म्याग्दी — हावाको बहावसँगै दक्षिणबाट उत्तरतिर आएका सलहको एउटा झुण्ड म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिकामा पनि देखएको छ । सानो संख्यामा सलह मुस्ताङ पनि पुगेको छ ।
सलहको एउटा झुण्ड धौलागिरी हिमालमुनीको अन्तिम बस्ती मुदी बगरामा देखिएको स्थानीयले बताएका छन् । फाट्टफुट्ट सलहहरु धौलागिरी गाउँपालिकाका बस्तीमा देखिएको धौलागिरी गाउँपालिका प्रमुख थमसरा पुनले बताइन् । उनले बालीनाली पुरै ढाक्ने गरी सलह भने नदेखिएको बताइन् ।
उनले सलह भगाउनका लागि धुँवा लगाउने र बालीमा बसे मार्ने अभियान चलाउन समुदायलाई आग्रह गरिएको बताइन् । सलहका स–साना समूह घोडेपानी काटेर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घार, पाउद्वार, दाना हुँदै मुस्ताङको लेतेमा पनि देखिएको स्थानीयले बताएका छन् ।
‘बालीनाली नष्ट गर्ने संख्यामा नदेखिए पनि जिल्लाका प्रायः सबै बस्तीमा थोरैथोरै संख्यामा सलह देखिएको छ,’ जिल्ला प्रकोप व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘थप सलह देखिए समुदाय परिचालन गरी मार्ने र धपाउनुको विकल्प देखेका छैनौं ।’
