बागलुङ — कोरोना संक्रमणपछि धौलागिरी अस्पतालमा उपचार गराइरहेका बागलुङ नगरपालिका–३ का एक पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।
तीन दिनदेखि ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । कोरोनासँग मिल्ने लक्षण देखिएपछि ६६ वर्षीय उनलाई कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । मृतकको मुटु र फोक्सोको समस्या समेत भएकोले उपचार जटिल बनेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । धौलागिरी अस्पतालमै मृत्यु भएको यो पहिलो घटना हो ।
यसअघि बागलुङका ४ जना संक्रमितको मृत्यु भइसकेको छ । उनीहरुमध्ये दुई जनाको पोखरामा, एक जनाको काठमाडांै र एक जना उपचार सम्भव नभएर घर फर्काएपछि बुर्तिवाङमा मृत्यु भएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार बागलुङमा अहिलेसम्म ६ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये अहिलेसम्म ५ सय ५६ जना निको भएर घर फर्केका छन् । १ सय २२ जना सक्रिय संक्रमित छन् । अहिलेसम्म जिल्लामा ९ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
