लक्षण देखिएका अधिकांशलाई अक्सिजन छैन
रौतहट — चन्द्रपुर नगरपालिका–६ बेतौनाका सुकमान माझीलाई ज्वरो आएको एक साता भयो । उनी मंगलबार चन्द्रपुर अस्पतालमा जँचाउन गए । कोभिडको मिल्दोजुल्दो लक्षण देखिएको भन्दै डाक्टरले पीसीआर परीक्षण गराउन भने ।
पीसीआर गराउन ४२ किलोमिटर टाढा गौर जानुपर्थ्यो । पीसीआर नगराई भर्ना हुन नपाए पछि उनी ज्वरोको दबाइ लिएर घर फर्किए । ‘भर्ना हुन नपाए पछि औषधि किनेर फर्किए,’ उनले भने, ‘अहिले भर्ना हुनै सकस रहेछ । अब भर्ना र उपचार नभएरै बिरामी मर्ने भए ।’
चन्द्रपुर–५ स्थित चन्द्रपुर अस्पतालमा दिनहुँ ज्वरो, टाइफाइड र श्वासप्रश्वासमा असहज भएका बिरामी आउने क्रम बढ्दो छ । तर, उनीहरूलाई भर्ना हुन भने सकस छ । डाक्टरले कोरोनाको लक्षण भएकाले पीसीआर परीक्षण गर्न भनेपछि बिरामीका आफन्तहरू तनावमा परेका हुन् । यहाँबाट पीसीआर गराउन गौर पुग्नुपर्छ । चन्द्रपुर नगरपालिकाले भनेको बेला स्वाब निकाल्ने व्यवस्था गर्न सकेको छैन । नजिकै परीक्षण गराउने व्यवस्था छैन । त्यसैले कतिपय बिरामीहरू पीसीआर गर्न भनेपछि घर गएर बस्न थालेका छन् ।
चन्द्रपुर अस्पतालका डा. सुभाष चौधरीले कोरोनाको जस्तै लक्षण देखिएका बिरामीलाई तत्कालै पीसीआर गर्न भनिरहेको बताए । ‘अधिकांश बिरामी कोभिडसित मिल्दोजुल्दो लक्षण देखिएका छन् । उनीहरूलाई त्यत्तिकै उपचार गर्दा आफू र अन्य बिरामीलाई समस्स्या पर्छ,’ उनले भने, ‘लक्षण देखिएकालाई तत्कालै पीसीआर गर्न पठाउने गरेका छौं । अहिले अक्सिजनको पनि समस्या छ ।’ अस्पतालमा ज्वरो, रुघाखोकी, टाइफाइड र सास फेर्न गाह्रो भएर आएका बिरामीमध्ये दैनिक ५/६ जना संक्रमण पुष्टि भएको पाइएको छ ।
चन्द्रपुर ४ का रमेश संग्रौलाले ७० वर्ष नाघेका बुवालाई सास फेर्न असहज भएपछि नजिकको एपोलो अस्पतालमा भर्ना गराए । उनको अक्सिजनको मात्रा ७० बाट तल झर्ने क्रममा थियो । अस्पतालमा पर्याप्त अक्सिजन नभएको सूचनापछि उनले चन्द्रपुर अस्पतालमा भर्ना गराए । त्यहाँ कोभिडको लक्षण भन्दै पीसीआर जाँच गराउन सुझाव दिए । तत्कालै पीसीआर गर्न समस्या भएपछि बुवालाई सिभिल अस्पतालमा भर्ना गराए । त्यहाँ पनि पीसीआर जाँच गराउन भनियो । त्यतिन्जेल अस्पतालमा अक्सिजनको समस्या भयो । अस्पतालले सानो सिलिन्डरको जोहो गर्दै बिरामीलाई पीसीआर गर्न गौर अस्पताल पठाए ।
चन्द्रपुर नगरपालिकाका अधिकांश निजी अस्पतालमा अक्सिजनको अभाव छ । अहिले दैनिक ज्वरो र श्वासप्रश्वासका बिरामी आउने गरेका छन् । उनीहरूलाई तत्काल अक्सिजन लगाउनुपर्छ । अस्पतालमा एकथान पनि अक्सिजन नभएको सिभिल अस्पतालमा सञ्चालक राजन साहले बताए । ‘खाली सिलिन्डर पनि भर्न पाइएको छैन । भरिएका सिलिन्डरहरू बिरामीलाई प्रयोग गरेर सकियो,’ उनले भने, ‘अब नयाँ सिलिन्डर कहाँ माग्ने । कसलाई भन्न जाने ।’ चन्द्रपुर अस्पतालले जेनतेन गरेर बाहिरबाट अक्सिजन मगाएको डा. चौधरीले सुनाए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अक्सिजनको कारणले जिल्लामा कुनै पनि बिरामीको ज्यान नजाने दाबी गरे । ‘अहिले हामीसित स्वास्थ्यबाहेक अन्य काममा प्रयोग भएका अक्सिजनहरू नियन्त्रणमा लिएर राखेका छौं,’ उनले भने, ‘जिल्लाभित्रका सरकारी अस्पताल, कोभिड अस्पताललाई अक्सिजन कमी हुन दिएका छैनौं । निजी अस्पताल आफैंले जोहो गर्नुपर्छ ।’
