निषेधाज्ञाभर खाद्यबाट छुटमा चामल

परिचयपत्रका आधारमा प्रतिपरिवार एक बोरा, कोटाअनुसार ढुवानी भएन

जेष्ठ ३०, २०७८

हरिराम उप्रेती

गोरखा — सदरमुकामसहित उत्तरका दुई डिपोबाट निषेधाज्ञा अवधिभरका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० प्रतिशत छुटमा चामल बिक्री थालेको छ । कम्पनीको केन्द्रीय कार्यालयको निर्देशनअनुसार जेठ २३ देखि निषेधाज्ञा अवधिभरका लागि विशेष छुटमा चामल उपलब्ध गराएको कम्पनीका गोरखा शाखाप्रमुख नवीन बस्नेतले बताए । 

गोरखामा असार ५ सम्म निषेधाज्ञा छ । सदरमुकामको डिपोबाट मात्र २ दिनको अवधिमा १० क्विन्टल चामल बिक्री भएको उनले बताए । सदरमुकामको गोदामबाट यसअघि फाट्टफुट्ट मात्र चामल बिक्री हुँदै आएको थियो । सदरमुकाममा मात्र छुट मूल्यअनुसार ५१ रुपैयाँ ३० पैसामा बिक्री हुँदै आएको सोना मनसुली चामल प्रतिकेजी ४१ रुपैयाँ ४ पैसामा बिक्री गरिएको छ । ६४ रुपैयाँ प्रतिकेजी बिक्री हुँदै आएको स्टिम जिरा मसिनो चामल ५१ रुपैयाँ २० पैसा, ५१ रुपैयाँमा बिक्री हुँदै आएको अरुवा मध्यम चामल ४० रुपैयाँ ८० पैसा, ४९ रुपैयाँमा बिक्री हुँदै आएको मकवानपुरे चामल ३९ रुपैयाँ २० पैसामा बिक्री गरिने बस्नेतले बताए । ‘यो छुट जिल्लाभर निषेधाज्ञा अवधिभर मात्र लागू हुनेछ,’ उनले भने । 

सहुलियत छुट लिन परिचय खुल्ने कागजपत्रका आधारमा प्रतिपरिवार १ बोरा मात्र चामल उपलब्ध गराउने कम्पनीले जनाएको छ । उत्तरका डिपोमा भने चामलको बिक्री मूल्य फरक छ । ‘सिर्दिबास र माछाखोला दुवै डिपोबाट पनि २० प्रतिशत छुटमा चामल उपलब्ध गराउँछौँ,’ उनले भने । माछाखोलामा डिपोमा १ सय ५० क्विन्टल र सिर्दिबास डिपोमा १० क्विन्टल चामल स्टक छ । 

उत्तरका दुई डिपोबाट सहुलियत दरमा खाद्यले चामल बिक्री गर्दै आएको छ । सिर्दिबास डिपोमा यस वर्ष ३५ सय क्विन्टल र माछाखोला डिपोमा ५ क्वन्टल स्वीकृत कोटाअनुसार चामल ढुवानीका लागि ठेक्का लागेको छ । चालू आर्थिक वर्ष सकिन १ महिना बाँकी रहँदा सिर्दिबासमा २७ सय ६४ क्विन्टल मात्र चामल ढुवानी भएको छ । ‘२१ सय क्विन्टल चामल ढुवानी भइसक्यो, ६ सय ६४ क्विन्टल चामल ढुवानीको क्रममा बाटोमा छ,’ उनले भने, ‘बाटोको अवस्था बिग्रिएकाले समयमै चामल ढुवानी भएन, कोटाअनुसारको चामल पुर्‍याउन प्रयासमा छौँ, ठेकेदारलाई भनिरहेका छौँ ।’ सिर्दिबासमा भने गत आवभन्दा यस वर्ष चामलको कोटा बढाइएको थियो । सिर्दिबास डिपोबाट सिर्दिबाससहित ल्हो, बिही, प्रोक, छेकम्पार, चुम्चेत र सामा गाउँवासीलाई सहुलियत दरको चामल बिक्री हुँदै आएको छ ।

स्थानीय तहको जनप्रतिनिधिको सिफारिसमा उक्त क्षेत्रका स्थानीयलाई चामल उपलब्ध गराउने प्रावधान छ । उत्तरी गोरखामा मुख्य खाद्यबाली गहुँ, जौ, आलु हुन् । उक्त क्षेत्रमा धान खेती नहुँदा तल्लो क्षेत्रबाट चामल ढुवानी गर्नुको विकल्प छैन । पाँच सय क्विन्टलको कोटा रहेको माछाखोलामा भने २ सय क्विन्टल चामल पुगेको छ । तिब्बतको सिमाना लार्के जोड्ने सडकको ट्र्याक खोल्ने क्रममा माछाखोलासम्मको खण्डमा गाडी गुड्न मिल्ने भएकाले खाद्यको भन्दा बजारकै चामल सस्तो परेपछि स्थानीयले कम चासो देखाएका हुन् । ‘माछाखोलामा २ सय क्विन्टल ढुवानी भएको छ, ५० क्विन्टल मात्र बिक्री भयो,’ उनले भने । केरौजाँ, उहिया, काशीगाउँ, लापु, गुम्दा र लाप्राकवासीलाई माछाखोला डिपो स्थापना गरिएको हो । धार्चे गाउँपालिकाअन्तर्गतका केरौजावाहेक अन्य वडा सडक सञ्जालले जोडिएको छ । 

कोरोना भाइरस

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully