कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेलिकोप्टर प्रयोगको विषयमा संवेदनशील हुनुपर्ने देखियो : थपलिया

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन् । आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहीता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले हेलिकोप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका हुन् ।

हेलिकोप्टर प्रयोगको विषयमा संवेदनशील हुनुपर्ने देखियो : थपलिया

उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीको लागि अग्रसर रहेको बताए । उनले निर्वाचन आचारसंहितामा ७२ घण्टा हेलिकोप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउामा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताए ।

‘गृहको सन्दर्भमा हेलिकोप्टरको प्रयोगको विषयमा अलिकति संवेदनशील हुनुपर्ने देखियो । अरु कामका लागि हेलिकोप्टर प्रयोग नगर, सुत्केरी लिन जानुपर्ने होला, बिरामी बनाउनुपर्ने होला, ल्याउनुपर्ने होला, राज्यको कामसँग रिलेटेट कामहरु होला । तर हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुई वटा इस्यु आए,' उनले भने, 'हिजो पनि आयो, संखुवासभाको केस पनि मनाङको केस पनि । यो त गम्भीर हो । यसमा हामी भोलि एक्सनमा जानुपर्छ । एक्सनमा जाँदा फेरि कतै सिडिओ, त्यहाँको एसपी साबतिर तेर्सिने हो कि ? डिएसपी साबतिर तेर्सिने हो कि ? हेर्ने काम त उहाँहरुको हो । त्यसैले यसलाई कस्तोमा पाउने, कस्तोमा नपाउने ? ७२ घण्टासम्म उडाउन पाउने भनेर लेखिदिएको हुन्छ, संखुवासभामा घण्टा हेरेर बसेछ, ७२ घण्टामा १० ठाउँ हेलिकप्टर लिएर गयो । त्यसको ठूलो उजुरी आइरहेको छ । यस्ता कुरामा गम्भीर बनिदिनुहोस् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहीता उल्लंघन कम रहेपनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहीता बढेको बताए । उनले सामाजिक सञ्जालबाट आचारसंहीता उल्लंघन गर्नेहरुलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेनशील बन्न सबैको ध्यानाकर्षण गराए ।

प्रकाशित : कार्तिक २७, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?