आईसीयू र भेन्टिलेटर अभावमा उपचार नपाएर संक्रमितको मृत्यु
सर्लाही — सर्लाहीमा आईसीयू र भेन्टिलेटरको व्यवस्था नहुँदा एक सातायता जिल्ला अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भयो । मंगलबार कविलासी नगरपालिका–४ की ७० वर्षीया महिलाको ज्यान गएको हो । दमकी बिरामी रहेकी उनलाई सास फेर्न समस्या भएपछि अस्पताल लगिएको थियो ।
स्वास्थ्य निरीक्षक श्रीप्रसाद साहका अनुसार सोमबार बरहथवा नगरपालिकाका एक कोरोना संक्रमित पुरुषको भेन्टिलेटर अभावमा उपचारै नपाएर ज्यान गएको थियो । बरहथवा–११ हिरापुरका ४२ वर्षीय ती पुरुषलाई उच्च ज्वरो र खोकी लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्था खराब हुन थालेपछि अस्पतालले भेन्टिलेटर भएको अस्पतालमा लान सुझाव दिएको थियो । तर आर्थिक स्थिति कमजोर भएकाले आफन्तले लैजान सकेनन् । आईसीयू र भेन्टिलेटरको व्यवस्था नभएका बेलामा अन्तिम अवस्थामा बिरामीलाई अस्पताल ल्याउँदा जोखिम रहेको साहको भनाइ छ ।
चार दिनअघि होम आइसोलेसनमा रहेका बलराका एक संक्रमितको पनि ज्यान गएको थियो । ‘जिल्ला अस्पतालमा कोरोनाका लागि चिकित्सक भए पनि आईसीयू र भेन्टिलेटरको व्यवस्थापन छैन, यस्तोमा बिरामी अन्तिम समयमा अस्पतालमा भर्ना हुन आउने गरेका छन्,’ साहले भने, ‘अन्तिम अवस्थामा हामीलाई बिरामीको ज्यान जोगाउन मुस्किल पर्ने गरेको छ ।’
अस्पतालका मेडिकल सुपरिटेन्ड डा. सञ्जीव सिंहले आईसीयू र भेन्टिलेटरको व्यवस्थापन भए गम्भीर बिरामीलाई जोगाउन सकिने बताए । ‘संक्रमित ती पुरुषको अवस्था खराब हुन थालेपछि भेन्टिलेटर भएको अस्पतालमा लान परिवारलाई आग्रह गरेका थियौं, एम्बुलेन्सको व्यवस्थापन पनि हामीले गरिसकेका थियौं, तर आर्थिक अवस्था कमजोर भएको कारण देखाउँदै परिवारले लान मानेनन्,’ उनले भने, ‘भेन्टिलेटर भएको भए ती संक्रमितलाई यहाँ पनि जोगाउन सकिन्थ्यो ।’
जिल्ला अस्पतालमा ५ बेडको कोरोना अस्पताल निर्माण गरिए पनि यहाँ एक जना पनि संक्रमित अहिले छैनन् । ५ वटै बेड अहिले खाली रहेको अस्पतालले जनाएको छ । जिल्लामा झन्डै ४ सयको हाराहारीमा संक्रमित छन् । ती सबै अहिले होम आइसोलेसनमा बसिरहेका छन् । पालिकाहरूले होम आइसोलेसनमा बसिरहेका सबैको स्वास्थ्य जाँच भइरहेको दाबी गरे पनि संक्रमितहरूले भने सामान्य ज्वरो मापन गर्न पनि कोही नआएको गुनासो गरे ।
बलरा नगरपालिका–६ का एक संक्रमितले कोरोना संक्रमण पुष्टि भएदेखि कोही पनि जाँचका लागि नआएको गुनासो गरे । ‘संक्रमण पुष्टि भएपछि घरमै बस्न भनियो, त्यसपछि कोही पनि जाँचका लागि आएनन्,’ ती संक्रमितले कान्तिपुरसँग फोनमा भने, ‘संक्रमितको मृत्यु घरमै हुन थालेपछि अलि डर लागेको छ, दिन प्रतिदिन मनोबल खस्किँदै छ ।’
बलरा नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक कौशलेन्द्र मिश्रले संक्रमित सबैको हेरचाह र जाँच भइरहेको दाबी गरे । यता गोडैता नगरपालिकामा ३२ जना ज्वरो र रुघाखोकी आएको बिरामीको स्वाब परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका सबै घरमै बसिरहेका छन् । उनीहरूको निगरानी भइरहेको गोडैता नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक प्रमोद पण्डितले बताए ।
सबैको अवस्था सामान्य रहेको बताउँदै गम्भीर भएको खबर पाउनासाथ पालिकाले आईसीयूसहित निर्माण गरेको १५ शय्याको अस्पतालमा ल्याइने योजना रहेको उनको भनाइ छ । उनले भेन्टिलेटर चाहिने बिरामीलाई पनि अस्पताल पठाउने निर्णय पालिकाले गरेको र त्यहीअनुरूप मेडिकल टिम तयारी भएर बसिरहेको जानकारी दिए ।
हरिवन नगरपालिकाले सय बेडको र गोडैता नगरपालिकाले १५ बेडको आईसीयूसहितको आइसोलेसन निर्माण गरेको छ । जसमा चिकित्सकको पनि टोली परिचालन गरिएको छ । अन्य पालिकाले भने कोरोनासँग जुध्न कुनै योजना नै बनाएका छैनन् । पालिकाले ध्यान नदिएपछि जिल्ला समन्वय समितिका संयोजकसहितको डीसीसीएमसीको टोली जिल्लाभरि ठाउँठाउँमा आइसोलेसन निर्माणको तयारीमा जुटेको छ ।
