'एकपटक महिलालाई मत दिऊँ भन्ने मतदाताको मनस्थिति छ'

'म यहीँ जन्मिएकी हुँ । काठ समुदायकै छोरी हुँ । यो ठाउँलाई मैले नजिकबाट चिनेकी छु । मलाई सबैले चिन्नुभएको छ । लामो समयसम्म उत्पीडित समुदायको अधिकारको निम्ति सामाजिक आन्दोलनको नेतृत्व गरेकी छु ।'

कार्तिक २९, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दलहरूले प्रत्यक्षतर्फ उम्मेदवारीमा दलित, महिला, अल्पसंख्यक र अपाङ्गता भएकाहरूको उल्लेख्य प्रतिनिधित्व गराएनन् । ठूलो दल नेकपा एमालेले प्रत्यक्षतर्फ सचिव छविलाल विश्वकर्मा मात्रैलाई उम्मेदवार बनायो भने सत्तारुढ नेपाली कांग्रेसले त एक जनालाई पनि उम्मेदवार बनाएन । नेकपा माओवादी केन्द्रबाट भने दलित समुदायका दुई नेता उम्मेदवार छन् । 

चुनावी मैदानमा रहेका नेताहरूका अनुसार प्रत्यक्ष चुनाव लड्न दलित समुदायका नेतालाई दुई चुनौती छन्– एउटा जातकै आधारमा भेदभावजन्य सोच राखेर भोट नदिने डर, र अर्को आर्थिक, सामाजिकरुपमा पछाडि परेको समुदायबाट उम्मेदवार बनेर चुनाव खर्च जोहो गर्न कठिन । नेताहरूकै अनुसार केही फाइदा पनि रहेछन्, जस्तै कि पार्टीको उम्मेदवार भए पनि उत्पीडित समुदायको उम्मेदवारको रुपमा हेरेर सहानुभूतिको मत आउने र इमान्दारीपूर्वक काम गर्छन् भनेर विश्वासको आधार बन्ने । 

सत्तारुढ दलहरूबीच गठबन्धन नभएको काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रबाट स्थायी कमिटी सदस्य अञ्जना विशंखे उम्मेदवार छिन् । उनी प्रमुख दलबाट उम्मेदवार बन्ने एक्ली दलित महिला उम्मेदवार समेत हुन् । ०७४ मा समानुपातिकबाट सांसद बनेकी विशंखे अहिले पटक–पटक चुनाव जितिसकेका पुरुष उम्मेदवारहरूसँग भीड्दैछिन् । 

चुनावी प्रचार प्रसार, योजना र प्रत्यक्ष चुनावको अनुभवबारे उम्मेदवार विशंखेसँग इकान्तिपुरले गरेको कुराकानी :–

चुनावी प्रचार प्रसार कस्तो भइरहेको छ ? 

चुनावी प्रचार प्रसार उत्साहजनक छ । मैले एकदमै धेरै साथ, सहयोग र माया पाइरहेको छु । हामी कहाँ गठबन्धन छैन, मेरो मुख्य प्रतिस्पर्धा नै नेपाली कांग्रेससँग हो । र, जो उम्मेदवार हुनुहुन्छ, उहाँले पटक–पटक यहीबाट चुनाव जितेपनि क्षेत्र र यहाँका मतदातासँग जोडिएर काम गर्न नसकेको अवस्थामा मैले एउटा उम्मेदवारकोरुपमा फरक दल र पार्टीका मतदाताबाट पनि माया पाएकी छु । म यही जन्मिएकी, यो क्षेत्रकी छोरी/चेली हुँ । एउटा इमान्दार, स्वच्छ, कुनै पनिरुपमा स्खलन नभएको नेतृत्व गर्न सक्ने महिलाकोरुपमा फरक पार्टीका मतदाताहरूले पनि मलाई स्वीकार गर्नुभएको छ । 

मतदातासँग घरदैलोमा पुगेर कुराकानी गरिरहनुभएको छ । कस्ता अपेक्षा रहेछन् ? 

हामी साना–साना टुक्रे योजनामा लगानी गरिरहेका हुन्छौँ । तर, मैले मतदातासँग पुग्दा चाँहि समग्र विकास चाहेको पाएँ । टुक्रे योजनामा लगानी गर्ने होइन, व्यक्तिगतरुपमा कसको लागि के गर्ने भन्ने पनि होइन, मतदाताले समग्र मावन जीवनलाई माथि उठाउने खालको विकास खोजिरहेको पाएँ । सबैभन्दा ठूलो अपेक्षा र समस्या राजेगारीको रहेछ । मुख्य कुरा चाँहि स्वरोजगारीका अवसरहरू सिर्जना गर्नुपर्‍यो भन्नुभएको छ । त्योबाहेक यो क्षेत्रको परिचय बन्ने खालको समग्र विकास मतदाताको अपेक्षामा छ ।

यहाँको परम्परागत उत्पादन, संस्कृतिको समयानुकुल विकास र प्रवर्द्धन, त्यसको व्यवसायीकरण मतदाताको माग छ। हामीले प्राकृतिक श्रोतसाधनको उपयोग गरेका छैनौँ । त्यसको समानुपातिक विकास र वितरण हुनुपर्‍यो कुरा उठाउनुभएको छ । हाम्रो क्षेत्रमा पानीको समस्या छ, तर यो क्षेत्र त पानीको पर्याप्त स्रोत भएको ठाउँ पनि हो । तर, त्यसको वितरण हुन नसक्दा एउटा डाँडामा दिनभरि पानी खेर गइरहेको छ, अर्कोतिर पानी खान नपाएर मान्छेले तड्पिनुपरेको छ ।

त्यसकारण यहाँको मतदाताले अहिले नीतिगत रुपमा र व्यवहारिक रुपमा यहाँका समस्याहरूको समाधान गर्ने र राष्ट्रिय राजनीतिको पहुँचमा यो क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेतृत्व खोजिरहेका छन् । हिजोको दिनमा त्यस्तो हुन सकेन भन्ने गुनासो छ । अहिले मैले मतदाताको माझ यी नै कामहरू गर्नका लागि मेरो योजना र प्रतिवद्धताहरू प्रस्तुत गरेकी छु । अर्को मुख्य कुरा भनेको यो क्षेत्र भाषा, कला र संस्कृतिको हिसावले सम्पन्न छ ।

यहाँ नेवाःभाषा मात्रै होइन, किराँतकालीन, लिच्छविकालिन संस्कृति छ । यो क्षेत्र ऐतिहासिक सांस्कृतिक धरोहरयुक्त छ । यहाँ सयौँ जात्रा र संस्कृतिहरू छन् । तर, यसलाई चिनाउन सक्ने नेतृत्वको कमी भएको मतदाताले महसुस गर्नुभएको छ । 

जनताका ती अपेक्षाहरू कसरी सम्बोधन गर्नुहुन्छ त ?

सबैभन्दा मुख्य कुरा त मैले यी समस्याहरूलाई महसुस गरेकी छु। म यी समस्याहरूको समाधान खोज्न सक्छु, यहाँको समस्यालाई मैले संसद्मा पुर्‍याउन सक्छु । मैले गएको पाँच वर्ष यहाँका मतदाताबाट अनुमोदित नहुँदा पनि त्यो काम गरेकी छु ।

मैले संसद्मा के बोलेँ ? कसको लागि बोलेँ ? कसको आवाज बोलेँ ? त्यो सबै मतदातामाझ छर्लङ्ग भएको कुरा छ । अर्को कुरा, यो क्षेत्रमा कस्ता सम्भावनाहरू छन् भनेर पनि मलाई राम्रो ज्ञान छ, ती सम्भावनालाई कार्यान्वयन गर्ने प्रष्ट योजना र खाका पनि छन् । यहाँको सबैभन्दा ठूलो सम्पत्ति भनेको यहाँको विविधता हो । ऐतिहासिक कला, संस्कृति भाषा र जात्राहरू हुन् । एकातिर तिनको प्रवर्द्धन, विकास र संरक्षण आवश्यक छ भने अर्कोतिर तिनको प्रचार प्रसार आवश्यक छ ।

यदि हामीले एउटा त्यस्ता सम्पदाको संरक्षण गर्ने एउटा सांस्कृतिक संग्रहालयमात्रै बनाउने हो भने पनि लोप हुन लागेका सबै कला संस्कृति र सम्पदाको संरक्षण गर्न सक्छौँ । त्यो भोलि आन्तरिक र बाहृय पर्यटकको केन्द्र बन्न सक्छ भने अर्कोतिर त्यो अध्ययन र अनुसन्धान गर्नेहरूको एउटा राम्रो केन्द्र बन्न सक्छ ।

त्यही एउटा संरचनाले यहाँ रोजगारी सिर्जना हुन्छ । यो क्षेत्रको पहिचान बन्न सक्छ । हाम्रो क्षेत्र त स्वर्गको टुक्राजस्तो छ, हामीले यहाँको सम्भावनालाई बोक्न सक्ने नेतृत्व नपाएका हौँ । तर, अब कहिलेसम्म यत्तिकै रहने ? त्यसैले मैले यो क्षेत्रको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनको योजना लिएकी छु । 

यो एउटा कुरा हो, तर यहाँ यस्ता दर्जनौँ सम्भावनाहरू छन् । आज देशको सबैभन्दा ठूलो विश्वविद्यालय हाम्रो क्षेत्रमा छ । राजधानी काठमाडौंको सबैभन्दा नजिकमा यति धेरै प्राकृतिक स्रोत साधनको धनी तीन वटा नगरपालिकाहरू यहाँ छन् । ती स्रोतसाधनको समुचित परिचालन गर्ने हो भने हामीले छोटो समयमै यो क्षेत्रको मुहार फेर्न सक्छौँ । 

यो क्षेत्रमा तपाईंको पार्टीको अध्यक्ष पुष्पकमल दाहाल समेत पराजित भएको क्षेत्र हो, जसले उहाँलाई पराजित गर्नुभयो, उहाँ नै अहिले पनि उम्मेदवार हुनुहुन्छ । यहाँको प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ? 

यहाँ अध्यक्ष कमरेड चुनाव लड्नुभएको हो, तर हारेको मात्रै कुरा नगर्नुस्, यहाँ हामीले जितेको पनि हो । अहिले पनि हाम्रो संगठन बलियो छ । फेरि विगतमा कसले कति पटक जित्यो ? भन्ने कुरा महत्वपूर्ण होइन । जितेपछि उसले के काम गर्‍यो ? र जनतासँग कसरी जोडियो ? कति जोडियो ? भन्ने कुरा मुख्य हो ।

पाँच वर्षअघि छरेका आश्वासनहरू जस्ताको त्यस्तै छन्, अहिले मतदाताले त्यो गुनासो गरिरहेको अवस्था छ । क्षेत्रको विकासमा कुनै कामै हुन सकेको छैन । फेरि मतदाता कुनै पार्टीका पकडका मान्छे पनि होइनन् । सबै मतदाता कार्यकर्ता पनि होइनन् । अहिलेको मतदातामा सुझबुझ छ, आफ्नो क्षेत्रको, समाजको नेतृत्व कस्तो व्यक्तिले गर्न सक्छ भन्ने कुराको राम्रो ज्ञान छ । त्यसैले हिजो कांग्रेसलाई भोट हालेका मान्छेहरूले नै अहिले मलाई भोट दिने हो । 

त्यस्तो भन्ने आधारहरू के हुन् ? 

म यहीँ जन्मिएकी हुँ । यहीको काठ समुदायकी छोरी हुँ । यो ठाउँलाई मैले नजिकबाट चिनेकी छु । मलाई सबैले चिन्नुभएको छ । मैले मेरो पार्टीमा लामो समय काम गरेकी छु, लामो समयसम्म उत्पीडित समुदायको अधिकारको निम्ति सामाजिक आन्दोलनको नेतृत्व गरेकी छु । म यसै हचुवाको भरमा आएकी त होइन नि, लामो समयको अनुभव बटुलेर आएकी छु । त्यो अनुभवलाई, पहुँचलाई अब यहाँको विकासमा लगाउन चाहान्छु ।

मैले व्यापार गरेर, ठेक्का पट्टा गरेर पैसा कमाएर राजनीतिमा आएको पनि होइन, म त राजनीति गरेरै समाज परिवर्तन गर्न सकिन्छ, आर्थिक विकास र संमृद्धि ल्याउन सकिन्छ भनेर लागेको मान्छे हुँ, त्यसैले अहिले मप्रति ठूलो सहानुभूति र स्नेह छ । यो क्षेत्रमा किर्तिपुर, दक्षिणकाली र चन्द्रागिरी नगरपालिका छन् । अहिले दुई जना उम्मेदवार किर्तिपुर नगरपालिकाको चोभारबाट हुनुहुन्छ । म चन्द्रागिरीको छोरी हुँ । त्यसमाथि एकपटक नयाँलाई हेरौँ । महिलालाई हेरौँ । उत्पीडित समुदायबाट नेतृत्व विकास भएको महिलालाई हेरौँ भन्ने मतदाताको मनस्थिति छ । पढेलेखेका, सचेत र स्वतन्त्ररुपमा रहेर सामाजिक परिवर्तनका लागि काम गर्दै आएका युवाहरूको मलाई राम्रो सहयोग र समर्थन छ । 

मैले पनि मतदातालाई मलाई मौका दिनुहोस् भनेर आग्रह गरेकी छु । विगतमा कोही मान्छेलाई पटक–पटक मौका दिनुभयो, तर केही भएन । तर अब मलाई एकपटक मौका दिएर हेर्नुहोस्, मैले गरेरे देखाउँछु, सबैले आश्वासनमात्रै बाँड्ने होइन, काम पनि गर्छन्, इमान्दार पनि हुन्छन् भन्ने कुरा प्रमाणित गर्छू भनिरहेकी छु । 

र, मैले महसुस गरेको के हो भने मतदाताले परिवर्तन चाहेका छन् । यहाँको विकासको नेतृत्व गर्न सक्ने विकल्प खोजेका छन्, अहिलेको लागि त्यो विकल्प अञ्जना विशंखे नै हो भनेर मतदातामाझमै चर्चा पनि भइरहेको छ । 

तपाई प्रमुख राजनीतिक दलका उम्मेदवारमध्ये दलित समुदायकी एक्ली महिला हुनुहुन्छ । प्रत्यक्ष निर्वाचन कति अझ्ठ्यारो हुँदोरहेछ ? 

म दलित समुदायको छोरी हुँ । तर अब म एउटा पार्टीको जिम्मेवार नेता र सबैको साझा उम्मेदवार पनि हुँ । मैले त्यो समुदायबाट यहाँसम्म आउन ठूलो संघर्ष गर्नुपरेको छ, अहिले चुनावमा पनि त्यस्तै संघर्ष छ । अहिलेको चुनाव निकै खर्चिलो छ । तर मैले पैसालाई केन्द्रमा राखेको छैन । फेरि म पैसा खन्याउन सक्ने हैसियतको महिला पनि होइन, मेरो पृष्ठभूमि पनि त्यो होइन । 

म आफैँ अभावहरूसँग जुधेर, विभेद र उत्पीडनकाविरुद्व लडेर समाज परिवर्तनका लागि संघर्ष गरेर यहाँसम्म आएको महिला हुँ । मैले चुनावलाई, मतदाताको विश्वासलाई पैसासँग दाँजेर हेरेको छैन । मैले चुनावी अभियानलाई विचार राख्ने र जनतालाई सचेत बनाउने, समाजका विकृतिहरू हटाउने अभियानकोरुपमा बुझेको छु । मैले त्यसैको प्रतिनिधित्व र नेतृत्व गर्ने हो ।

मतदाताले बुझ्नुपर्ने कुरा के हो भने अहिले जसले अस्वभाविकरुपमा पैसा खर्च गरिरहेको छ, मतदातालाई खर्च गरेको छ, उसले भोलि कमाउने पनि त्यसै गरेर हो, भ्रष्टाचार गरेर हो, विकासको योजनामा आएको पैसा आधा योजनामा, आधा गोजीमा खर्च गरेर कमाउने हो । त्यसैले मतदाताले बेलैमा सुझबुझपूर्ण निर्णय लिनु आवश्यक छ । मेरो क्षेत्रका मतदाता यसमा सक्षम छन् । 

कान्तिपुर

Link copied successfully