७ अस्पतालमा अक्सिजन प्लान्ट राखिँदै

जेष्ठ १२, २०७८

कान्तिपुर संवाददाता

हेटौंडा — वाग्मती प्रदेश सरकारले मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सात दिनको समय राखेर टेन्डर आह्वान गरेको छ ।

अक्सिजनकै अभावले कोरोना संक्रमितको ज्यान जाने घटना बढेकाले सरकारले छिटोभन्दा छिटो अस्पतालमै प्लान्ट स्थापना गर्न लागेको हो ।

कोभिड महामारीलाई मध्यनजर राख्दै सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमनमार्फत एक साताको समय राखेर सोमबार टेन्डर सार्वजनिक गरेको हो ।

प्रदेश मातहत रहेका काठमाडौंको टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट, रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ । अस्पतालहरूमा एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता पुरुषोत्तम सेढाईंले बताए । 

प्रदेश मातहतमा रहेका १३ मध्ये ६ वटा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन रहेको र बाँकी अस्पतालमा स्थापना गरेर अस्पतालहरूलाई सुविधायुक्त बनाउन लागेको मन्त्रालयले जनाएको छ । कोभिडको दोस्रो लहर बढेसँगै प्रदेश सरकारले ‘एक जिल्ला एक पीसीआर मेसिन’ राख्ने निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाइसकेको प्रवक्ता सेढाईंले बताए ।

कान्तिपुर

Link copied successfully