संक्रमितलाई घरमै स्वास्थ्य सामग्री

सहिद लखन गाउँपालिकाका संक्रमितलाई स्वास्थ्य सामग्री प्रदान गरिँदै ।

जेष्ठ १२, २०७८

हरिराम उप्रेती

गोरखा — रोगप्रतिरोधी क्षमता बढाउन गाउँपालिकाले संक्रमितलाई घरै पुगेर जिंक चक्की, भिटामिन सी, इमुनोकेयरलगायतका सामग्री संक्रमितलाई उपलब्ध गराउन थालेको छ ।

होम आइसोलेसनमा बसेका सहिद लखन गाउँपालिका–९ का ७० वर्षीय संक्रमितको घरमै स्वास्थ्यकर्मी, जनप्रतिनिधि पुगेर दैनिक सरसफाइमा आवश्यक पर्ने स्वास्थ्य सामग्री र औषधि उपलब्ध गराए । होम आइसोलेसनमा बसेका १ सय ८७ जनालाई सामग्री वितरण गर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए । 

‘होम आइसोलेसनमा बसेकालाई स्वास्थ्य सामग्री वितरण चलिरहेको छ,’ श्रेष्ठले भने, ‘कोही संक्रमित थपिनुभयो भने पनि स्वास्थ्य सामग्री वितरणलाई निरन्तरता दिन्छौं ।’ गाउँपालिकाले ज्वरो नाप्ने थर्मोमिटर, सिटामोल, जीवनजल, सेनिटाइजर, १५ पिस मास्क, झुल, साबुन, रुमाल, नङकट, महिलाका लागि प्याडलगायतका सामग्री संक्रमितलाई उपलब्ध गराएको उनले बताए । भने, ‘अहिलेसम्म विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएको छ ।’ संक्रमितलाई मनोसामाजिक परामर्श पनि उपलब्ध गराउँदै आएको उनले बताए ।

घरमै पुग्दा जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई संक्रमितको अवस्था बुझ्न सहज भएको गाउँपालिकाका अध्यक्ष रमेश थापाले बताए । ‘संक्रमितको होम आइसोलेसनको बसाइँ व्यवस्थित र सहज होस् भनेर घरघरमा पुगेका हौं,’ उनले भने, ‘फेरि हामीले अत्यावश्यक सामग्री उपलब्ध गराएका छौं ।’ प्रत्येक स्वास्थ्य संस्थामा फोकल पर्सन तोकेर संक्रमितको निगरानी गरिएको पनि उनले सुनाए । उनका अनुसार प्रत्येक संक्रमितको स्वास्थ्य अवस्थाबारे पनि दैनिक रिपोर्टिङ भइरहेको छ । उक्त गाउँपालिकामा संक्रमण पुष्टि भएका १ सय ८७ मध्ये ५७ जना निको भइसकेका छन् । 

गाउँपालिकाले कोभिड न्यूनीकरण र रोकथामका लागि तीन तहको प्रतिकार्य समिति बनाएको छ । गाउँपालिका अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय मूल समिति रहेको छ । प्रत्येक वडाध्यक्षको संयोकत्वमा तीन सदस्यीय वडास्तरीय समिति पनि रहेको छ । टोलस्तरमा होम आइसोलेसन र होम क्वारेन्टाइन निगरानी समूह पनि बनाइएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए । ‘यो समितिले होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्थाबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउँछ,’ उनले भने ।

टोलस्तरमै दैनिक रिपोर्टिङ समूह पनि निर्माण भएको छ । उनले भने, ‘निगरानी समूहले भारत तथा कोरोना संक्रमित ठाउँबाट टोलमा प्रवेश गरेकाको पनि निगरानी राख्छ, आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गर्छ, स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीलाई खबर गर्छ ।’ गाउँपालिकाको वडा नम्बर–६ घैरुङमा सात बेड क्षमताको आइसोलेसन पनि तयारी अवस्थामा राखिएको उनले बताए । आइसोलेसनका लागि मेडिकल अधिकृतसहितको टिम तयारी अवस्थामा राखिएको छ । प्रतिकार्य समूहको काम प्रभावकारी भएको पनि उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully