नवलपरासी — रामग्राम नगरपालिकाले सदरमुकाम परासीमा बाँडेको चामल गुणस्तरहीन भएको पाइएपछि छानबिनका लागि समिति बनेको छ। नगरपालिकाले विपन्न परिवारलाई वितरण गरेको राहतस्वरुपको चामल हकुवा (भिजेर रातो भइसकेको) भेटिएको थियो। स्थानीयको गुनासोपछि जिल्ला प्रशासन कार्यालयले समिति बनाएको हो।
अधिकृत सागर गौतमको संयोजकत्वमा बनेको ५ सदस्यीय समितिले अनुसन्धान थालेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए। शनिबार गुणस्तर तथा नापतौल कार्यालय भैरहवाका प्रतिनिधिलाई परासी बोलाएर राहतमा वितरित चामल जाँचका लागि पठाएको उनले बताए। चामल गुणस्तरहीन भएको पुष्टि भए सम्बन्धितलाई कारबाही गर्ने उनले प्रतिबद्धता जनाए।
रामग्राम नगरपालिकाले परासीकै राजेश राइस मिलबाट २ सय ५० क्विन्टल चामल १० लाखमा खरिद गरेको थियो। चामल प्रतिकिलो ४० रुपैयाँमा खरिद गरिएको हो। शुक्रबार रामग्राम नगरपालिका ६ ,३ र ११ का २३ सय घरपरिवारलाई चामल वितरण गरिएको थियो। केही परिवारले लगेको चालम भिजेर रातो भएको पाएपछि मेयर नरेन्द्र गुप्तालाई खबर गरेका थिए।
मेयर गुप्ताले पनि सोना मन्सुली भनेर अर्डर गरिएको चौथो लटको चामलमा केही हकुवा परेको जानकारी आफूले पाएको बताए।
