१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जोन्सन एन्ड जोन्सनले खोपका कारण 'नसासम्बन्धी दुर्लभ समस्या हुनसक्ने' चेतावनी दिनुपर्ने

काठमाडौँ — अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले कोरोना भाइरसविरुद्ध जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोपको लेबलमा यसले नसासम्बन्धी दुर्लभ समस्या ‘गिलान बारे सिन्ड्रोम’ निम्त्याउन सक्ने सम्भावना रहेको उल्लेख गरिदिएको छ ।

जोन्सन एन्ड जोन्सनले खोपका कारण 'नसासम्बन्धी दुर्लभ समस्या हुनसक्ने' चेतावनी दिनुपर्ने

एफडीएका अनुसार जोन्सन खोपको यो रोगसँग सम्बन्ध भएको देखाए पनि खोपकै कारणले गर्दा रोग लागेको हो भनेर किटान गर्न सक्ने अवस्था भने छैन । खोप सुुरक्षा व्यवस्था हेर्दै आएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी)ले अमेरिकामा यो खोप पाएका १ करोड २७ लाख नागरिकमध्ये १०० जनामा यो रोगका समस्या देखिएको बताएको छ ।

सीडीसीका अनुसार समस्या देखिएका मध्ये १०० जनामा ९५ जनालाई अस्पताल भर्ना गर्नुपरेको थियो र एकजनाको मृत्यु भएको थियो । यो समस्या हरेक वर्ष अमेरिकामा ३ हजार देखि ६ हजार व्यक्तिमा देखिने गरेको छ । समस्या देखिएका धेरैजना पूर्ण रुपले ठीक पनि भएका छन् ।

सीडीसीले खोप लगाएको दुई हप्तापछि समस्याहरु देखिएको बताउँदै धेरैजसो ५० र ५० माथिका पुरुषमा देखिएको बताएको छ । सीडीसी प्रवक्ताका अनुसार खोप लगाउँदा भन्दा नलगाउँदा धेरै जोखिम हुने भन्दै कोरोनाविरुद्धको खोप लगाउनु नै उत्तम भएको दाबी गरेका छन् ।

जोन्सन एन्ड जोन्सन कम्पनीले आफ्नो 'फ्याक्ट सिट'मा खोपबाट हुने असरको बारे उल्लेख गरेको छ । यस सम्बन्धमा कम्पनीको विज्ञप्तिमा भनिएको छ – ‘हामीले यस विषयमा एफडीए र अरु नियामक निकायसँग छलफल गरिरहेका छौँ । यो देखिने सम्भावना एकदम कम देखिएको छ ।’

यो रोग र जोन्सन खोपको सम्बन्ध देखिएको बताइए पनि कोरोनाविरुद्धको खोप मोडर्ना र फाइजरको खोपमा भने यसको सम्बन्ध देखिएको छैन ।

‘गिलान बारे सिन्ड्रोम’ के हो ?
यो एउटा नसासम्बन्धी समस्या हो, जसमा शरीरको रोग प्रतिरोधी क्षमताले नसाका कोषहरुलाई आक्रमण गर्दछ । यसले मासंपेशी कमजोर बनाउनुका साथै कहिलेकाहीँ पक्षघातसमेत गराउन सक्छ ।

धेरैजसो मानिसमा यो लक्षण खोप लगाएको ४२ दिनमा देखिएको छ । तर यो समस्या देखिने सम्भावना एकदम कम रहन्छ । केही लक्षण देखिए चिकित्सकको तुरुन्त निगरानीमा रहन जरुरी छ ।

यसका प्रमुख लक्षण के हुन् सक्छन्?

  • हात र खुट्टामा कमजोरी तथा झमझम महसुस हुने, त्यो बढेर शरीरका अरु अंगमा पनि फैलिन सक्ने ।
  • हिँडाइमा कमजोरी ।
  • बोल्दा, चपाउँदा वा निल्दा गाह्रो अनुभव हुने।
  • एउटा चिजलाई दुईवटा देख्ने, आँखा चलाउन गाह्रो हुने।
  • मुत्राशयमा समस्या तथा दिसा गर्न गाह्रो हुने आदि ।

प्रकाशित : असार ३०, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?