लमजुङ — यहाँस्थित जिल्ला अस्पतालमा यसै साता अक्सिजन प्लान्ट जडानको तयारी गरिएको छ । भारत सरकारले अक्सिजनजन्य सामग्री निर्यातमा प्रतिबन्ध लगाएपछि यो काम समयमै हुन सकेको थिएन ।
अहिले अक्सिजन प्लान्ट सीमा क्षेत्रमा आएको र एक साताभित्र जडान गरिने अस्पतालका प्रशासक हेमन्त श्रेष्ठले बताए ।
उनका अनुसार प्लान्टले दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन गर्नेछ । उत्पादित अक्सिजनलाई पाइपलाइनमार्फत आईसीयू, आइसोलेसन, इमर्जेन्सी, अन्तरंग (वार्ड) र प्रसूति वार्डमा पठाइनेछ । ‘हामीले पाइपलाइनलाई ८२ बेडमा जोडेका छौं,’ उनले भने ।
अक्सिजन प्लान्टका लागि गण्डकी सरकारले गत मंसिरमा ७५ लाख रुपैयाँ पठाएको थियो । चैत पहिलो साताबाट भारतले अक्सिजनजन्य सामग्री निर्यातमा रोक लगाएपछि प्लान्ट ल्याउने जिम्मा पाएको ओटु कन्सर्नको काममा ढिलाइ भयो । उक्त प्रतिबन्ध वैशाख २३ मा फुकुवा भएपछि प्लान्ट ल्याउन सम्भव भएको हो ।
