एउटै मास्क दुई दिन लगाउन बाध्य, हरेक दिन मन्त्रालयसँग माग गरे पनि सुनुवाइ भएन
बागलुङ — धौलागिरि अस्पतालमा पीपीईसहितका स्वास्थ्य सामग्री सकिएपछि स्वास्थ्यकर्मीले दाताको खोजी गरेका छन् । अस्पतालको आफ्नो स्रोत नभएको, नियमित खरिदका लागि बजेट नआएको तर दैनिक दर्जनौं सेट पीपीई चाहिने भएकाले अभाव हुन थालेपछि दाता गुहार्न बाध्य भएका हुन् ।
‘अस्पतालको इमर्जेन्सी वार्डमा पनि कोरोनाका बिरामी छन्, तर स्वास्थ्यकर्मीले पीपीई पाएका छैनन्,’ मेडिकल सुपरिन्टेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले भने, ‘सर्जिकल मास्कसमेत सकिँदै गरेकाले २ दिनसम्म लगाउनुपर्ने बाध्यता छ ।’ अस्पतालमा रहेका २५ बेड भरिएर ३२ संक्रमितको उपचार गरिरहेको उनले बताए ।
त्यसबाहेक इमर्जेन्सी शाखामा ७ जना शंकास्पद बिरामी छन् । उनीहरूको पीसीआर रिपोर्ट नआए पनि सबै लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको पोखरेलले बताए । बेड अभावमा कतिपयलाई पोखरा रेफर गर्नुपर्ने अवस्था छ । बागलुङ नगरपालिकाले बनाएको आइसोलेसनमा ३५ बेड छन् । तीमध्ये आधा भरिएका छन् । उक्त आइसोलेसनमा पनि अस्पतालका चिकित्सकले सेवा दिएका छन् । नगरपालिकाले खटाएका स्वास्थ्यकर्मीबाहेक जटिल समस्या पर्दा अस्पतालबाट डाक्टर पुग्ने गरेका हुन् ।
समयमा चाहेजति नआएपछि अड्कल गरेर प्रयोगमा ल्याएको पोखरेलले बताए । ‘दैनिक २५ वटा पीपीई चाहिन्छ, तर हामीले घटाएर प्रयोगमा ल्याएका छौं,’ पोखरेलले भने, ‘एक सातामा १ सय २० वटासम्मले पुर्याएका छौं ।’ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सामग्री आपूर्ति केन्द्रबाट सामान्य अवस्थाको झैं थोरै मात्र आउने गरेकाले इमर्जेन्सीमा उपचारमा खटिएका डाक्टर र नर्सले अझै पीपीई नपाएको उनले गुनासो गरे ।
अस्पताल व्यवस्थापन समितिले विभिन्न संघसंस्था गुहारेर पीपीई, पन्जा, मास्क र बुट लगायतका सामग्री जुटाउने काम गरिरहेको समितिका अध्यक्ष केबी रानामगरले बताए । ‘डाक्टर, नर्सले आफैं जोखिम मोलेर काम गरिरहेका छन्, उनीहरूलाई भत्ता त दिन सकिएको छैन, सुरक्षित पीपीई दिन पनि सकिएन,’ रानामगरले भने, ‘हरेक दिन मन्त्रालय तहमा माग भइरहेको हुन्छ, उचित सुनुवाइ भएको छैन ।’ अस्पतालले स्टोरमा थन्केका १ सय बेडलाई झिकेर निर्माणाधीन सी ब्लकको भवनमा जडान थालेको छ । जडान भएपछि एकै पटक कम्तीमा ७५ देखि १ सय जनासम्म कोरोनाका संक्रमितलाई उपचार दिने व्यवस्था हुनेछ ।
बेड संख्या बढेपछि दैनिक उपयोग हुने पीपीई र स्वास्थ्य सामग्री खपत समेत बढ्नेछ । ‘सेवा दिन तयार छौं, तर कम्तीमा सुरक्षाको मापदण्ड पालना गर्ने अवस्था त चाहियो,’ आइसोलेसन शाखाकी इन्चार्ज शान्ति खड्काले भनिन्, ‘केही संस्था आएर सामग्री सहयोग गर्दा काम गर्ने हौसला भने बढेको छ ।’ अस्पतालले नियमित डायलसिस, इमर्जेन्सी र प्रसूति सेवासमेत दिएको छ । उक्त सेवामा खटिने स्वास्थ्यकर्मी र चिकित्सकले पीपीई लगाउन पाएका छैनन् ।
‘आइसोलेसनमा नपुग्ला भनेर अन्य शाखामा पीपीई दिन पाएका छैनौं,’ पोखरेलले भने, ‘अन्य शाखामा खटिने स्वास्थ्यकर्मीमा संक्रमण देखियो भने कामसमेत ठप्प हुने खतरा छ ।’ अस्पतालमा एक महिनादेखि मेडिकल अधिकृतसमेत अभाव छ । चैत पहिलो सातासम्म १४ मेडिकल अधिकृत रहेकोमा अहिले ४ मात्रै छन् । मन्त्रालयमा जनशक्ति माग गरे पनि नपाएको पोखरेलले गुनासो गरे ।
अस्पताललाई समस्या परेको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा अन्तर्राष्ट्रिय बागलुङ समाज, ब्रिटिस वेयलफेयर र लायन्स क्लबले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
