लमजुङ — २०७४ को स्थानीय तह चुनावमा कांग्रेस–माओवादी केन्द्र तालमेल भइरहँदा लमजुङमा ‘वाम गठबन्धन’को सुरुवात भयो । एमाले–माओवादी केन्द्र मिलेर चुनाव लडे । प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि पार्टी एकता गर्ने भन्दै एमाले–माओवादी केन्द्रबीच चुनावी तालमेल भयो ।
लमजुङमा प्रतिनिधिसभाका लागि मनाङ घर भएका माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ उम्मेदवार बनाइए । एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभा क्षेत्र रहेको लमजुङमा तत्कालीन प्रदेश ‘१’ बाट एमाले नेता धनञ्जय दवाडी र प्रदेश ‘२’ मा एमाले नेता पृथ्वीसुब्बा गुरुङ उम्मेदवार बने । तिनैजनाले चुनाव जिते ।
एमाले नेता पृथ्वीसुब्बा गुरुङले २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं. २ बाट कांग्रेसका दिलबहादुर घर्तीलाई हराएर विजयी भएका बेला माओवादी केन्द्रका देवप्रसाद गुरुङले मनाङमा कांग्रेसकै पाल्तेन गुरुङलाई हराएर चुनाव जितेका थिए । मुलुकभर एमालेले चुनाव हारेर तेस्रो पार्टीमा खुम्चिँदा लमजुङमा भने पृथ्वीसुब्बा गुरुङले जितेका थिए । भर्खरैमात्र शान्ति प्रक्रियामा आएको माओवादीका नेता प्रायले २ ठाउँबाट चुनाव लड्दा देवप्रसाद गुरुङले कास्की १ बाट पनि चुनाव जिते ।
२०४८ को निर्वाचनमा ‘एक वाम–एक ठाम’ को नारा लिएर पृथ्वीसुब्बा गुरुङ लमजुङ क्षेत्र नं. २ बाट चुनाव लडे । त्यतिबेला एमालेले केशवलाल श्रेष्ठको उम्मेदवारी झिकेर तत्कालीन जनमोर्चाका तर्फबाट क्षेत्र नं. १ बाट देवप्रसाद गुरुङलाई चुनाव लडाए । जित्ने सम्भावना थिएन । दुवै हारे ।
उमेरका हिसाबले पृथ्वीसुब्बा गुरुङ र देवप्रसाद गुरुङ ६४ वर्षका भए । दुवै क्षेत्र भाग लगाएर २०४८ मा चुनाव लडेका यी दुवै नेता अहिले ३ दशकपछि फरक–फरक पार्टीबाट आमनेसामने भएका छन् । २०५२ पछि भूमिगत भएका देवप्रसाद गुरुङ र खुला राजनीतिमा सक्रिय पृथ्वीसुब्बा गुरुङको भेट प्रायः भएन । शान्ति प्रक्रियापछि सरकारमा दुवैजनाले मन्त्री पद पाए ।
२०७० को चुनावमा मोहन वैद्यपक्षमा लागेर देवप्रसाद गुरुङले चुनाव बहिस्कार गरे । संविधान सभामा आदिवासी जनजाति सांसदहरुको समूहको नेतृत्व गरेका पृथ्वीसुब्बा गुरुङ कांग्रेसका चन्द्रबहादुर कुँवरसँग हारे । एमाले–माओवादी केन्द्रको तालमेलमा २०७४ मा पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्री हुने चाहना राखे । देवप्रसाद गुरुङ प्रतिनिधिसभा सदस्यमा चुनाव लडे । पृथ्वीसुब्बा गुरुङ अहिले एमालेको उपमहासचिव छन् । देवप्रसाद गुरुङ माओवादी केन्द्रका महासचिव । दुवैजना चुनावी मैदानमा छन् ।
२०७४ को स्थानीय तह चुनावमा एकसाथ हिँडेका एमाले नेता पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ । फाइल तस्बिर: आश गुरुङ/कान्तिपुर ।
नेकपाभित्रको खटपट भएदेखि देवप्रसाद गुरुङ लमजुङमा बढी सक्रिय छन् । उनी अहिले न मनाङमा सुरक्षित छन्, न कास्की १ मा । एमालेको बलमा २०७४ को चुनाव जितेका उनले गत स्थानीय तह चुनावमा मनाङमै मतदान गरे । लमजुङमा राजनीति गर्ने भन्दै मनाङको नासों गाउँपालिका ४, ओडार घर भएका देवप्रसाद गुरुङले लमजुङको सुन्दरबजार नगरपालिका ८, घोक्रेस्वाँरामा स्थानीयको पुरानो घर र खेतबारी किनेका छन् । उनले गत असारबाट मतदाता नामावली भारती सदन मावि, बलिथुममा सारेका छन् । उनकी श्रीमती यशोदा गुरूङ (सुवेदी) को मतदाता नामावली पनि त्यहिँ सारिएको छ । गत स्थानीय तहको निर्वाचनसम्म दुवैको मतदाता नामावली मनाङको नासों गाउँपालिका ४, ओडारको सरस्वती आधारभूत विद्यालयमा थियो ।
गत चुनावमा लमजुङ प्रदेश ‘२’ बाट निर्वाचित पृथ्वीसुब्बा गुरुङले कांग्रेसका कृष्णप्रसाद कोइरालालाई ८ हजार ६६ मतको पराकिलो अन्तरले हराउँदै विजयी बनेर गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए । देवप्रसाद गुरुङले कांग्रेसका दिलबहादुर घर्तीलाई ८ हजार ४ सय १ मतको फराकिलो अन्तरले हराउँदै विजयी बनेका थिए ।
जिल्ला निर्वाचन कार्यालय लमजुङको तथ्यांक अनुसार अहिले मंसिर ४ गतेको निर्वाचनमा भाग लिने मतदाताको संख्या १ लाख ३३ हजार ५ सय ५९ छ ।
अहिले दुवैजना चुनावी अभियानमा आक्रमक ढंगले प्रचारप्रसार गरिरहेका छन् । गण्डकी प्रदेशमा साढे ३ वर्ष मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले आफू फेरि पनि मुख्यमन्त्री बन्ने र प्रतिनिधिसभामा जमीन्द्रमान घलेलाई उम्मेदवार बनाउने सार्वजनिक गरेका थिए । त्यतिबेलासम्म पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न चाहेका थिएनन् ।
पार्टी अध्यक्ष र महासचिवसहितको ‘कोर–फोर’ टीमले यसअघि मुख्यमन्त्री भइसकेकाहरु प्रतिनिधिसभामा चुनाव लड्ने निर्णय गरेपछि उनी प्रतिनिधिसभा उम्मेदवार बने । त्यसअघि लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट जमीन्द्रमान घले उठ्ने चर्चापछि माओवादी केन्द्रका देवप्रसाद गुरुङले आनाकानी गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट आफू चुनाव लड्ने र सहयोग गर्ने आश्वासनपछि गुरुङ अघि बढेका थिए । उनले लमजुङमा राजनीति गर्न चिनियाँ जनताबाट विद्यार्थीका लागि प्राप्त स्टेसनरी, पोसाक, झोलाका साथै स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरेका थिए ।
वामशक्ति एक हुनुपर्ने दुवैको धारणा छ । अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग पास गर्नका लागि सघाए वापत् महासचिव पद साटेको देवप्रसाद गुरुङमाथि आरोप लाग्दै आएको छ । पृथ्वीसुब्बा गुरुङलाई जातीय नारा लगाउँदै आएको आरोप छ । संघीयताका पक्षधर दुवैजना बेला–बेलामा राष्ट्रिय स्वाधीनताका पक्षमा खरो रुपमा उत्रने गर्छन् । दुवैजना समावेशिता, धर्म निरपेक्षता, गणतन्त्रका पक्षधर हुन् ।
केपी शर्मा ओलीले संसद विघट्न गरेपछि पृथ्वीसुब्बा गुरुङले ओलीको बचाउ गर्दै आएका छन् । देवप्रसाद गुरुङ भने संविधानको रक्षा गर्ने भन्दै सडकमा आएका थिए । दुवैका कार्यकर्ता दुवैलाई जिताउनुपर्ने धारणासहित सामाजिक सञ्जालमा प्रचारप्रसार गरिरहेका छन् । दुवैजना आफूले जित्ने दाबी गरिरहेका छन् ।
नेकपा माओवादी केन्द्र लमजुङका कार्यालय सचिव हरिजंग तामाङले देवप्रसाद गुरुङले चुनाव जित्ने मुख्य आधार गठबन्धन भएको बताए । ‘हामी गठबन्धनमा छौं, चुनाव जित्छौं । पार्टीको हेभिवेट नेता, आवश्यक परेमा प्रधानमन्त्री हुने नेता हुनुहुन्छ,’ उनले भने । उनका अनुसार २०७४ को चुनावमा विजयी भएकाले पनि देवप्रसाद गुरुङ पुनः विजयी हुने उनले दाबी गरे ।
‘विजयी भएपछि उहाँ ५ वर्ष लमजुङको विकासमा लाग्नुभयो । जनतासँग प्रत्यक्ष संवादमा रहनुभयो । उहाँ सरल र अनुशासित नेता हुनुहुन्छ,’ उनले भने । देशभक्त, स्वाभिमानी, संविधानका रक्षक र समाजवाद निर्माण गर्ने योद्दा भएकाले देवप्रसाद गुरुङले चुनाव जित्नैपर्ने उनको भनाइ छ ।
नेकपा एमाले सचिव सुभाष पौडेलले एमालेको संगठन टोलटोलसम्म रहेको र संगठन बलियो भएकाले एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले चुनाव जित्ने दाबी गरे । ‘गठबन्धन पवित्र छैन । सत्ता स्वार्थका लागि गरेको गठबन्धन, परमादेशले बनाइदिएको गठबन्धन जनताले चिन्दैन । जनताले जनताका नेता चिन्छन्, पृथ्वीसुब्बा चिन्छन्,’ उनले भने । उनका अनुसार पृथ्वीसुब्बा गुरुङ जनतासँग भिजेका, सुखदुःखका सारथी र लमजुङको विकासमा योगदान गर्ने नेता हुन् ।
‘उस्तै परे पृथ्वीसुब्बा सरकारको नेतृत्व गर्ने हेभिवेट नेता हुनुहुन्छ । सत्ता गठबन्धनको टेकोमा उभिएका उम्मेदवार कमजोर छन् । कार्यकर्ताले चिन्दैनन्, जनताले चिन्दैनन्,’ उनले भने, ‘पृथ्वीसुब्बालाई यहाँको माटोले चिन्छ । भूगोलले चिन्छ, अरुलाई चिन्दैन ।’ पृथ्वीसुब्बाले गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दा उज्यालो प्रदेश, एक घर एक धारा, स्थानीय तह केन्द्रसम्म कालोपत्रे सडकको सुरुवात र कार्यान्वयन गरेकाले प्रतिनिधिसभामा जनताले पृथ्वीसुब्बा गुरुङलाई जिताउने उनले दाबी गरे ।
‘राष्ट्रवादी नेता, राष्ट्रवादी पार्टी, नेपालको पूर्ण (चुच्चे) नक्सा निर्माण, एक पालिका एक अस्पताल, भारतीय नाकाबन्दी खोल्ने नेता र पार्टी, बृद्धभत्ता सुरुवात गर्ने पार्टी, सामाजिक सुरक्षाभत्ता सुरुवात गर्ने पार्टी जनताको पार्टी हो,’ उनले भने, ‘जनताको नेता र जनताको पार्टीले नजितेर सुख छैन ।’ स्थानीय चुनावमा गठबन्धनको भन्दा ५ हजार बढी मत एमालेको रहेकाले आफ्ना उम्मेदवार पृथ्वीसुब्बा गुरुङले जित्ने उनले दाबी गरे ।
दुवैजना गुरुङ र दुवैजना यसअघिको निर्वाचनमा एकअर्कोले सघाउँदै निर्वाचन लडेको र अहिले दुवै एकै पदमा लडेकाले पनि प्रतिस्पर्धालाई चासोको रुपमा हेरिएको छ । दुवैजनाले व्यक्तिगत इच्छा, आकांक्षाले मात्र नभएर पार्टीले उठाएपछि उठ्नैपर्ने बताउँदै आएका छन् । संविधानको रक्षाका लागि सडक हुँदै सत्तामा आएको र संविधानकै रक्षाका लागि घटनाक्रमले लोकतान्त्रिक–वाम गठबन्धन आवश्यक रहेको देवप्रसाद गुरुङले बताएका छन् ।
पृथ्वीसुब्बा गुरुङले भने अदालतको परमादेशबाट बनेको र सत्ताकै लागि बनेको गठबन्धनले जनताको हुर्मत लिने काम गरेको भन्दै जनताले ‘अपवित्र’ गठबन्धनको ठेगान लगाउनुपर्ने बताएका छन् ।
देवप्रसाद गुरुङ पहिलो संविधान सभा सदस्य र यसअघिको निर्वाचनबाट प्रतिनिधिसभा सदस्य भइसकेका छन् । पृथ्वीसुब्बा गुरुङ पहिलो संविधान सभा सदस्य र यसअघि प्रदेश ‘२’ बाट निर्वाचित भएर गण्डकी प्रदेशको मुख्यमन्त्री भइसकेका छन् । संसदीय राजनीतिमा पृथ्वीसुब्बा गुरुङ सातौंपटक चुनाव लड्दैछन् । २ पटकमात्रै जितेका छन् । देवप्रसाद गुरुङले चौथोपटक चुनाव लड्दैछन् । उनले पनि २ पटक जितेका छन् ।
लमजुङमा ८ वटा स्थानीय तह छन् । एमालेले ४ वटा स्थानीय तहको प्रमुखअध्यक्ष र ५ वटा उपप्रमुख उपाध्यक्ष जितेको छ । गठबन्धनका तर्फबाट कांग्रेसले ४ प्रमुखअध्यक्ष र एक उपाध्यक्ष साथै माओवादी केन्द्रले २ उपप्रमुखउपाध्यक्ष जितेको छ । पालिका प्रमुख अध्यक्षमा एमालेले ४२ हजार ७ सय २१ मत ल्याएको थियो । गठबन्धनले ४१ हजार ६३ मत ल्याएको थियो । गठबन्धनभन्दा एमालेले १ हजार ६ सय ५८ मत बढी ल्याएको छ । उपप्रमुख र उपाध्यक्षतर्फ एमालेले ३९ हजार ८१ मत ल्याएको थियो । गठबन्धनले ३१ हजार ३ सय ७७ मत ल्याएको छ । यसमा गठबन्धनले भन्दा एमालेले ७ हजार ७ सय ४ मत बढी ल्याएको थियो ।
