बागलुङ — सबेरै कोभिड ल्याबमा छिरेपछि मध्याह्न १२ बजे मात्रै उनी खानाका लागि निस्कन्छन् । त्यो पनि आधा घण्टा मात्र । त्यसपछि फेरि ल्याब फर्कन्छन् । यो समयमा न फोन उठाउन न कोहीसँग बोल्न भ्याउँछन् ।
एक महिनादेखि डा. नारायण कोइरालाको दैनिकी यसैगरी चलिरहेको छ । दैनिक १४ घण्टाको ड्युटी भए पनि १६ घण्टासम्म खटिन्छन् । ल्याबमा पीपीई लगाएर छिरेपछि फोन उठाउने कुरै भएन, शौचालय जाने र पानी पिउन पनि जोखिम छ । धौलागिरि अस्पतालले स्थापना गरेको पीसीआर ल्याबका उनी प्रमुख हुन् । यहाँ दक्ष जनशक्तिको अभाव छ । त्यसैले जुनसुकै समय उनी ल्याबमै खटिनुपर्छ । छ दरबन्दी भएको यहाँ एउटा टिमले रातमा अर्कोले दिउँसोमा काम गरिरहेको छ ।
कोइरालाका अनुसार पीसीआर ल्याब सबैभन्दा जोखिम क्षेत्र हो । कोरोनाका संक्रमित र शंकास्पदको स्वाब संकलन गरेपछि ल्याबमा हरेक भीटीएम केलाएर हेर्नुपर्छ । भीटीएममा लगाएको नम्बर अनुसार रजिस्टरमा नामावलीसहित ठेगाना उतार्ने, पीसीआर मेसिनमा लोड गर्ने काम निरन्तर चल्छ । ‘स्वाबबाट जिन निकाल्ने र जिनलाई रिएजेन्टमा मिसाउने बेला जोखिम मोल्नुपर्छ,’ कोइरालाले भने, ‘पीसीआर मेसिनमा लोड गर्ने बेला पनि होसियारी अपनाउनुपर्छ ।’ जोखिमका बेला जिन वा स्वाब मानिसको शरीरमा कतै परिहाल्यो भने संक्रमण सर्ने बढी जोखिम हुने उनले बताए ।
पीसीआर गरिसकेपछि लोड गरिएका सामग्री झिक्ने काम पनि उत्तिकै जोखिमको हो । सबै नमुनालाई सुरक्षित राख्न नसकेमा संक्रमण ल्याबमा फैलिने खतरा हुने उनले बताए । मेसिन चलाएपछि ४/५ घण्टाभित्रै बस्नुपर्छ । त्यसपछि बाहिर निस्केर पनि कामले फुर्सद मिल्दैन । हरेक नमुनाको विवरण रुजु गर्ने, रजिस्टरमा मिति र समय अनुसार उतार्ने काम पनि गर्नुपर्छ ।
रसियामा एमडी गरेका कोइरालाका लागि पीसीआर मेसिन चलाउने र स्वाब परीक्षणको काम भने नौलो होइन ।
यी सबै कामले कोइराला दुई महिनादेखि घर गएका छैनन् । एक महिनादेखि घरपरिवारको सम्पर्कमा समेत आउन सकेका छैनन् । पोखरा घर भएका कोइराला पत्नी शोभा सिलवाल पनि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराको पीसीआर ल्याबमै कार्यरत छिन् । त्यसैले उनीहरूले फोन सम्पर्कसमेत गर्न भ्याएका छैनन् । एकको समय मिल्दा अर्कोको नमिल्ने गरेको अनुभव उनले सुनाए ।
