लकडाउनअघि महाेत्सवका लागि आएका भारतीय लमजुङमा अलपत्र

वैशाख १६, २०७७

लमजुङ — लमजुङमा लकडाउनअघि सञ्चालित आदिवासी जनजाति लमजुङ सांस्कृतिक महोत्सवमा पिङ र खेलजन्य सामग्री लिएर आएका भारतीय अलपत्र परेका छन् ।

बेंसीसहरको दनाइँफँट महोत्सव सञ्चालनस्थलमा उनीहरु टहरा बनाएर बसेका छन् । नेपालीसमेत बोल्न नसक्ने उनीहरु महोत्सवका बेला बनाएको टहरामै सुतेका छन् । पानी परेको बेला ओछ्यानमै चुहिने उनीहरु बताउँछन् । पिङ र खोलौना सञ्चालनका लागि आएका उनीहरु १० जना छन् । पुरुष ८ र महिला २ छन् । १ पुरुष बुटवलका हुन् । एक नेपाली महिलाले हालै भारतीयसँग विवाह गरेको उनीहरु बताउँछन् । ७ जना लकडाउन हुनुपूर्व भागेको उनीहरुको आरोप छ । फागुन अन्तिममा महोत्सव सकिएपछि पिङ र खेलाैना फुकाल्दै गर्दा लकडाउन घोषणाले घर जान नपाएका उनीहरु अहिले अलपत्र छन् ।

महोत्सवस्थल दनाइाफााटमा उनीहरु ५ वटा टहरामा छन् । केही टिन र त्रिपालमुनी बसेका छन् । टिनले बारेको छाएको टहरामा दिल्ली घर भएका पप्पु पञ्जावी र उनकी पत्निसहित ४ जना बस्छन् । अन्य ४ वटामा ६ जना बस्छन् । उनीहरु सबै युपी (उत्तर प्रदेश) का हुन् । पप्पुले ४/५ हजारमा चाँदी बिक्री गरेको र खाद्यान्नको जोहो गरेको बताए । पसलमा ६ हजार उधारो खाद्यान्न लागेको उनले बताए । उनका अनुसार नगरपालिकाले १ बोरा चामल, दाल, नुन र तेल दिएको थियो । त्यो सकिएको उनले बताए । डेढ महिनायता अलपत्र अवस्थामा रहेको उनले सुनाए ।

युपी (उत्तर प्रदेश) बुलनशयरका रवि तुमारका अनुसार उनीहरुले राहत पाएका छैनन् । महोत्सव आयोजक आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष हरिजंग तामाङले केही सहयोग गरेको उनले बताए । उनका अनुसार पहिले नगरपालिकाले नाम टिपाउन आउँदा आवश्यक नदेखिएकाले पर्दैन भनिएको थियो । ‘लकडाउन लामो होला भन्ने सोंचिएन । बढ्दै गयो । २८/२९ हजारको सामान उधारो ल्याएका छौं । हामीले चामल र तरकारी ल्याउँदै खाएका छौं । साउले तिर्छ या तिर्दैन, थाह छैन ।’

बुटवल घर बताउने चन्द्रकान्त रिजालका अनुसार रेलगाडी, मिक्की माउस, रोटेपिङ, डुंगा, पिङ, बगैंचा, ब्रेकडान्सलगायत सामग्री लिएर भारतीय नेपाल आएका थिए । उनीहरु विभिन्न मेला महोत्सव चहार्दै आएकोमा लमजुङमा आएर रोकिएको उनले बताए । ‘महोत्सव फागुन ३० गते सकियो । केही साथीहरु बीचमै भागेकाले सबै सामान खोल्न ढिला भयो । चैत ११ गतेदेखि लकडाउन भयो । हामी जान पाएनौं,’ उनले भने । उनले एकजना नेपाली र एकजना भारतीय ठेकेदारमार्फत उनीहरु आएका थिए । उनीहरुसँग सम्पर्क भएपनि पैसा पठाउन लकडाउनको बाहनाबाजी गरेको उनले सुनाए ।

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् अध्यक्ष हरिजंग तामाङले ठेकेदारसँग निरन्तर सम्पर्कमा रहेको र उनले भने अनुसार भारतीयलाई खाद्यान्न सहयोग गर्दै आएको बताए । उनले केही पसलबाट उनीहरुलाई चामललगायत खाद्यान्न भनिदिएको बताए । उनीहरुलाई आवश्यक सामग्री किन्न १५/१५ हजार रुपैयाँसमेत सहयोग गरिसकेको उनले बताए । स्थानीय तहबाट राहत सामग्री व्यवस्थापन गरेर दिएको समेत उनले बताए । 

लकडाउन

Link copied successfully