सुरु भएन कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्र

जेष्ठ १२, २०७८

कान्तिपुर संवाददाता

मोरङ — कोरोना संक्रमणले मृत्यु हुनेको संख्या बढ्दै गए पनि प्रदेश सरकारले कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा ल्याउन सकेको छैन । प्रदेश सरकारले सञ्चालन गरेको ८० शय्याको उपचार केन्द्रमा ५ वटा आईसीयू, अक्सिजन–सहितका २७ र ४८ वटा सामान्य शय्या छन् । 

निजी अस्पतालले सरकारले तोकेको भन्दा महँगो शुल्कमा उपचार गरिरहेकाले यतिबेला संक्रमित बिरामीको चाप सरकारी अस्पतालमा बढेको छ । त्यसैले प्रदेशका सरकारी अस्पतालका शय्या भरिभराउ छन् । कतिपय संक्रमित उपचारका लागि चर्को शुल्क तिरेर निजी अस्पतालमा भर्ना हुन बाध्य छन् । तर प्रदेश सरकारले करोडौं खर्चेर पहिलो चरणको कोरोना लहरका बेला निर्माण गरेको अस्पताल भने अझै सञ्चालनमा ल्याउन सकेको छैन । 

उपचार केन्द्रका संयोजक बैजनाथ साहले उपचार केन्द्र परिसरमा भएको नागरिक केयर सेन्टरमा अहिले ९६ शय्याको कोभिड अस्पताल सञ्चालन भइरहेको बताए । आवश्यक जनशक्ति र मर्मत नहुँदा उपचार केन्द्र सञ्चालनमा ल्याउन नसकेको उनको भनाइ छ । तर नागरिक केयर सेन्टरमा कोभिड अस्पताल सञ्चालन हुन अगाडि चैत महिनासम्म उपचार केन्द्रमा संक्रमित बिरामीको उपचार भइरहेको थियो । उपचार केन्द्र सञ्चालन नहुनुको अर्को प्रमुख कारण भनेको अक्सिजनको सहज आपूर्ति नहुनु पनि हो । 

अस्पतालका लागि विनायक र हिमाल अक्सिजन उद्योगसँग सम्झौता गरेर अक्सिजन आपूर्ति भइरहेको छ । तर उद्योगले अक्सिजन सिलिन्डर भर्न ६ घण्टासम्म प्रतीक्षा गर्न लगाउने गरेको, अक्सिजन आपूर्तिको समयमा कहिले गाडी भएन त कहिले कामदार छैन भन्दै हैरान लगाउने गरेको उनले गुनासो पोखे । अक्सिजन आपूर्तिका लागि मात्रै अहिले एउटा ट्रक र ४ जना कामदार २४ सै घण्टा तयारी अवस्थामा राख्न बाध्य भएको उनको भनाइ छ । ‘थप ८० शय्याको उपचार केन्द्र सञ्चालन गर्दा थप ५ सय अक्सिजन सिलिन्डर आवश्यक हुने साहले बताए । उनले भने, ‘अहिलेकै ५ सय सिलिन्डर आपूर्तिमा समस्या हुने गरेको अवस्थामा थप ५ सय सिलिन्डर आपूर्तिको कल्पना गर्न सकिँदैन ।’

प्रदेशसभाका कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले विराटनगरस्थित नेसनल ट्रेडिङको भवनमा गत वर्ष सञ्चालन गरेको ८० शय्याको कोभिड अस्पताल यसपटक सञ्चालनमा नल्याउनुमा कमिसनको खेल भएको जिकिर गरे । ‘सरकारी अस्पताल बन्द गरेर बिरामीलाई निजी अस्पताल जान प्रेरित गर्ने प्रदेश सरकार कमिसनको लोभमा फसेको स्पष्ट छ’, उनले भने, ‘स्वास्थ्य उपचार पाउने नागरिकको मौलिक हक भएको अवस्थामा सरकारले कमिसनको खेल गर्न मिल्छ ?’ सामाजिक विकासमन्त्री उषाकला राईले उपचार केन्द्र परिसरमा सञ्चालित ९६ शय्याको कोभिड अस्पताल व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको बताइन् । 

कान्तिपुर

Link copied successfully