चारकोसे जंगलमा डढेलो लगाउने क्रम बढ्यो

चैत्र २९, २०७६

विनोद भण्डारी

विराटनगर — लकडाउनको मौका छोपी मोरङको चारकोसे जंगलमा डढेलो लगाउने र वन्यजन्तुको सिकार गर्ने बढेका छन् । लकडाउनको करिब तीन साताको अवधिमा जंगलको ११० हेक्टर क्षेत्रफलमा अज्ञात समूहले डढेलो लगाएको पाइएको छ ।

त्यसैगरी यस अवधिमा जंगलमा वन्यजन्तुको सिकार गर्ने ३ जनालाई दुई थान बन्दुकसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय प्रमुख विशाल घिमिरेले बताए । चारकोसे जंगलमा मृग, हरिण, बँदेल, जरायो, निलगाई र कालिज लगायतका वन्यजन्तु पाइन्छन् ।

लकडाउनको पहिलो साता सुन्दरहरैचाको सलकपुर सामुदायिक वन र लोहन्द्रा सामुदायिक वनमा बँदेल र मृगको अवैध सिकार गर्ने क्रममा दुई पक्षबीच गोली हानाहान भएको थियो । सो क्रममा केराबारी ८ का गन्मरबहादुर योगी, किसान कार्की र झापा धाइजनका किरण धिमाल दुई थान भरुवा बन्दुकसहित पक्राउ परेका थिए ।

चारकोसे जंगलमा चारवटा साझेदारीसहित १३४ वटा सामुदायिक वन छन् । तीमध्ये ३० वटा सामुदायिक र दुई वटा साझेदारी वन समूहको ११० हेक्टरभन्दा बढी क्षेत्रफलमा अज्ञात समूहले लकडाउनको मौका छोपेर डढलो लगाएका छन् ।

वन कार्मचारी, वन रक्षक र सुरक्षाकर्मीको पहलमा डढेलो तत्काल नियन्त्रणमा लिइएको छ । डिभिजन वन प्रमुख घिमिरेले भने जंगलमा सिकार गर्न, दाउरा लिन र घाँस काट्न जानेले आगो लगाएको हुन सक्ने अनुमान गरिए पनि कसैलाई पनि पक्राउ गर्न सकिएको छैन ।

लकडाउनयता हरेक दिन चारकोसे जंगलमा  डढेलो लाग्दै आएको छ । तर अहिलेसम्म तत्कालै नियन्त्रणमा लिन सफल हुँदा कुनै क्षति हुन नपाएको घिमिरेको भनाइ छ । त्यसैगरी लकडाउनको समयमा बेलबारी चिसाङ साझेदारी वनबाट दाउरा झिक्न प्रयोग गरिएका ५० वटा साइकल र केही थान खुकुरी र बन्चरो नियन्त्रणमा लिइएको वनका अध्यक्ष दिनेश गिरीले बताए ।

लकडाउन

विनोद

Link copied successfully