बाढीपहिरोले लमजुङमा दर्जन परिवार विस्थापित

श्रावण ५, २०७७

लमजुङ — भारी वर्षासँगै आएको बाढीपहिरोले लमजुङमा एकदर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । बाढी पहिरोले घरमा क्षति पुर्‍याएपछि उनीहरु विस्थापित भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दूधपोखरी गाउँपालिका २, जल्केनीमा कमल तामाङ र वेदबहादुर तामाङको घरमा पहिरोले क्षति पुर्‍याउँदा उनीहरु विस्थापित भएका छन् । दूधपोखरी ५ बन्देस्वारामा पहिरोले रामबहादुर तामाङ, कालीमाया तामाङ र कामी तामाङको घर पूर्णरुपमा क्षति पुगेको छ । कलबहादुर तामाङको घर जोखिममा परेको छ । ४ जना परिवार विस्थापित भएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

दोर्दी गाउँपालिका-३ काल्चेमा विकास भुजेल र अनिल भुजेलको घरमा पनि बाढीले क्षति पुर्‍याएको छ । उनीहरु छिमेकीको घरमा सरेका छन् । दोर्दी १ भारते लामिस्वारामा कृष्णप्रसाद अधिकारीको घर पहिरोले पुरिएको छ । अन्य १० घर जोखिममा परेको प्रहरीले जनाएको छ । 

राइनास नगरपालिका-६ धमिलिकुवामा जुना चिलुवालको घर डुबानमा परेको छ । सुन्दरबजार नगरपालिका-९ फेदीकुनामा रामप्रसाद लौनियाको घरमा पहिरोले क्षति पुर्‍याएको छ । डीएसपी गंगाबहादुर थापाका अनुसार बाढीपहिरो पीडितहरुलाई सुरक्षित स्थानमा सारिएको छ । दर्जन बढी घर क्षति भएको जानकारीमा आएपनि मानवीय क्षति भने नभएको उनले बताए । 

सुन्दरबजार नगरपालिका-४ पुरानडिहीमा पूर्णबहादुर परियार र उनका छोरा यमबहादुर परियारको घर पहिरोले क्षति पुर्‍याउँदा उनीहरु विस्थापित भएका नेपाल रेडक्रस सोसाइटी दुराडााडा उपशाखा सभापति लक्ष्मीकान्त नेउपानेले बताए । उनका अनुसार करिब १० घर पहिरोको उच्च जोखिममा छन् । 

सडक अवरुद्ध

राइनास नगरपालिका-६ गोफ्लीटारमा पहिरो जाँदा गोरखा-लमजुङ जोड्ने मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । यस्तै, मर्स्याङ्दी गाउँपालिका-४ च्याम्चेमा पहिरो जाँदा बेंसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । सुन्दरबजार नगरपालिका-७ पाउँदीमा सोमबार पहिरो जाँदा बेंसीसहर–डुम्रे सडक पनि अवरुद्ध भएको थियो ।

बाढी-पहिरो

Link copied successfully