बागलुङमा सिलिन्डर भर्न दैनिक चारखेप
बागलुङ, म्याग्दी — शुक्रबार राति बागलुङको धवलागिरि अस्पतालमा उपचाररत संक्रमितलाई अक्सिजन दिनुपर्ने भयो । तर अस्पतालमा अक्सिजन नभएको खबर आएपछि बेनी अस्पतालले १० अक्सिजन सिलिन्डर पठायो । समयमै अक्सिजन पाएपछि संक्रमितको स्वास्थ्यमा सुधार आयो ।
कोरोना संक्रमण ह्वात्तै बढ्न थालेपछि जिल्ला अस्पताललाई ‘अक्सिजन बैंक’ का रूपमा विकसित गर्ने र जिल्लाका स्वास्थ्य संस्थाका लागि अक्सिजनको स्रोत अस्पताल बनाउन जुटेको छ ।
‘गम्भीर बिरामीलाई हाई प्रेसरमा अक्सिजन दिँदा ठूलो सिलिन्डरले २/३ घण्टा मात्र पुग्छ । खोजेको बेला अक्सिजन पाइँदैन,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘गाउँपालिकाका कोरोना अस्पतालमा ५/७ भन्दा बढी सिलिन्डर छैनन । त्यसैले अक्सिजन रिफिल गर्न सक्ने प्लान्ट रहेकाले सिलिन्डरको जोहो गरी अक्सिजन स्रोत (बैंक) अस्पतालका रूपमा विकास गर्न खोजेका छौँ ।’
अस्पतालमा अहिले ४ साना, ४ मझौला र ९९ ठूला अक्सिजन सिलिन्डर छन् । यसबाहेक ५ अक्सिजन कन्सन्ट्रेटर पनि छन् । केही सिलिन्डर बाहिरबाट आउने भनिएको छ । अस्पतालका मेसु जितेन्द्र कँडेलका अनुसार उपचाररत कोरोना संक्रमितमध्ये १८ जनालाई अक्सिजन चढाइएको छ । ४ जनालाई हाइप्रेसरमा राखिएको छ ।
अस्पतालले ६२ लाख ४० हजार रुपैयाँमा अक्सिजन प्लान्ट जोडेको हो । अस्पतालको आइसोलेसन वार्डका ५ बेडमा मात्र पाइपबाट सोझै हाईप्रेसर अक्सिजन दिन सकिन्छ । प्लान्टबाट छुट्टै दैनिक १० सिलिन्डर रिफिल गर्न सकिन्छ । ‘अहिले दैनिक ५० सिलिन्डर खपत भइरहेको छ,’ मेसु डा. कँडेलले भने, ‘प्लान्टबाट सबै बेडमा सोझै हाई प्रेसरमा अक्सिजन दिँदा रिफिल क्षमता कम हुन्छ । प्लान्टबाट अक्सिजन रिफिल नथेगेपछि पोखरा पठाएका छौं, ५ दिनभयो, पालो पाएका छैनौं ।’
स्थानीय तहका कोरोना अस्पतालमा अक्सिजन सिलिन्डर पर्याप्त छैनन् । धवलागिरि, अन्नपूर्ण, मालिका, रघुगंगा गाउँपालिकाका दुर्गम बस्तीका संक्रमितलाई स्वास्थ्य संस्था ल्याउनै समस्या छ । बल्लतल्ल गापाका कोरोना अस्पतालमा बिरामी पुर्याए पनि अक्सिजन नपाउने अवस्था झन् विकराल देखिएको छ ।
बागलुङको धवलागिरि अस्पतालबाट अक्सिजन भर्न पोखरा गएका गाडी राति अबेरसम्म आइपुगेनन् । बिरामीलाई लगाएको अक्सिजन सकियो । फेर्ने सिलिन्डर नभएपछि चिकित्सक आत्तिए ।
म्याग्दीको बेनी अस्पताल तत्काल १० अक्सिजन सिलिन्डर सहयोग गरेपछि समस्या टर्यो । बजारका केही उद्योग र मोटर ग्यारेजमा थन्केका सिलिन्डर पनि रातारात झिकाइयो । ‘रातारात नल्याएका भए ३० बिरामीको ज्यान जोखिममा थियो,’ स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले भने, ‘दैनिक चारखेप अक्सिजन ओसार्दा पनि अस्पतालमा सास्ती छ ।’ अस्पतालमा ५० जना अक्सिजन दिनुपर्ने बिरामी छन् ।
प्लान्टबाट २५ बेडमा मात्रै अक्सिजन पुगेको छ । बाँकी २५ बिरामीलाई सिलिन्डरबाट अक्सिजन दिइन्छ । ‘हाइफ्लो अक्सिजन दिनुपरेकाले एकै रातमा दुई पटकसम्म सिलिन्डर फेर्नुपर्छ,’ मेसु डा. शैलेन्द्र पोखरेलले भने, ‘संकलित ८० सिलिन्डर दैनिक चारवटा गाडिमा पालैपालो पोखरा पठाउनु परेको छ ।’ शुक्रबारदेखि पोखरामा लाइन बसेरमात्रै अक्सिजन भर्नुपर्ने बाध्यताले ढिला हुनासाथ बिरामीको ज्यानै जोखिममा परेको उनले बताए ।
