् । संघ सरकार मातहतको यो अस्पतालमा प्रदेशभरका विभिन्न जिल्लाबाट संक्रमित भर्ना भएका छन् । डा. बरालका अनुसार प्रायः सबै संक्रमितलाई अक्सिजन दिएर राखिएको छ । संक्रमितको चाप कम हुँदा दैनिक १ सय ५० सिलिन्डर अक्सिजन खपत भएकोमा हाल यो संख्या बढेर २ सय ६० पुगेको छ । ‘फेरि संक्रमितको चाप बढ्दै गएकोले खतरा टरिसकेको छैन,’ उनले भने, ‘सर्वसाधारणले हिँडडुल र स्वास्थ्य मापदण्डको ख्याल गर्नुपर्छ ।’ स्वास्थ्यजस्तो संवेदनशील विषयमा सर्वसाधारण पनि गम्भीर हुनुपर्ने उनी बताउँछन् ।
अस्पतालमा संक्रमित सिकिस्त भएपछि मात्रै पुग्ने गरेका छन् । सामान्य लक्षण सुरु हुँदा नजिकैको मेडिकलमा जचाउने गरेर संक्रमितले जथाभावी औषधि खाने गरेको डा.बरालको आरोप छ । ‘मेडिकलले कसैलाई टाइफाइड, कसैलाई के भएको भनेर औषधि दिने रहेछन्,’ उनले भने, ‘हामीसम्म आइपुग्दा हालत खराब भइसकेको हुन्छ ।’ प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छैन । संघअन्तर्गतको स्वास्थ्य मन्त्रालयले दिने अक्सिजन प्लान्ट राख्न संरचना तयार हुँदै छ । त्यसबाहेक भूकम्प पुनर्निर्माण प्राधिकरणमार्फत र पोखराको बतास फाउन्डेसनको पहलमा दुई प्लान्ट थपिँदै छन् ।
प्रदेशमातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा पनि कोरोना संक्रमितको चाप बढ्दै गएको छ । अस्पतालमा रहेका ५० बेडमध्ये ५ वटा मात्रै खाली छन् । ७ वटा आईसीयू बेड सबै भरिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनका अनुसार असारको मध्यतिर बिरामीको चाप घटे पनि अहिले पुनः बढ्न लागेको छ । सिकिस्त भएपछि आउने संक्रमित धेरै छन् । दैनिक १ सय सिलिन्डर अक्सिजन खपत भइरहेको छ ।
सरकारीको तुलनामा निजी अस्पतालमा संक्रमित कम छन् । पोखरामा संक्रमितको उपचार गर्ने पश्चिमाञ्चल सामुदायिक अस्पताल, मेडिप्लस अस्पताल, गण्डकी मेडिकल कलेज, फेवासिटी अस्पताल, मणिपाल शिक्षण अस्पताल, नमस्ते अस्पताल, ग्यालेक्सी अस्पताल, मेट्रोसिटी अस्पताल, कास्की सेवा अस्पताल, चरक मेमोरियल अस्पताललगायतमा बिरामीको चाप कम छ । प्रदेशका अन्य जिल्लामा रहेको सरकारी अस्पतालमा अझै आईसीयू सञ्चालनमा आउन नसक्दा पोखराको अस्पतालमा चाप परेको हो । लमजुङ, पर्वत, गोरखा, स्याङ्जा, मनाङ र मुस्ताङ जिल्ला अस्पतालमा आईसीयू सञ्चालनमा छैनन् । स्थानीय तहद्वारा सञ्चालित तथा सामुदायिक स्याङ्जाको कालीगण्डकी अस्पताल, पोखराको सिसुवा कोभिड अस्पताल र मातृ शिशु मितेरी अस्पताल, तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र, गोरखाको आँप पीपल अस्पतालमा पनि आईसीयू सञ्चालन गरिएको छैन ।
गण्डकी प्रदेशमा गएको एक महिनामा दिनमा न्यूनतम १ सय १६ र अधिकतम ४ सय ८० जनासम्ममा कोरोना संक्रमण देखिएको छ । उक्त अवधिमा दिनमा अधिकतम १२ जनासम्मको निधन भएको छ । बुधबार भने कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य छ । बुधबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय २८ छ । तीमध्ये २ हजार ४ सय १० जना होम आइसोलेसनमा छन् । हालसम्म प्रदेशमा १ हजार ८ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।
प्रदेशका जिल्लामध्ये कास्कीमा सबैभन्दा धेरै ८ सय ३२ सक्रिय संक्रमित छन् । मनाङमा १४ र मुस्ताङमा १९ सक्रिय संक्रमित छन् । स्याङ्जा र गोरखामा ५ जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट डेल्टा (बी.१.६१७.२) पुष्टि भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा १४ र ६० वर्षीय पुरुष र गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा ७०, ३३ र ४० वर्षीया महिलामा नयाँ भेरिएन्ट पुष्टि भएको हो ।
